शैलेन्द्रलाई उत्तराधिकारीको चिन्ता



 

जब उनी एक बोतल पानीका साथ देश–विदेशका मञ्चमा झुल्किन्छन्, स्वतःस्फूर्तरूपमा दर्शकदीर्घा रमाउन थाल्दछन्। उनले मञ्चमा उभिएर कविता वाचन गर्न थालेपछि त झन् दर्शक घरी हास्छन्, घरी गम्भीर हुन्छन्, तालीको फोहोरा छुट्न थाल्छ। उनी भने जोसिएर धाराप्रवाहरूपमा कविता भटइएर दर्शकलाई उत्साहित गरिरहन्छन्। कलाकारबाट विस्तारै हास्यव्यंग्य कविकारूपमा परिचय स्थापित गरेका शैलेन्द्र सिंखडाको कुरा हो यो।

धादिङबाट करियरको मीठो सपना बोकेर काठमाडौं हानिएका एक युवालाई भाग्य र परिश्रम दुवैले साथ दियो र आज ऊ सफल हास्यव्यंग्यकारको रूपमा स्थापित छ। २०३७ सालमा नाट्य क्षेत्र हुँदै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरेका नाटकका विद्यार्थी शैलेन्द्र शिंखडा यतिखेर नेपाली हास्यव्यंग्य क्षेत्रमा मात्र नभई हास्यव्यंग्य कविकारूपमा देशदेखि विदेशसम्म छाइरहेको छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा नाटक निर्देशकका रूपमा जागिरे भई हालैमात्र त्यहाँबाट अवकाशप्राप्त शिंखडालाई आफ्नो कला देखाउने दरिलो ठाउँ पनि त्यही मञ्च बन्यो। शुरुआती समयमा उज्वल भण्डारीसँग मिलेर प्रहसन देखाएका शिंखडाले राजाराम पौडेल, रतन सुवेदी, तैयव शाह, सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीको संगत् पनि गर्न पाए।

२०६१ सालमा कविता संग्रह प्रकाशन गरेका शिंखडाले २०६५ सालमा कालो अक्षता नामको हास्यव्यंग्य विधाको पुस्तक प्रकाशनमा ल्याए। यतिखेर उनी शीर्षक जुरिसकेको शिंखडाको सिँगौरी र अर्काे शीर्षक जुरिनसकेको पुस्तक प्रकाशनमा ल्याउने तयारीमा छन्। योसँगै भाद्र महिनाबाट सुटिङ शुरु हुने फिल्म माछा माछा भ्यागुतोको स्क्रिप्ट लेखनमा व्यस्त छन्।

‘गायकगायिकाको गीत जति पुरानो भयो, त्यति नै हिट हुन्छ। तर, यो हाम्रो क्षेत्रमा लागू हुँदैन’, हास्यव्यंग्य क्षेत्रको समस्या उल्लेख गर्दै उनले भने– ‘मोबाइलबाट भिडियो लिकेज हुने भएकाले पनि स्वदेशमा गरेको प्रहसन विदेश पुग्दासम्म पुरानो भइसक्छ। यसले गर्दा सधैं नयाँपनमा ध्यान दिनुपर्ने हुन्छ। अर्को कुरा जतिखेर जस्तो परिस्थिति पर्छ, कलाकारले उस्तै प्रस्तुति दिन सक्नुपर्छ।’

हास्यव्यंग्य प्रस्तुतिका क्रममा उनले सम्झने विषय धेरै छन्। ‘त्यसमध्ये पद्मकन्या क्याम्पसमा प्रहसनकै क्रममा मैले आलंकारिकरूपमा त्यो क्याम्पसलाई जनताको ससुराली भन्ने शब्दको प्रयोग गरेको थिएँ। यसले गर्दा ठूलो झमेलामा फसियो। पीके क्याम्पसको ड्रेसको जथाभावी प्रयोग भइरहेकाले त्यसलाई अंकित गर्दै जनताको ससुराली भनेको थिएँ। विद्यार्थीले त्यो कुरा बुझेनन् र हंगामा नै मच्चियो’ उनले नेपाल समाचारपत्रको सहप्रकाशन कामनाले त्यसबारे प्रस्ट पारिदिएको सम्झँदै भने– ‘पछि कामना पत्रिकामार्फत् जनतालाई प्रस्ट पारियो र त्यो समस्या पार लगाइयो।’

उनले भावी योजना पनि शेयर गरे– ‘यसपालिको गाईजात्राको प्रहसन सकेलगत्तै सबैभन्दा पहिला अस्ट्रेलिया अनि अमेरिका र बेलायतको भ्रमण गर्ने योजना छ।’ उनी भन्छन्– ‘हास्यव्यंग्य रबरको गोली र इजार तान्ने तर सुरुवाल नखस्ने खालको हुनुपर्छ। प्रहसनमार्फत् समाजमा भएको विकृतिलाई प्रस्तुत गर्नुपर्छ तर कसैलाई हानी पुग्नुहुँदैन।’

अहिलेका चलेका र रुचाइएका दश कलाकारमा उनी मनोज गजुरेल, दीपकराज गिरी, जितु नेपाल, किरण केसी, शिवहरि पौडेल, केदार घिमिरे, सीताराम कट्टेल, विल्सनविक्रम राई, दमन रूपाखेती र राजा राजेन्द्र पोखरेलको नाम लिन्छन्। उनका अनुसार, यी कलाकारहरु आफैंले लेख्ने र प्रस्तुत गर्ने हुनाले अभिनयमा जीवन्तता आउने र दर्शकले पनि रुचाउने गर्दछन्। महिला हास्य कलाकार चर्चामा नआउनुको कारण खुलाउँदै उनले भने– ‘महिला कलाकारहरु सधैं सहायकको भूमिकामा आए, वसुन्धरा भुसालदेखि दीपाश्रीसम्म आइपुग्दा महिला हाँस्यव्यंग्य कलाकार यसको छायाँमा परे।’

उनलाई चिन्ता पनि छ, हास्यव्यंग्य कविता क्षेत्रको। यस क्षेत्रमा आफ्नो उत्तराधिकारी कोही नहुने हो कि भन्ने डरले पिरोलिरहेको उनी बताउँछन्। कोही त्यस्तै प्रतिभावान् र सक्षम भए आफूले त्यसलाई सफल कलाकार बनाउन सहयोग गर्ने पनि शिंखडाले बताए।

प्रतिक्रिया दिनुहोस्