सरकार–राजपाबीच, छलफल जारी राख्ने सहमति



 

बीपी साह, काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई तेस्रो चरणको निर्वाचनमा सहभागी गराउने सत्तारूढ दलको प्रयास पुनः असफल भएको छ। तर दुवै पक्षले छलफल जारी राख्ने सहमति जनाएका छन्। सरकारले संविधान संशोधनबाहेकका मागहरू तीन दिनभित्र पूरा गर्ने विश्वास दिलाएपछि राजपा नेताहरूले तीन दिन पर्खिने बताएका छन्।

आन्दोलनरत राजपालाई सहमतिमा ल्याउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा ठोस निष्कर्ष आउन सकेन। बुधबार भएको छलफलमा प्रधानमन्त्री देउवा र सत्तारूढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने प्रस्ताव राजपाका नेताहरूसमक्ष राख्नुभएको थियो। सत्तारूढ दलका नेताहरूले संविधान संशोधन पारित नभए पनि परिणाम स्वीकार गर्न राजपालाई आग्रह गरेका थिए।
तर राजपाका नेताहरूले मन्त्रिपरिषद्बाट हुने कामहरू पनि अहिलेसम्म नभएको भन्दै विरोध जनाएका थिए। उनीहरूले मधेस आन्दोलनका मृतकहरूलाई शहीद घोषणा, आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्तासहितका मागहरू पूरा गर्न आग्रह गरेका थिए।

बैठकमा राजपा संयोजक महन्थ ठाकुरले भन्नुभयो– ‘संविधान संशोधनको विषयमा अहिले छलफल नगरौं। मन्त्रिपरिषद्ले गर्नसक्ने कामहरू गरेर विश्वासको वातावरण निर्माण गरौं। त्यसपछि संविधान संशोधनको परिणामका बारे छलफल गरौंला।’

बैठकमा सहभागी राजपाका नेता अनिल झाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वार्तामा कुनै सहमति भएन। सत्ता पक्षले निर्वाचनमा सहभागी हुन आग्रह गर्यो। हामीले आफ्ना मागहरू पूरा नभएसम्म निर्वाचन हुन नदिने अडान दोहोर्यायौं। उहाँहरूले तीन दिनभित्र मन्त्रिपरिषद्बाट हुने कामहरू सम्पन्न गर्नुपर्ने बताउनुभएको छ।’

बैठकमा मुद्दा फिर्ताको सम्बन्धमा माओवादी नेता नारायणकाजी श्रेष्ठले काम अगाडि बढाइएको जानकारी दिनुभएको थियो। उहाँले तीन दिनभित्र संविधान संशोधनबाहेकका मागहरू पूरा हुने बताएपछि प्रधानमन्त्री देउवा र प्रचण्डले पनि विश्वास दिलाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्