साउदी अरेबियामा मिनिस्कर्ट लगाउने युवती विवादमा



 

रियाद, (एजेन्सी)
साउदी अरेबियाको सरकारी निकायले मंगलबार एकजना युवतीले मिनिस्कर्ट लगाएर सार्वजनिकस्थलमै भिडियो बनाएर सार्वजनिक गरेको विषयमा छानबिन शुरू गरेको छ। खुलुद नामक ती मोडल युवतीले ऐतिहासिक किल्ला उसायकिरमा हिँडिरेको आफ्नो भिडियो तयार पारेकी थिइन्।

सामाजिक सञ्जालमा तुरुन्तै भाइरल भएको उक्त फुटेजको कारण साउदी अरेबियामा ठूलो विवाद सिर्जना भएको छ। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले पुरातनवादी मुस्लिम राष्ट्रको कडा पोसाक नियम तोडेको कारण उनलाई तत्काल पक्राउ गरिनुपर्ने विचार पोखेका छन्।

तर केहीले भने ती युवती साहसको कदर गर्दै प्रशंसापूर्ण अभिव्यक्तिहरू दिएका छन्। साउदी अरेबियाका महिलाले सार्वजनिकस्थलमा सम्पूर्ण शरीर ढाकिने खुकुलो ‘अवायास’ नामक पोसाक अर्थात् बुर्का लगाउनुपर्ने नियम रहेको छ। साथै तिनीहरूले हेडस्कार्फ पनि लगाउनुपर्ने प्रावधान रहेको छ। साउदी अरेबियामा महिलाहरूले कार पनि चलाउन पाउँदैन। साथै तिनीहरू कुनै पनि अपरिचित पुरुषहरूको सम्पर्कमा पनि आउनुहुन्न।

गत सप्ताहान्त शुरूमा स्न्यापच्याटमा राखिएको उक्त भिडियोमा राजधानी रियादको नाज्द प्रान्तको करिब १ सय ५५ किमि उत्तरमा पर्ने उसायकिर सम्पदा गाउँको एउटा किल्लाको खुला बाटोमा खुलुद एक्लै हिँडिरहेको देखिन्छ। नाज्द साउदी अरेबियाको सबैभन्दा रूढीवादी संस्कार व्याप्त क्षेत्रहरूमध्ये एक हुन्।
साउदी शाही परिवारले मान्दै आएको सुन्नी इस्लामको प्रितिपादक वाहविज्मको जन्म यही क्षेत्रमा अठारौं शताब्दीको उत्तरार्धमा जन्मेको मानिन्छ। यस विवादास्पद भिडियोलाई तत्कालै ट्विटरमा राखिएको थियो।

त्यहँँ पनि उनको मिनिस्कट लवाइप्रति मानिसहरूको मत विभाजित हुन पुगेको थियो। पत्रकार खालेद जिदानले भने यस्तो स्थितिमा धार्मिक प्रहरीको परिचालन आवश्यक भएको लेखेका छन्। साथै अर्का युजरले सबैले राष्ट्रको प्रचलित कानुनको सम्मान गर्नुपर्ने र फ्रान्समा अनुहार छोप्ने निकाब लागइएको पाइएमा महिलाहरूलाई सजाय हुने र साउदीमा भने अवायास नलाउनेलाई दण्डित गर्ने व्यवस्था भएको लेखेका छन्।

केहीले खुलुदको समर्थन गर्दै गत मे महिनामा साउदी अरेबियाको भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया र छोरी इभान्काले पनि अवायास र हेडस्कार्फ नलगाएको जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्