५० राउन्ड गोलीसहित पक्राउ परेका युवकहरू सार्वजनिक



 

नेपाल समाचारपत्र
वीरगन्ज
जिल्ला प्रहरी कार्यालय पर्साले भारी मात्रामा गोलीसहित पक्राउ गरेका दुई युवकलाई बुधबार सार्वजनिक गरेको छ।

पचास राउन्ड बन्दुकको गोलीसहित पक्राउ परेका दुई जनालाई पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा पर्सा गढी गाउँपालिका निवासी ५५ वर्षीय क्षेत्री चौधरी र सोही ठाउँ निवासी २१ वर्षीय रामकिसुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो।

ना४प ९११६ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा पर्साको ग्रामीण क्षेत्र रंगपुर टाँडीबाट मंगलबार चेकजाँचका क्रममा उक्त परिमाणको गोलीसहित उनीहरूलाई पक्राउ गरिएको पनि पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो। पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो। निर्वाचनको समय नजिकिँदै गर्दा भारी मात्रामा गोलीसहित दुई युवक पक्राउ पर्नुलाई रहस्यका रूपमा समेत सुरक्षाकर्मीले हेरेको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस्