बीमा कम्पनीको पुँजी वृद्धि योजनाले नेप्सेमा छलाङ



 

नेपाल समाचारपत्र
काठमाडौं
नयाँ आर्थिक वर्षको शुरूआतदेखि नै सुधारिएको शेयर बजारले साताको तेस्रो दिन मंगलबार ठूलो छलाङ मारेको छ। चालू आवको शुरूदेखि नै सुधारको संकेत देखाएको नेप्से परिसूचक मंगलबार ३४ दशमलव २६ अंकले बढेको हो।

सोमबारमात्रै १६ सय अंक उकालो लागेको बजार परिसूचक मंगलबार कारोबार अवधिभर नै सकारात्मक रहेको थियो। मंगलबार १ हजार ६ सय ४ दशमलव १५ बाट शुरू भएको शेयर बजार खुलेदेखि उकालो लागेको बजार लगातार ४० मिनेट बढेको थियो। त्यसपछि केही समय परिसूचकमा गिरावट देखिए पनि त्यसपछि लगातार सुधार आउँदै १ हजार ६ सय ३८ दशमलव ४१ को बिन्दुमा पुगेर रोकियो।

मंगलबार बजारका सबै समूहका परिसूचकमा सुधार आउँदा कारोबार रकममा पनि खालो बगेको थियो।। कारोबार रकम अघिल्लो दिनको तुलनामा दोब्बर रहेको थियो। सोमबार ६९ करोड ४३ लाख ६९ हजार रुपियाँको कारोबार भएकोमा मंगलबार शेयर बजारमा १ अर्ब २१ करोड ८५ लाख ९९ हजार २ सय ३४ रुपियाँको कारोबार भए। यसैक्रममा ९ हजार २ सय ४२ कारोबारमार्फत् १ सय ५५ कम्पनीका १९ लाख ७८ हजार ९ सय ५५ कित्ता शेयर किनबेच भए।

मंगलबारको कारोबारमा आएका सबै समूहका परिसूचक बढेका छन्। जसमध्ये बीमा समूह सर्वाधिक ४ सय १६ दशमलव ६३ अंकले बढेको छ। बीमा समूहमा पर्ने नेपाल लाइफ इन्स्योरेन्सको मात्रै ९ करोड २९ लाखभन्दा बढीको शेयर कारोबार भएको छ।
त्यस्तै होटल समूह ६१ दशमलव ५२ अंक, जलविद्युत् समूह ३८ दशमलव ९९ अंक र बैंकिङ समूह २७ दशमलवल २५ अंकले बढ्यो। त्यस्तै विकास बैंक समूह २५ दशमलव २ अंक, उत्पादन तथा प्रशोधन समूह २० दशमलव ७२ अंक र वित्त समूह ५ दशमलव ९५ अंकले बढे। अन्य समूहमा शून्य दशमलव ५८ अंकको सुधार आयो।

मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव ८६ अंकले बढेर ३ सय ४७ दशमलव ६३ को बिन्दुमा पुगेको छ।
मंगलबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भयो। कम्पनीका ४१ हजार ७ सय ६ कित्ता शेयर ९ करोड २९ लाख ५ हजार ५ सय ८७ रुपियाँमा कारोबार भए। त्यस्तै कारोबार रकमका आधारमा कारोबार फवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल इन्भेस्टमेन्ट बैंकका संस्थापक शेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

मंगलबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीका शेयरधनीले कमाएका छन्। कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ। त्यस्तै एनबी इन्स्योरेन्स र कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेका छन्। बजार करिब ३५ अंकले वृद्धि हुँदा १९ कम्पनीको शेयर मूल्य भने घटेको छ। तीमध्ये ओम डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी ९ दशमलव ८५ प्रतिशत गुमाए।

नेप्से परिसूचकले छलाङ मार्नका निम्ति बीमा
आइतबारदेखि देखिएको बजारको प्रकृति हेर्दा असार मसान्तको सिजनल इफेक्ट देखिएको पुष्टि भएको जानकारहरूको विश्लेषण छ। ब्रोकरहरूले मार्जिन कर्जा वितरण गर्न सक्ने व्यवस्था गर्न धितोपत्र बोर्ड लागेको खबर लगायतले पनि बजारमा सकारात्मक ‘भाइभ’ दिएको उनीहरूको भनाइ छ। सोमबार सरकारले स्थानीय तहलाई पहिलो किस्ताको रूपमा ७५ अर्ब रुपियाँ निकासा, कारोबारमा भ्याट तत्काल नलाग्ने खबरले बजार बढ्न थालेको उनीहरूको बुझाइ हो।

बीमा कम्पनीले हकप्रद र बोनसमार्फत् आफ्नो चुक्ता पुँजी वृद्धि गर्ने योजना बीमा समितिमा पेस गरेको खबर सार्वजनिक भएपछि लगानीकर्ता बीमा कम्पनीतर्फ आकर्षित भएका हुन्।

त्यस्तै आर्थिक वर्षको समाप्तिसँगै चौथो त्रैमासिक रिपोर्ट प्रकाशन गर्ने समय नजिकिँदै गर्दा लगानीकर्ता राम्रो लाभांश दिने कम्पनीतर्फ आकर्षित हुँदा पनि बजारमा सकारात्मक प्रभाव परेको हो।

प्रतिक्रिया दिनुहोस्