शर्माको मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश



 

काठमाडौँ, (नेस)
सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा विरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ।

न्यायाधीश चोलेन्द्रशमशेर जवरा र प्रकाश राउतको संयुक्त इजलासले बुधबार शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतमा प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो।

प्रवक्ता उपाध्यायले शर्माको मुद्दामा गम्भीर कानुनी जटिलता देखापरेको हुनाले सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको बताउनुभयो। शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत असार २७ गते गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ। शर्मा विरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य–सचिवसमेत रहनुभएका शर्मामाथि रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्