करणी गरी हत्या गर्ने अभियुक्त पक्राउ



 

लक्ष्मीकुमार साह, महोत्तरी
महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले सीतापुर भंगहाबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपटि गाउँपालिका–१ बस्ने बरुणकुमार यादव, सोही वडा बस्ने जिवरुल राईन कवारी र धनुषाको मैनाथपुर–४ माइती घर भई हाल महोत्तरीको सीतापुर भंगहा गाउँपालिका वडा नम्बर ९ बस्ने अमृतादेवी दास रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका एसपी राजकुमार लम्सालले बताए।

महोत्तरी जिल्लाको साबिक गाविस हरिहरपुर हरिनमरी वडा नम्बर ७ हालको भंगहा सितापुर गाउँपालिका वडा नम्बर ९ पोखरी टोल बस्ने लक्ष्मण दासकी ३५ वर्षीया शिलादेवी दासलाई २०७४ वैशाख १९ गते हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ।

परिवारको आर्थिक अवस्था एकदमै दयनीय भएकाले मृतकका लोग्ने विगत १५ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको र हालसम्म घर नफर्केको स्थानीयहरूको भनाइ रहेको छ।

मृतक दासको परिवारमा १८ वर्षीय छोरा जितकुमार दास, छोरा बुहारी गीतादेवी दास र छोरी १५ वर्षीय जीताकुमारी दास रहेका छन्। गत २०७४ वैशाख १९ गते मंगलबार साँझ मृतक दास खाना खाइ आफ्नै घरमा सुतेकीमा भोलिपल्ट बिहान आफ्नै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
पक्राउ परेकी अमृतादेवी दासको पति ललित दासलाई छारे रोग भएकोले ८ वर्ष पहिला आगो लागी निजको शरीरको अगाडि भाग जलेकाले अमृता निजको घरमा नबसी भीमगढ गाउँमा बस्दै गर्दा अमृता र वरुण यादवबीच करिब २ वर्ष पहिलादेखि शारीरिक सम्बन्ध भएको र उसको माईतीमासमेत आउनेजाने गरेको तथा बिरामी पर्दा उपचारसमेत गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
यता मृतक दासले उनीहरू दुईबीचको सम्बन्धका बारेमा थाहा भएपछि त्यसरी सम्बन्धमा नराख्न अमृतालाई उनीसंग सम्बन्ध नराख्नु भनी अमृतालाई सम्झाएको र निजले वास्ता नगरेको बताइएको छ। उनीहरूबीचको सम्बन्धका बारेमा अमृताले नै सबैलाई कुरा फैलाएको आरोप लगाउँदै उनलाई मार्ने योजना बनाएका थिए।

योजना बनाएलगत्तै उनीहरूले २०७४ वैशाख १९ गतेको राति ११ बजेको समयमा वरुणले मादक पदार्थ सेवन गरी अमृताको घरमा गई उनलाई उठाइ घरदेखि उतरपूर्व ४०० मिटर टाढा लगी जबरजस्ती करणी गरी हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्