फोप्ली पहिरोको एक वर्ष पुग्दा पनि जोखिम उस्तै, त्रासमा स्थानीय



सलिम अन्सारी,प्यूठान ।
गएको वर्ष १० साउनको मध्यरात कहाली लाग्दो रात बनेर आयो । जसले सारा प्यूठानबासीहरुलाई कहिले निको नहुने चोट दिएर गयो । त्यो साउने झरीले धेरैको घर पुरियो, मन चिरियो, कैयौं घर परिवार बिस्थापित भए ।

पहिरोसँगै स्थानीयका खुसी र सपना बगेर गए । एउटा सुन्दर मानव बस्ती खण्डहर बन्यो । धेरै जना सहराबिहिन बन्न पुगे । जिल्लाकै सवैभन्दा बढी मानिस बसोवास गर्ने गाउँ बस्ती फोप्ली सहित अन्य गाउँ पनि गल्र्यामगुर्लुम ढले । पहिरो गएको बर्ष यहाँका स्थानीयले त्रास, शोक, भोक, रोदन, वेदना, छटपटी र पीडा सबै बेहोर्न पुगे ।

साउन ८ गतबाट सुरु भएको बर्षा १० गते साझ सम्म निकै बाक्लिएको थियो। घरका छाना समेत पानीका थोपाले चुहिन थालेका थिए। कतिपय फुसका छानामा त पानीको खाल नै परेको थियो। स्थानीयका अनुसार आकासबाट बर्सिएको पानी धाराबाट आउने पानी भन्दा पनि ठूलो थियो। पोहोर सालको जत्ति ठूलो पानी हामीले जानेका थिएनौ स्थानीय भन्छन।रात जती छिप्पिदै गयो त्यती नै आकाशबाट पानी दर्किन थाल्यो ।

नौ बजेदेखि भारी बर्षा भयो । निरन्तरको बर्षालाई यहाँको भिरालो जमीनले थेग्नै सकेन । मद्य रातमा बाहिर आएर स्थिती बुझ्ने मौका समेत पाएनन् गाउँलले । जहाँ कुनै संभावना नै थिएन भन्छन पिडितहरु । उसो त यसरी पहिरो जाला भनेर कसैले सोचेका पनि थिएनन् ।

आखिर त्यहि नसोचेकै कुरा भएरै छोड्यो । एकाएक ठूलठूला पहिराहरु जान थाले । जमिनमा पानीका मुल निस्कन थाले । पहिरासंगैै घरहरु बग्न थाले । अँधेरी रातमा नरोकिएको मुसलधारे वर्षामा कतै भागेर जाने ठाउँ नै थिएन ।

बारिको पाटा, ढिक, कान्ला र बाटाहरु सबै ठाउँ पहिरोले आफ्नो बास बनाइसकेको थियो । रातको एक बजि नसक्दै कैयौं परिवारका सदस्यलाई पहिरोले निलीसकेको थियो ।

स्थानीयका अनुसार पहाडै हल्लिए जस्तो, भुकम्प नै गए जस्तो त्यो भयावह अवस्था उनीहरुले सम्झनै चाहँदैनन् । बिहान उजेली हुनै थाल्दा फोप्लीको वार्ड नम्वर ३ चारिवाङमा दर्जन बढी चाँपीएका थिए । यहाँ पहिरोले पुरीएर २६ जनाको ज्यान गइसकेको थियो ।

ती मध्ये १७ जना एउटै कुल घरानका थिए । कैयौ मानिस घाइते थिए । सिगो गाउ बस्ति नै सोकमग्न थिए । मानिसका शव यत्रतत्र छरिएका थिए । गाइवस्तु पशुचौपाय समेत हार गुहार मागीरहेका थिए ।

भाग्यले बाँचेकाहरु बिच गाउको अम्विका माध्यमिक बिद्यालयमा भेला भै बसेका थिए । फोप्ली बासीका लागि सवैभन्दा सुरक्षित त्यो थलोमा स्थानीयको ठूलो भीड जम्मा भइसकेको थियो । गाउँभरि पहिरोको दृश्य देख्दा सवै स्तव्ध हुनै नै भए सदरमुकाममा उद्वारका लागि खवर दिँदा पत्यारलाग्दो घटना थिएन । वरिपरिको घरहरु भत्किएको र जता हेर्यो त्यतै धाँजा फाटेको देखेपछि हतास र होस हवास गुमाएकाहरुको कम्ति संख्या थिए ।

कोही मन थाम्न नसकेर रुँदै मोबाइल मार्फत आफन्तसँग सम्पर्क गर्न खोजिरहेका थिए । कोहिँ आफन्तहरु हताहतीमा परेकाहरु भक्कानो छोडेर रोइरहेका देखिन्थे । मन थामीसक्नु थिएन यहाँको दृश्य वर्णन गर्दा, उफ ! उनिहरु आफनो थातथलो पहिरोसँगै मितेरी लगाएकाले पहिरो पिडितको आफन्त कोहिँ छैनन् जस्तो थियो । जस्तै सडकछाप । घर फर्किने अवस्था थिएन । रातको ठूलो पहिरो सँगै यो गाउँको मुहार र जनजीवनमा ठूलो उलटफेर भइसकेको थियो ।

गाउँ पुग्ने सडक पहिरोले क्षतबिच्छेद थिए । बाहिरवाट उद्वार र राहतको कुनै आश थिएन । खानेपानी, बिजुली अवरुद्ध थियो । झण्डै संरचना बिहिन भुगोलमा बदलिएको थियो यो बस्ती । मृत्यूको मुखैवाट बाँचेर फर्र्किएको अनुभुती छ हरेक फोप्लीवासीसँग । त्यो क्षण चलचित्रको भीमकाय दृश्य हेरेभन्दा कैयो गुणा बढी कहालि लाग्दो थियो ।

सिगोँ गाउँ स्तव्ध थियो । लगातारको झरि, जताततै पहिरो, धाँजा फाटेको जमिन, एकसरो लुगा, भोको पेटमा महिला, केटाकेटीको आर्तनाद, बृद्धाबृद्धको हारगुहार कसरी सँझनु त्यो क्षण बाफरे !
आफनै आखा अगाडि वर्षौ देखि पसिना बगाएर जोडेको थोरधेरको घर सम्पती र जग्गा जमिन पहिरो सँगै बगेको त्यो दिन । साझसम्म हरियो गाउँ हेरेर सुतेका फोप्ली बासीले आधा रातमा पहिरोले सोहोरेको बिहान हेर्नुपर्ने नियती भोगे ।

आधा रातमै त्यो डाडा अस्थायी शिविरमा परिणत भयो । पीडादायी त्यहिदिन सँझेर पहिरो पीडित नवराज बुढाथोकीको चेहरा क्षणभरमै बदलिन्थ्यो, कालोनिलो हुन्थे । त्यो रातको उनि कल्पना समेत गर्न चाहदैनन् पत्रकारहरुसँग । भन्छन्, त्यस्तो रात कहिल्यै नआओस ।
मलिन स्वरमा उनले भने, ‘सवथोक गुमायौ, एक बर्ष सम्म पनि पीडाका घाउहरु कम हुन सकेका छैन्न । ’उनि सोध्छन सरकार राहत कहिले आउँछ।

जत्रोसुकै बिपत्तिमा पनि सम्हालिनुको बिकल्प थिएन । सायद यहि सत्य बुझेका थिए प्यूठानबासीले । यहि धैर्य र सहासद्धारा समय गुजारेको ठिक एक वर्ष पुगेको छ । आजको दिनसम्म पहिरो पिडितको जीवन फेरिएको छैन ।
गाउँबस्ति अझै भुइँमै सुतिरहेका छन । ती तत्काल पूरानै अवस्थामा फर्कने अवस्थामा छैन । सुन्दर गाउँ फोप्ली अझै खण्डहर छ । उत्तरी प्यूठानको पिडा बोकेर लुङखोला अबिरल बगिरहेछ ।

साउन १० गते देखि सुरु भएको पहिरोले गाउँ नै गल्र्यामगुर्लूम ढलेपछि बिस्थापित भएकाहरु सुरक्षित ठाउँसम्म अझै पनि पुग्न सकेका छैनन् । पहिरो गएको ५ दिनपछि मात्र फोप्लीमा नेपाली सेनाको हेलिकोप्टर बाहेक उद्धार र राहत लिएर पुग्ने संयन्त्र भनेको रेडक्रस र प्रशासन मात्रै हुन । प्रशासनले मृतक परिवारलाइ १ लाख रुपैयाँ उपलव्ध गराए पनि बिस्थापितहरु दयनिय अवस्थाबाट मुतm हुन सकेका छैनन् ।

पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आएका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले भुकम्प पीडित सरह सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाएपनि पहिरो पिडितहरु आकाशको फल आँखा तरी मर भनेजस्तै भएको छ ।
प्रधानमन्त्री आफैले गरेको प्रतिबद्धता पूरा नगरेकोमा स्थानीयको गहिरो चित्त दुखाइ छ । दाहालले असोजमा यहाँ आएर घर निर्माणका लागि तत्तकाल ३ लाख रुपैयाँ अनुदान र सहुलियतमा ५ लाख ऋण दिने घोषणा गरेका थिए । उ बेला भनिएको दशै खर्च १५ हजार रुपैयाँ बाहेक पीडितले अरु केहि पाएका छैनन् ।

जोखिम उस्तै, त्रासमा स्थानीय
उत्तरी प्यूठानमा बर्षायाम सुरु भएसँगै पहिरोको जोखिम र त्रास समेत बढदै गएको छ । अहिले पनि गाउँका कोहि ढुक्कले निदाउन समेत सक्ने अवस्था छैन । गत बर्ष फोप्ली, बहाने, खवाङ, पुजा, अर्खा, रजवारा लगायतका गाउँहरुमा अबिरल वर्षा सहितको बाढी र पहिरोले उच्च धनजनको नोक्सानी पुर्यायो ।

घटनाको एक बर्ष पुग्न नपाउँदै फेरी त्यहि श्रृंखला दोहोरिन थालेका छन । मध्य असारमा घरमा सुतिरहेकी रजवारा ३ की १७ बर्षिया युवती तुलसा घर्तीले पहिरोमा पुरिएर अकालमै ज्यान गुमाइन् ।

त्यस्तै पहिरोमा हराइरहेका नौबहिनी गाउँपालिकाकै लिघा कसेरीका १७ बर्षिया जुगमान घर्ती र उनका १३ बर्षिया भाइ शुनिल घर्ती मगर अझै भेटिएका छैनन् । अझै पनि जिल्लाको बिभिन्न स्थानमा वर्षा र पहिरो जाने क्रम रोकिएको छैन ।

फोप्ली वार्डका सामाजिक परिचालक युवराज भण्डारीका अनुसार हल्का पानी परेपनि कहालिलाग्दो पीडा झेलेका बाढी पहिरो पीडितहरु फेरी तीनै दिन दोहोरिने त्रासमा रहने गरेको बताउँछन । गाउँको गातिना र भिरकुना वस्ति धेरै जोखिमा छ । उनले भने, ‘पहिरोको जोखिम टरेको छैन । बर्षायाम सुरु भएसँगै यहाँ पहिरो खस्ने क्रम सुरु भएको छ भने स्थानीयहरु घर छोडन थालेका छन ।’

जनता आवास कार्यक्रम मार्फत हालै निर्माण भएका घरहरु समेत पहिरोको जोखिममा रहेको सामाजिक परिचालक भण्डारीले जानकारी दिए । पहिरोपछि स्थलगत अध्यनका लागि आएका भुगर्भबिद सहितको प्राबिधिक टोलीले अद्ययन प्रतिबेदन केन्द्रमा बुझाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए् ।

उनले बिस्तृत अध्यनका लागि भुगर्भबिदको अर्को टोली बर्षा सकिए लगत्तै जिल्ला आउने जानकारी दिए। बाढीबाट प्रभावित ठाउँको जोखिमबारे प्रतिवेदन समय मै नआउँदा स्थानीयमा जोखिमको त्रास हटेको छैन ।

आवासको व्यावस्था मिलाइदै छ : प्रशासन

पहिरो पीडितको पुनर्वासका लागि आवास निर्माणको काम भइरहेको जिल्ला प्रसासन कार्यालयले बताएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगोलिक अध्यनपछि सुरक्षित स्थानमा घर निर्माण गर्ने काम गरिएको बताए ।

उनले अहिले सम्म ६० वटा घर निर्माण गरिसकिएको जानकारी समेत दिए । सहरी बिकास तथा भवन डिभिजन कार्यालय रोल्पा र कारितास नेपालको सहयोगमा फुलवारी एकिकृत ग्रामीण बिकास सँस्था नेपाल मार्फत आवासगृह निर्माणको काम सुरु गरिएको हो ।

डिभिजन कार्यालय रोल्पा मार्फत जनता आवास कार्यक्रम अन्र्तगत २० विपन्न दलित परिवार र फुलवारी मार्फत ४० घर निर्माण गरिएका हुन । पीडित मध्य १० परिवारले आफै आवासको व्यवस्था मिलाएका थिए ।

जिल्ला दैवि प्रकोप राहत तथा उद्धार समितीले बाकी ७ परिवारको व्यावस्थापनका लागि जग्गा किन्ने निर्णय गरिएको प्रजिअ पौडेले बताए । वर्षातपछि तत्काल उनिहरुको आवासको व्यवस्था गरिने उनले जनाए ।

गत साउनमा पहिरो जाँदा फोप्लीमा झण्डै ८० घरपरिवार बिस्थापित भएका हुन । पहिरोमा पुरिएर जिल्लाभरमा ५३ जनाले ज्यान गुमाएका थिए । दुइ जना अझै बेपत्ता छन । ८ जना घाइते भएका थिए ।

पहिरोबाट फोप्लीमा मात्रै २७ जनाको ज्यान गएको थियो भने एक जना अझै सम्म बेपत्ता छन । यहाँ ७८ घर पूर्ण रुपमा बिस्थापित भएको जिल्ला प्रशासनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्