टेलिकमका पुरक सेवा निःशुल्क



 

काठमाडौं, (नेस)
नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन सेवाका विभिन्न पुरक सेवामा लाग्ने शुल्क हटाएको छ। सबै पुरक सुविधा लिँदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा निःशुल्क रूपमा उपलब्ध गराउन थालिएको टेलिकमले जानकारी दिएको छ।

टेलिकमले कलर आइडी एक्टिभेसन, आइएसडी, कल डाइभर्ट तथा लक परिवर्तनलगायत सेवा निःशुल्क गरेको हो। ल्यान्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि शुरूमा शुल्क लाग्दै आएकोमा अब यो निःशुल्क भएको छ। त्यसैगरी आइएसडी सेवा आफैंले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने सुविधा पनि सोही मितिदेखि निःशुल्क भएको छ।

यस्तै टेलिफोन व्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रूपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रूपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा पनि निःशुल्क लिन सकिने भएको छ।

टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैंले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ। कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने र अन्य सुविधा भने ग्राहकले आफैं लिन सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्