बास त बन्यो, नक्सा पासकै चिन्ता



 

नानीराम नेपाल, सिन्धुपाल्चोक
चौतारा सागाँचोकगढी नगरपालिका ६ गौरातीका चन्द्रबहादुर खत्रीले भूकम्पपछिको नयाँ घर निर्माण सम्पन्न गरेको ६ महिना बितिसक्यो। घर निर्माण सम्पन्न भएपनि प्राविधिकले पास गर्दैनन् कि भन्ने चिन्ता छ उनलाई।
पहिलो किस्ताको ५० हजार पाएपछि उत्साहित हुँदै भूकम्पले ढलाएको घर निर्माणमा खत्री परिवार जुटेको थियो। ‘सरकारले भनेअनुसार नै काठको नस राखी घर निर्माण गरेको छु खै प्राविधिकहरुले पास गर्छन् की गर्दैनन’् –खत्रीले भने। पहिला घरको बीचबीचमा काठकै नस राखे पनि हुने भनेपछि आफूले सोहीअनुसार गरेको तर अहिले काठको नस हुँदैन भनेपछि आफू समस्यामा परेको खत्रीले बताए। ‘घर निर्माणको चरणमा धेरै समस्या भया’े उनले भने – ‘घर त सम्पन्न गरें तर अब बाँकी किस्ताका लागि घर पास होला कि नहोला।’

घर निर्माण गर्ने बेलामा नक्सा पास गर्न धेरैपटक नगरपालिकाको कार्यालय गए पनि प्राविधिकहरुले सहयोग नगरेको उनले गुनासो गरे। ‘नक्सा पासका लागि कर्मचारीहरु गाउँमा आएनन‘् उनले सुनाए। पटक–पटक अनुरोध गर्दा पनि नआएका कर्मचारीले अर्काको जग्गा नमिच्नु आफ्नै जग्गामा घर निर्माण गर्नु हामी आउँनुपर्दैन भनेपछि नक्सा पास नै नगरी घर निर्माण शुरु गरेको उनले बताए।
सोही गाउँकी पदमकुमारी खत्रीको पीडा पनि उस्तै छ घर निर्माणका लागि नक्सा पास गर्न नगरपालिका जाँदा कर्मचारी नभेटेपछि नक्सा पास नै नगरी घर निर्माण गरेकी छन् उनले पनि। घर निर्माण शुरु गर्ने बेलामा प्राविधिहरुलाई धेरै पटक बोलाउँदा पनि नआएपछि घर निर्माणको काम थालेकी उनले अहिले घर बनाइसकेकी छन्। ‘अब पास भएन भने त मलाई समस्या हुन्छ’ उनले भनिन्।
घर निर्माण गरेको लगभग ३ महिना बितिसकेको छ। पहिलो किस्ता पाएर उत्साहित हुँदै घर निर्माणमा जुटेकी पदमकुमारीले घर निर्माण सम्पन्न गरिसक्दा पनि दोस्रो किस्ता त पाएकी छैनन् नै घर नै पास होला कि नहोला भन्ने चिन्ताले सताउने गरेको छ उनलाई।

सरकारले पहिले नयाँ घर निर्माण गर्दा जग,बीचबीचमा काठको नस राखेपनि हुने बताएकाले सोहीअनुसार निर्माण गरेको उनी बताउँछिन्। ‘घर हेर्न नगरपालिकाका कर्मचारीलाई बोलाउँदा हिँडेर त कसरी आउँनु भन्दै प्राविधिक कर्मचारी घर हेर्न नआएको खत्रीले बताइन्।

‘बेलामा इन्जिनियर बोलाउँदा आएनन् अहिले बनिसकेको घरमा फेरि जगमा काठ राख्नुपर्छ भन्दै नगरपालिकाको प्रािवधिक फर्किए’, उनले भनिन्, ‘अब निर्माण सम्पन्न भएको घरमा फेरि जगमा कसरी नस राख्नु ?’ बोलाउँदा नआउने अनि अहिले निर्माण भएपछि मापदण्डअनुसार भएन भनेर प्राविधिकले दुःख दिन थालेको उनले सुनाइन्।

गौराँतीको यो टोलमा अहिले पाँचवटा नयाँ घर निर्माण भएका छन् । भूकम्प पीडितहरुले पहिलो चरणमा भनेबमोजिम बनाएका छन् तर प्रायले नक्सा पास नै गरेका छैनन्। कसैले कोठा निकालेर बनाएका छन् भने कसैले पहिलेकैअनुसार खुल्ला बनाएकाले पनि धेरै पीडितहरु घर पास होला कि नहोला भन्ने अन्यौलमा छन्।

विनाशकारी भूकम्पको दुई वर्ष बित्नै लाग्दा पनि सिन्धुपाल्चोकमा पुनर्निर्माणले गति लिन सकेको छैन। कागजी रुपमा पुनर्निर्माणको प्रक्रियामा प्रगति नै देखिए पनि गाउँबस्तीमा पुनर्निर्माणको काममा कछुवा गति देखिएको छ। निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएकामध्ये लगभग शतप्रतिशतले नै पहिलो किस्ताको रकम पाएका छन्। अनुदान सम्झौता भएका अधिकांश लाभग्राहीका खातामा पहिलो किस्ताको रकम निकासा भइसकेको जिल्ला आयोजना कार्यान्वायन इकाइले जानकारी दिएको छ। झण्डै ७ हजार लाभग्राहीले दोस्रो किस्ताको डेढ लाखसमेत पाइसकेका छन्। तर पुनर्निर्माणको काम भने सुस्त देखिएको छ। शतप्रतिशतले अनुदानको पहिलो किस्ता पाए, तर पुनर्निर्माण शुरु गर्ने १५ प्रतिशत पनि भएनन्। अनुदान लिएर पनि ८५ प्रतिशत लाभग्राहीले पुनर्निर्माण सुरु नै गरेका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्