कति साह्रो धुवाँ–धूलो



 

विराटनगर सबैभन्दा जेठो शहर र कान्छो महानगरको रुपमा चिनिदै आएको छ। यसको पुरानो परिचय पनि यही हो। अबको नयाँ परिचय राजधानी काठमाडौंजस्तै धुवाँ र धूलोको शहरको रुपमा अगाडि बढिरहेको छ। प्रदेश नम्बर १ को एकमात्र महानगरपालिका विराटनगरको अवस्था साह्रै दयनीय छ। मुख्य सडकक्षेत्रको दुरावस्थाका कारण नगरवासीले लामो समयदेखि कष्ट भोग्दै आएका छन्। विराटनगरको बरगाछी दक्षिण र रानी उत्तरसम्म करिब पाँच किलोमिटर सडकको यात्रा पनि निकै कष्टकर छ। बरगाछीदेखि रोडशेष चोक जुन बजार क्षेत्रमा पर्दछ, त्यहाँ बिजोग अवस्था छ। यस क्षेत्रभित्र पर्ने मुख्य सडकमा जताततै खाल्डाखुल्डी, अव्यवस्थित ढल र धुवाँ–धूलो सामान्यजस्तै बनेको छ।

घाम लाग्दा धूलो र पानी पर्दा हिलोको समस्याले पीडित भएको अवस्था छ हामीलाइ यहाँ। यहाँ व्यवसाय गर्नेलाई पनि तनाव छ। धूलोले बस्न, खान नदिएको अवस्था छ। विराटनगरको यस्तो अवस्था यो भन्दा पहिले खासै देखिएको थिएन। हामीले यो अवस्था पहिलोपटक देखेका छौं।

विराटनगरभन्दा पछि बनेका शहरहरु कहाँबाट कहाँ पुगिसके तर विराटनगरको अवस्था भने उस्तै छ। यहाँका दलहरु पनि खासै नगर राम्रो बनाउनतिर लागेको पाइएको छैन। सामान्य पानी पर्दा पनि मुख्य सडकक्षेत्र जलमग्न र हिलाम्मे हुने यहाँको मुख्य समस्या अहिले पनि जस्ताको त्यस्तै छ। पैदल यात्रु पनि घुँडासम्मको धमिलो पानीमा डुबेर हिँड्न बाध्य भएको अहिलेको तत्कालको अवस्था हो। डीएसपी रोडमा पनि खाल्डाखुल्डी र धूलोले बस्न, खान दिँदैन।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विराटनगरमा एकीकृत विकास परियोजना सञ्चालनमा छ तर काम कछुवाको गतिमा मात्रै अगाडि बढ्दा विगत १५ महिनादेखि सडक निर्माणमा ढिलासुस्ती भएको जस्तो लागेको छ। सडक निर्माणमा देखिएको ढिलासुस्तीका कारण निकै असहज परिस्थिति भोग्नुपरेको छ। बरगाछीदेखि रोडक्षेत्र चोकसम्मको मुख्य सडक आसपासका पसलहरुमा वर्षाको हिलो र ढलयुक्त फोहोर पानीसमेत पस्ने गर्दछ। यसबाट व्यापारीसमेत आजित भएका छन्। यहाँ त सवारीचालक र यात्रुले पनि सास्ती खेपिरहेका छन्। यो विषयमा सरकारी निकायबाट केही पहल हुँदैन। सबैलाई मै खाऊँ मै लाऊँ छ। यहाँको यो समस्याको असर सबैमा छ भन्ने हेक्का राख्ने मान्छे नहुँदा तनाव भएको छ। नगरक्षेत्रमा विकास निर्माणको काममा अहिले खासै पहल र काम नभएको जस्तो हामीलाई लागेको छ। हामी यो नगरलाई नमुना नगर बनाउन लागिपर्नुपर्छ। यसमा साथ–सहयोगका लागि सबै विराटनगरवासी हाजिर छन्। उच्च निकायबाट पहल भएमा यससम्बन्धी काम हुनेछ। यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस्। सबै विराटनगरवासीका तर्फबाट अनुरोध।

– सुबिन खनाल, विराटनगर

सडक सहज बनाऊ

यसै राष्ट्रिय दैनिकमा केही दिनअघि प्रकाशित सलिम अन्सारीले लेखेको खबर पढ्दा धेरै खुशी लाग्यो। बहान–बाग्दुला सडक उत्तरी प्युठान जोड्ने एकमात्र मुख्य सडक हो। उक्त सडक भएर आउजाउ गर्ने जो–कोही पैदलयात्रु या सवारीसाधनलाई यस सडकका कारण निकै हैरानी व्यहोर्नुपर्छ। गतवर्ष त्यस क्षेत्रमा गएको बाढीपहिरोले क्षतविक्षत भएको सो बाटोलाई सम्बन्धित निकायले काम चलाऊ हिसाबले मात्र बनाएर सुचारु गर्यो। यो सडकमा हिउँदमा समेत सुख्खा पहिरो झरेर अवरुद्ध हुन्छ। यो सडकमा पहिरो जाने र सडक भत्कने क्रम अझै पनि रोकिएको छैन।

असार दोस्रो सातातिर भीषण वर्षापछि लुङखोलामा आएको बाढीले सडक नै बगाइदिएपछि समस्या भएको छ। यो सडक यातायात गुडाइसक्नु मात्र होइन मान्छेसमेत हिँड्नै नसकिने गरी थलिएको छ। अझ पानी परेको बेला त लुङखोलाको उर्लंदो भेल र उँभो तारेभिर हेरेर बस्नुपर्ने अवस्था हुन्छ। यो बाटो आउजाउ गर्ने जो कसैलाई पनि मुटु पातमा राखेर खोलाको बाटो हुँदै यात्रा गर्नुपर्छ। यसका बाबजुद सरोकारवालाले सडक मर्मतको काम दखाउनका लागि मात्र गरे पनि त्यो कार्य प्रभावकारी हुन सकेको छैन। सडकमा हप्तौंदेखि यातायात चल्न सकेको छैन।

बहाने, लिघा, डाम्री, खवाङ, स्यालिबाङ लगायतका गाउँमा खाद्यान्न बाग्दुला बजारबाटै बोक्नुपर्ने बाध्यता छ। बहाने बजारमा खाद्यान्न अभाव हुँदै गएको छ। यस भेगका स्थानीय आउजाउ गर्ने अर्को सडकको विकल्प छैन। सडकको स्तरोन्नति अझै गरिएको छैन। जस्ले गर्दा पानी पर्दा हिल्लाम्मे हुन्छ। यस क्षेत्रका हजारौं नागरिकलाई हैरानी व्यहोर्नुपरेको छ बर्सेनि। यो सडक काल निम्त्याउने सडकका रुपमा चिनिन थालेको छ। सडक सुधारमा राज्यको तुरुन्त ध्यान जाओस्।
– ठूली सुनार, प्यूठान

काठमाडौंमा अव्यवस्थित फोहोर

फोहोरको समस्या आज काठमाडौंमा जल्दोबल्दोको रुपमा छ। फोहोरको व्यवस्थापन हुन नसकेका कारण टोलैपिच्छे दुर्गन्धित छ। नगरपालिकाको गाडी समयमा नआउने र आए पनि थाहा नहुने कारणले काठमाडौंमा धेरै फोहोर जम्मा भएको पाइन्छ। फोहोरको व्यवस्थापन हुन नसक्दा मानिसले जथाभावी फोहोर मिल्काएको पाइन्छ। यस विषयमा भर्खर मेयर हुनुभएका विद्यासुन्दर शाक्यले विशेष ध्यान दिनुपर्छ भन्ने मेरो अनुरोध छ।

यसको दिगो समाधान खोज्न पनि जरुरी छ। बढ्दो जनसंख्याले यो समस्या दिनानुदिन जटिल बन्दै गएको छ। सरकारले पनि ठूला शहर र महानगरलाई मध्यनजर गरेर यस विषयमा नयाँ केही कार्याक्रम ल्याउन जरुरी छ।

– विश्वदीप थपलिया, नयाँ बानेश्वर–१,०, काठमाडौं

जेब्रा क्रसिङको व्यवस्थापन अपरिहार्य

जेब्रा क्रसिङ सर्वसाधारण पैदल यात्रीका लागि निकै महत्वपूर्ण छ। ट्राफिक नियम गाडीचालक वा सवारीसाधनलाई मात्र लाग्दैन, यो त पैदल यात्रुलाई पनि लाग्ने विषय हो। यहाँका ठूला–ठूला शहरमा धेरै जेब्रा क्रसिङ हुन्छन्। बाटोमा भएका जेब्रा क्रसिङको प्रयोग त्यति धेरै गरेको पाइँदैन। भएकाको सदुपयोग भएमा मात्रै नयाँ निर्माणमा पनि सफलता मिल्छ।

त्यसै गरी सरकारले पनि जेब्रा क्रसिङ बनाउनमा खासै चासो दिएको पाइँदैन। भएका पनि खासै प्रयोग भएका छैनन्। यस विषयमा सरकारले विशेष अभियान थालोस्। ठाउँ–ठाउँमा जेब्रा क्रसिङको व्यवस्था होस्। अनि सही प्रयोगका बारेमा जनचेतना दिने काम पनि होस्।
– निरुता घिसिङ, इमाडोल, ललितपुर

प्रतिक्रिया दिनुहोस्