नटुंगिएको हाम्रो दौड



 

 

पेशल आचार्य
सबै दौडेका छन्। सधैँ दौडेका छन्। घरबाट, गाउँबाट, शहरबाट, देशबाट र विश्वबाटै क्रमिक दौड शुरु भएको छ। दौडिनेहरूका लाइन यस बखत मेरो देशमा क्याराभानजस्तै लाग्दछ। कमिलाका ताँतीजस्तै भएर दौडिनेहरू अहिले आ–आफ्ना दौडमा सामेल भएका छन्। कसैलाई दौडको कासन पुर्याउनु छ। कसैलाई दौडको मेसो मिलाउनु छ। लुट्नु छु। लिनु छ। छोप्नु छ। सोहोर्नु छ। जम्मा पार्नु छ। हाँप र झाँप गर्दै मेरो–मेरो भन्नु छ। स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै आफ्नो भनाउनु छ। आफ्नामा समाहित गर्नु छ। यो छ। त्यो छ। सबै छ। जसरी भए पनि आफ्ना कित्तामा ल्याउनु छ। अर्काको बिगार्नु छ। धेरैजसो यसैका खातिर दौडेका छन्। दौडाएका छन्।

विपक्षलाई लतार्नु छ। आफ्नो सपार्नु छ। आग्रह, विग्रह, पूर्वाग्रह र दूराग्रह गर्नु छ। वाद, विवाद, संवाद र परिसंवादको नाटकमा सूत्रधार बन्नु छ। बदल्नु छ। आफू सगरमाथा उक्लिनु छ। परायालाई केचनाकलन पुर्याउनु छ। आफू मञ्चासीन भएर झिल्के खादा र घाँटीसम्म मालामा बेरिएर मुसुस्क हाँस्दै आइफोनबाट सेल्फी खिची फेसबुके भित्तामा टाँस्नु छ। आफूलाई कथित ठूलो देखाएर अरूलाई सहभागी मात्र बनाई ठाँट्टिनु छ। राम्रिनु छ। पचास सय किलोका सयपत्री र गोदावरीका मालालाई क्षणपलका लागि भए पनि गला र शरीरमा देखाएर समाचारपत्रका हेडिङमा उदाउने रहर छ। भलै अस्तचाहिँ कुन्नि कसरी हुने हुन् ? त्यो अहिले पत्तोफाँट छैन।

आफूभन्दा कनिष्ठले अघिल्लोपल्टै क्याबिनेट मन्त्री पड्काएर कुस्त कमाइसक्यो। स्वास्नी र छोराछोरीका लागि बेजो मिलाइसक्यो। गाडी, बङ्गला, फार्महाउस र शेयर किनिसक्यो। देखासिकीकै लागि भए पनि दौडिनुपरेको छ। त्यसैले नेता दौडेको छ। ‘गन्तव्य’ कहाँ भनेर कसैले सोध्यो भने के भन्ने, त्यो पनि नेतालाई थाहा छैन।

सबैलाई हतार छ। जतासुकै मान्छेकै घचारो छ। उही चटारो छ। स–साना नानीहरू घाँटीमा टाई लगाएर स्कुल दौडेका छन्। कर्मचारीहरू ड्रेसमा दौडेका छन्। गृहिणीहरू झोला र खरिद सामग्रीका लिस्ट बोकेर दौडेका छन्। रोजगारहरू आफ्नै तालले र बेरोजगारहरू निरोद्देश्य बेतालले दौडेका छन्। कसैको दौडको अन्त्य छैन। गन्तव्य देखिँदैन।

पैतालाहरू दौडेका छन्। धेरैजसो फुटेका पैतालाहरूचाहिँ गाउँमा खाली खुट्टै दौडेका छन्। धूलो माटामा दौडेका छन्। गाउँमा पिच बाटाहरू कम छन्। झोलुङ्गे पुल कम छन्। फड्केहरू तर्दै दौडेका छन्। वनपाखा र गोरेटोमा दौडेका छन्। खेतीपातीमा दौडेका छन्। हाटबजारमा दौडेका छन्। सबैभन्दा शोषित खाली खुट्टेहरू भएका छन्। जुत्ताले खुट्टालाई शोषण र सुकिलामुकिलाले मैलाधैलामाथि हिंसा गरेको छ। अधिकारका लागि ती चुप छन्।

पञ्चायतका खालिखुट्टे बहुदलमा शहर पसे। जुत्ता लगाउने भए। बहुदलको खाली खुट्टे गणतन्त्रमा विदेशी पाउपोस लगाउने भए। शासनमा गए। अहिले जुत्ताहरूको शासन छ। देशी जुत्ताहरूको शासनमा देशी सेन्टकै चर्को हरक आएको छ। जुत्ताहरूले लोली, बोली र गोलीले खालि खुट्टाहरूलाई शासन गरेका छन्। शासन के भनौं, झुक्याउने खेल खेलेका छन्। आधुनिक युगको शासन  व्यवस्थापन हुनुपर्ने हो। विश्वभर जहीँतहीँ त्यही भैरहेछ। हामीकहाँ मात्र शासनका नाममा अनेक भारदारी खेल र जालझेल भैरहेछ। यही जालझेलमा शासन निरन्तर फेल भैरहेछ। शहरमा पैतालाहरू पेटीबाट दौडेका छन्। साइकलमा दौडेकाहरू महँगीको विरोध गर्दै दौडेका छन्। बाइकमा दौडेकाहरू जतासुकै लाइन बस्ने झन्झटीय कामलाई गाली गर्दै दौडेका छन्। मोटरमा दौडेकाहरू सडकमा भएको जामलाई सत्तोसराप गर्दै दौडेका छन्। सरकारी गाडीमा हुँइकिनेहरू विभाग, मन्त्रालय र सिँहदरबार छिर्न र आफ्ना लागि निर्णय गराउन दौडेका छन्। भत्ता र सुविधा बढाउन दौडेका छन्। अझ देशलाई अघि बढाउन दौडेको डिङ हाँक्दै दौडेका छन्। नित्य अनित्य दौडेका छन्। सास रोकेर दौडेका छन्।

नेता दौडेको छ। यो पटकको मन्त्रिमण्डलमा मन्त्री हुन पाइहालिन्छ कि भन्ने आश छ उसलाई। धेरैचोटि प्रयास गर्यो तर सकेन। दौडधुप गर्दागर्दै पनि गुटमा नपर्नुको बेफाइदालाई गाली गर्दै छ अझै। आफूभन्दा कनिष्ठले अघिल्लोपल्टै क्याबिनेट मन्त्री पड्काएर कुस्त कमाइसक्यो। स्वास्नी र छोराछोरीका लागि बेजो मिलाइसक्यो। गाडी, बङ्गला, फार्महाउस र शेयर किनिसक्यो। देखासिकीकै लागि भए पनि दौडिनुपरेको छ। त्यसैले नेता दौडेको छ। ‘गन्तव्य’ कहाँ भनेर कसैले सोध्यो भने के भन्ने, त्यो पनि नेतालाई थाहा छैन। केही गन्तव्य नभईकन पनि दौडिन पाउने सुविधा शायद संसारमा हाम्रो देशमा मात्र होला। धन्य देश ⁄  क्या अचम्म हामीसँग दौडेका मलेसिया, कोरिया र थाइल्यान्डहरू गन्तव्यमा पुगिसके। सिङ्गापुर एसियाकै उदाहरणीय देश बन्यो।

खाडीका देशले दौडेरै तरक्की हासिल गरे। युरोप, अमेरिका, ओसेनिया र चीन महाशक्ति राष्ट्र बन्ने स्थितिमा पुगिसके। हामी भने दौडिनका लागि मात्र दौडेका रहेछौं। हाय हाम्रो दौडको सोच ⁄ हाय हाम्रो दौडको नियति ⁄नेताका सिको गर्दै कार्यकर्ता दौडेका छन्। पच्चीस सयको संख्यामा केन्द्रीय कमिटी हुँदा पनि परिएन भन्ने मनोसन्तापमा पिरोलिएरै पनि दौडेका छन्। कोही केन्द्रीय भेला गराउन दौडेका छन्। कोही केन्द्रीय भेला टार्न या पछि सार्न दौडेका छन्। चिप्लो घस्दै समर्थक दौडेका छन्। दन्तबझान गर्दै विरोधी पनि दौडेका छन्। आफ्नो घेरा, समूह, पार्टी र नेताभन्दा संसारमा अरू कोही पनि छैनन् भन्ने लाग्छ –भाट पिछलग्गुहरूलाई। ठूला र ठालुको प्रशस्तीमा झुल्केघामदेखि झमक्क ठूलो साँझसम्म ढाड दुख्ने गरी दौडनु यिनीहरूको नियत र नियति दुवै भएको छ। नेताले झार्लान् र खान पाऊँला भनेरै दौडेका छन्।

कोही प्रतिपक्ष भई राँक्किएर दौडेका छन्। दौडिँदै भन्दै छन्– ‘दाहाल मात्र थिए, अब त ‘दलाल’ देखिए। ‘सत्र हजार’ मान्छे मार्नेले जाबो सत्र जनालाई देशमा रोजगारी दिन नयाँ केही सोच्न सकेनन्। नयाँ विचारको ‘खल्पी’ लाई बिनासित्तीमै बइल्याए। आफैँ मात्र किर्ना भए। जनतालाई उडुस बनाए। यिनीहरूका दौड आफ्ना जनताका लागि होइन रहेछ। परायाका लागि रहेछ।’ कोही सत्तापक्ष भएरै झ्वाँक्किएर दौडेका छन्। तिनीहरू पनि भन्दै छन्– ‘लाल छु भन्थ्यो। अब पाताल भयो। त्यसले सबै छोड्यो। जनवादी केन्द्रीयता छोड्यो। ‘जबज’ लाई पान बनाई थुक्यो। न दायाँ, न बायाँको भयो। लिङ्ग छैन त्यसको।

उभयलिङ्गी। राजनीतिमा त विचारको पहिचान चाहिन्छ। पहिचानलाई नै ‘सिन्डिकेट’मा लगेर बेच्यो। जनतालाई दुःख दिएर राष्ट्रियताको ‘नयाँ ज्याकेट’ लगायो। राजनीतिको बेपार र बेपारको राजनीतिले त्यो ढल्यो। फतक्क गल्यो। कुकरको सागझैँ।’
जनता दौडेका छन्। भन्दै छन्– ‘उत्तरत्तिर बाटो बनाउँदा पर्यावरण बिग्रन्छ भन्नेहरू नै आफ्नो स्वास्थ्य बनाउन अहिले ‘फास्ट ट्रयाक’ को वकालत गर्दै छन्।’ ‘दहाल र देउवा मिले’ भनी असन्तोष व्यक्त गर्दै छन्। जनता ‘आफ्ना सन्तानलाई समयसापेक्ष स्तरीय शिक्षा र निःशुल्क स्वास्थ्य सेवा चाहिएको छ’ भन्दै छन्। अझ भन्दै छन्– ‘सन्ततीलाई उनीहरूकै खुट्टामा उभ्याउने गतिलो पहिचान चाहिएको छ। नाम र दाम चाहिएको छ। स्वेदश र विदेश चाहिएको छ।’

पछिल्ला पङ्तिमा रहेर दौडने जनताले दौडँदै नयाँ वर्ष, तीज–पञ्चमी, दशैँतिहार, छठ, इद, क्रिसमस, इस्टर पर्व र उधौँलीउभौँली पनि मनाउनै पर्छ। दशतिरबाट घोक्रेठ्याक लगाइएर लाइनमा बस्नै पर्छ। किनकि लाइन लाग्नु भनेकै तिनीहरूका लागि ‘गणतन्त्र’ हो। लाइन नबसी संविधान कार्यान्वयन हुनै सक्दैन। संविधान कार्यान्वयन नभई तिनीहरूका गोरखधन्दा र चुल्हामा आगोसमेत बल्दैन। यसरी दौडनुको विकल्प मात्र दौडनु हो। त्यसैले जनताहरू दौडेका हुन्।

घडी हेरेर दौडेकाहरू धपेडीमा देखिन्छन्। मोबाइल हेरेर दौडेकाहरूसमेत टेन्सनमा भेटिन्छन्। पुराना पुस्ता स्वाँ–स्वाँ गर्दै दौडेका छन्। मझ्यौला पुस्ता पनि हस्याङ–फस्याङ गर्दै दौडेका छन्। नयाँ पुस्ता सास न बास भएर इन्टरनेट र फेसबुकमा बढी दौडेका छन्। कसैलाई लाइकको हतारो, कसैलाई कमेन्टको चटारो अनि कसैलाई शेयर गर्ने धुवाँदार हतारैहतारो।

गन्तव्य आँकेर दौडेका छन्। टुङ्गो भाकेर पनि दौडेका छन्। स्कुल, क्याम्पस, अस्पताल, विश्व विद्यालय, फिटनेस सेन्टर, अदालत, पुलिस, सुपर मार्केट, सिनेमा हल, डेटिङ स्पट, डान्स रेस्टुरेन्ट, रङ्गशाला र शेयर मार्केट जान दौडेका छन्। एक्लाएक्लै दौडेका छन्। समूहमा दौडेका छन्। समय लिएर दौडेका छन्। समय भड्काएरै दौडेका छन्। आफ्ना लागि दौडेका छन्। अरूका लागि दौडेका छन्, दौडेका छन्। कसका लागि हो, थाहा छैन तर पनि दौडेका छन्। सबै–सबै दौडेका छन्। लाग्छ– ‘ट्रेडमिल’मा दौडेका छन्। ट्रेड मिलमा जतिसुकै दौडिए पनि आखिर शरीर मात्रै थाक्छ। गन्तव्य जहाँको त्यहीँ हुन्छ। देश सात, सत्र, छत्तीस, छयालीस, बयसठ्ठी र बहत्तर सालमा पनि बेत्तोडले दौडियो। आखिर उही ट्रेडमिलमा दौडेको पो रहेछ।

राजावाद, माक्र्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, बीपीवाद, मदनवाद तराईवाद, हुँदा–हुँदा अब त लम्पसारवाद। गन्तव्य घुमिफिरी रुम्जाटार। हामी २००७ सालबाट २०७२ सालमा आइपुग्दा पनि फेरि उही २००७ सालमै पुगेका छौं। कठै ⁄ हाम्रो नियति नै दौडिनुमा छ, लक्ष्य चुम्नुमा छैन। दौड भनेको त लक्ष्यसहित हुन्छ। लक्ष्यरहित दौड के दौड ? तेर्सो दौडेका विश्वका कैयौँ देशहरू धेरै अघि पुगे। हामी वृत्तमा दौडिँदा रहेछौं। कहीँ नपुग्ने हाम्रो दौड लक्ष्यविहीन छ। अचम्म ⁄ हामीलाई कहीँ पुग्नु छैन, तैपनि दौडेका छौं। आखिर के छ त यी तमाम मनुवाहरूको दौडको भित्री मनसुवा ? म भने किनारमा उभिएर जिज्ञासा गर्दै छक्क परेर सोचमग्न छु। म दौडिऊँ कि नदौडिऊँ ? जीवन चलाउन त दौडिनै पर्छ। नदौडिए मेरो पनि मुखमा माड लाग्दैन।

प्रतिक्रिया दिनुहोस्