भारतको परमाणु कार्यक्रमको निसाना पाकिस्तान नभई चीन भएको दाबी



 

न्युयोर्क, (एजेन्सी)
भारतले आफ्नो परमाणु हतियारको आधुनिकीकरण र विस्तार लगातार जारी राखेको र उसको परमाणु कार्यक्रम तयारीको निसाना पाकिस्तान नभएर चीन भएको अमेरिकी शोधकर्ताहरूले बताएका छन्।

विश्वको परमाणु कार्यक्रममाथि निगरानी राख्दै आइरहेका अमेरिकाका दुई प्रमुख विशेषज्ञले दिएको एक प्रतिवेदनमा उक्त दाबी गरिएको छ। डिजिटल जर्नल ‘अफ्टर मिडनाइट’मा छापिएको उक्त प्रतिवेदनमा ह्यान्स एम क्रिस्टेन्सेन र रोबर्ट एस नौरिसले भारत अहिले सम्म लामो दूरी प्रहार गर्ने परमाणु क्षेप्यास्त्र बनाउन व्यस्त रहेको र यसले दक्षिण भारतबाट चीनको कुनै पनि क्षेत्रलाई निसाना बनाउन सक्ने उल्लेख गरेको छ।

भारतले परमाणु बम बनाउन प्रयोग हुन सक्ने करिब ६ सय किलोग्राम प्लुटोनियम तयार गरिसकेको अनुमान गरेको छ। परमाणु वैज्ञानिकहरूका अनुसार यो परिमाणको प्लुटोनियम १५०–२०० परमाणु बम बनाउन पर्याप्त छ।

ती दुई विशेषज्ञहरूले भने– ‘परमाणु बम खसाल्ने लडाकू विमान र क्षेप्यास्त्रका बारेमा उलपब्ध जानकारीका आधारमा भारतले १२० देखि १३० को संख्यामा परमाणु बम बनाइसकेको हाम्रो अनुमान छ।’

तर भारत अब फरक फरक दूरीमा प्रहार गर्न सक्ने थुप्रै परमाणु क्षेप्यास्त्र विकासमा लागेको छ। तर त्यसलाई परमाणु बमबाट लेस गर्नका लागि भारतलाई थप बम बनाउनुपर्नेछ।
मुम्बई नजिकको एक परमाणु भट्टीमा प्लुटोनियम तयार गरिन्छ र अहिले प्लुटोनियमका लागि दुई थप आणविक भट्टीको निर्माण गरिरहेको छ। कलपक्कम परमाणु प्लान्टको इन्दिरा गान्धी सेन्टर फर एटोमिक रिसर्च र फास्ट ब्रिडर रिएक्टर बन्नुले भविष्यमा परमाणु बममा प्रयोग हुने प्लुटोनियम तयार गर्नमा भारतको क्षमतामा पर्याप्त वृद्धि हुने विशेषज्ञहरू बताउँछन्।

भारतको परमाणु कार्यक्रम पारम्पारिक रूपमा पाकिस्तानको परमाणु हमलालाई रोक्नुमा केन्द्रित रहेको तर भारतको पछिल्लो परमाणु कार्यक्रम विस्तार र आधुनिकीकरणले उसको प्राथमिकता चीनमाथि केन्द्रित रहेको अमेरिकाका ती परमाणु विशेषज्ञहरूले प्रतिवेदनमा उल्लेख गरेका छन्।

चीनको कुनै परमाणु हमलाको जवाफ दिने हैसियत पाउनका लागि भारतले आगामी दिनमा थप सशक्त तथा व्यापक रणनीति अपनाउने उनीहरूले बताए। परमाणु बम खसाल्नका लागि भारतसँग ७ प्रकारको रक्षा प्रणाली प्रयोगमा रहेको छ। यसमा दुई युद्धक विमान जागुआर र मिराज २००० पर्छन्। रुसी लडाकू विमान सुखोइ र मिग २७ का बारेमा पनि विशेषज्ञहरूले त्यसलाई परमाणु हतियारका लागि प्रयोग गर्न सक्ने तर यसको सम्भावना भने कम रहेको बताएका छन्।

पृथ्वी २, अग्नी १, अग्नी २ र अग्नी ३ परमाणु हतियार बोक्ने क्षमता भएका क्षेप्यास्त्र हुन्। यी क्षेप्यास्त्र भारतीय सेनासँग पहिलेदेखि नै रहेको छ।
भारतले अग्नी ४ क्षेप्यास्त्र धेरैपटक परीक्षण गरिसकेको छ। यो ब्यालिस्टिक क्षेप्यास्त्रको मारक क्षमता ३ हजार ५ सय किलोमिटरको दूरीसम्म रहेको छ। यसलाई भारतको उत्तर पूर्वी क्षेत्रमा तैनाथ गरेमा बेइजिङ र सांघाईसहित सम्पूर्ण चीनको भूभाग यसको मारक क्षमताको दायरामा पर्न आउँछ।

भारतको रक्षा अनुसन्धान संस्थानले ५ हजार किलोमिटरको दूरीसम्म प्रहार गर्न सक्ने अन्तरमहाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र अग्नी ५ विकास गरिरहेको छ। त्यसैगरी ८ हजारदेखि १० हजार किलोमिटर दूरीसम्म निसाना बनाउन सक्ने र पनडुब्बी तथा स्थल दुवैबाट प्रहार गर्न सक्ने अग्नी ६ का लागि पनि भारतले काम थालेको छ।

प्रतिक्रिया दिनुहोस्