तत्काल मन्त्रिमण्डल विस्तार नहुने



 

रामकृष्ण चापागाईं, काठमाडौं
कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठकपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ।

मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको भन्दै चौतर्फी आलोचना खेपिरहनुभएका देउवाले केन्द्रीय समिति बैठक आगामी सोमबार आह्वान गर्नुभएको छ। यद्यपि तत्काल मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्रीलाई चर्को दबाब परेको छ।
मन्त्रिमण्डल विस्तार एकै चरणमा गर्न अन्तिम तयारीमा जुट्नुभएका प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारबारे केन्द्रीय समितिबाट अनुमोदन गराउने तयारीमा रहनुभएको स्रोतको भनाइ छ।

दोस्रो चरणको स्थानीय निर्वाचनलगत्तै संविधान संशोधन गर्ने र सँगै मन्त्रिमण्डल विस्तार गर्ने रणनीतिका साथ अघि बढ्नुभएका प्रधानमन्त्री देउवाले संविधान संशोधनमा तत्काल दुईतिहाइ नपुग्ने देखिपछि मन्त्रिमण्डल विस्तारको तयारी गर्नुभएको थियो। एकै चरणमा सबै मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने तयारी भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टीलगायत अन्य साना दलहरूसँग पनि सरकारमा सहभागीताको बारेमा छलफल भइरहेको छ।

देउवा प्रधानमन्त्री हुँदा कांग्रेस–माओवादीबीच कांग्रेसले १२ र माओवादीले ९ वटा मन्त्रालय लिने सहमति भएको थियो। संविधान संशोधनको पक्षमा मतदान गर्ने गरी राप्रपा सरकारमा सहभागी भए राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिन प्रधानमन्त्री देउवा तयार हुनुभएको थियो। राप्रपा सरकारमा आए कांग्रेसले ११ र माओवादीले ९ मन्त्रालय भागवण्डा गर्ने बताइएको छ।

कांग्रेसबाट एक उपप्रधानसहित तीन मन्त्री भइसकेका छन्। जसमध्य कांग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधान एवं शिक्षा मन्त्रालय सम्हालेका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि हाल श्रेष्ठलाई नै दिइएको छ। ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालय सम्हालेका छन्। कांग्रेस नेता फरमुल्लाह मन्सुरलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ। यी तीनै जना नेता प्रधानमन्त्री देउवा पक्षका हुन्। कांग्रेसभित्र आन्तरिक रूपमा गुटबन्दी भएकाले गुट मिलाउन प्रधानमन्त्री देउवाले रामचन्द्र पौडेल पक्षलाई तीन, महामन्त्री डा. शशांक कोइराला पक्षलाई एक, नेता कृष्णप्रसाद सिटौला पक्षलाई एक र खुमबहादुर खड्का पक्षलाई एक मन्त्रालय दिने आन्तरिक तयारी गर्नुभएको प्रधानमन्त्री निकट स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ।

माओवादी केन्द्रले पनि तीन जना नेतालाई मन्त्रिमण्डलमा सामेल गरिसकेको छ। माओवादी नेता कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र मन्त्रालय सम्हाल्नुभएको छ भने जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्नुभएको छ। माओवादी नेता प्रभु शाहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिएर देउवा नेतृत्वको सरकारमा सहभागी भइसकेका छन्।

मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारीमा रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो पार्टीभित्र पनि भागवण्डा मिलाउनुभएको छ। प्रधानमन्त्रीले वरिष्ठ नेता पौडेल पक्षलाई छुटइएको चारवटा मन्त्रालयमध्ये नेता प्रकाशमान श्रेष्ठ र महामन्त्री डा. शशांक कोइरालले पनि आफ्नो पक्षले एक⁄एक वटा मन्त्रालय पाउनुपर्ने बताएका छन्। प्रधानमन्त्रीले आफ्नो पक्षले पाउने मन्त्रालयको नाम दिएपछि मात्र नाम पठाउने बताइरहेका पौडेल पक्षले आन्तरिक रुपमा मन्त्री बन्नेको नाम छनोट गरिरहेका छन्।

कांग्रेस नेता पौडेल निकट स्रोतले जानकारी दिएअनुसार पौडेल र सिंहको तर्फबाट नेताहरू बलवहादुर केसी, रामकृष्ण यादव, किरण यादव र सरिता प्रसाईं मध्यबाट एक, धनराज गुरुङ र राजन केसी मध्ये एकलाई मन्त्री बनाउने तयारी गरेका छन् भने महामन्त्री कोइरालाको तर्फबाट दीपक खड्का तथा दीपक गिरी मध्ये एकलाई मन्त्री बनाउने तयारी भइरहेको छ। कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्काको पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारी भइरहेको छ। खड्का र बस्नेत दुवै पार्टीभित्र देउवा पक्षका हुन्। देउवा गुटका खड्काको कांग्रेसभित्र छुट्टै उपगुट रहेको छ।

कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई आफ्नो पक्षबाट मन्त्रीमा थुप्रै नेताहरूलाई समेट्न दबाब छ। देउवा पक्षबाट वीरबहादुर बलायर, मीन विश्वकर्मा, अम्बिका बस्नेत, अर्जुन जोशी, अमृत अर्याल, भीष्मराज आम्दम्बे, बहादुरसिंह लामा, सीता गुरुङ, सुजाता परियारलगायतको नाम चर्चामा रहेको छ। केहीलाई फुल मन्त्री र केहीलाई राज्यमन्त्री बनाएर भए पनि सबैलाई समेट्ने तयारी प्रधानमन्त्री देउवाले गर्नुभएको छ। देउवा निकट नेतृ चित्रलेखा यादवले मोख्तार अहमदलाई मन्त्री बनाउन सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ।
मन्त्रिपरिषद् विस्तारको तयारी बारे प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले नेपाल समाचारपत्रसंग कुरा गर्दै भन्नुभयो– प्रधानमन्त्रीले तत्काल मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ। अहिले राप्रपा, राजपा लगायत अन्य साना दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहेकोले मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भएको संयोजक परियारको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्