पुनर्निर्माणमा प्रविधिको प्रयोग, आईटीको प्रयोग गर्दै स्मार्ट सिटी



 

मोतीराम तिमल्सिना, काभ्रे
भूकम्पबाट थिलथिलो भएको संरचनाको पुनर्निर्माण गर्न तथा संघिय संरचनाअनुसार बनेका स्थानीय तहलाई आईटीको माध्यमबाट अगाडी बढाउन शहरहरुलाई स्मार्ट बनाउने विषयमा छलफल शुरु भएको छ।

काभ्रेपलाञ्चोक जिल्लाका सबै नगरपालिका, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की जिल्लाका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुलाई स्मार्ट शहर बनाउन काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ कम्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागले आयोजना गरेको छलफल कार्यक्रममा आयोजना गरेको छ। ‘अब बन्ने संरचनाहरुमा आईटीको प्रयोग गरौं र स्मार्ट शहर बनाऔ भन्ने हाम्रो उद्देश्य हो’– काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका प्रमुख डा. मनीष पोखरेलले भने– ‘हामी विश्वविद्यालयका तर्फबाट सबै नगरहरुमा प्राविधिक तथा यसका बारेमा योजना बनाउन र कार्यान्वयन गर्न सहयोग गर्छाै।’

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले शहर सुशासनका लागि आईटीको प्रयोग र निर्माणमा स्मार्ट बनाउन मेयर उपमेयरहरुलाई सुझाव दिए। कर, सिफारिस, नागरिकताजस्ता विषयमा तत्काल आईटीको प्रयोग गर्न उनले सुझाव दिएका थिए। न्याय र फैसला गर्ने क्रममा पनि आईटीको अत्याधिक प्रयोगमा जोड दिए। ‘नक्सा पासका लागि नागरिकहरु नगरपालिकामा धाउनुपर्ने बाध्यता तत्काल अन्त्य गर्नुपर्छ’– शाहले भने। सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्रले भएका संरचनाहरु निर्माण गर्न आईटीको प्रयोग तथा बनिसकेका संरचनाहरुमा स्मार्ट बनाउन जनप्रतिनिधिहरुले बजेटको एक प्रतिशत सूचना र प्रविधिमा विनियोजन गर्न सुझाव दिए। कार्यक्रममा दुरसंचार प्राधिकरणका इन्जिनियर आनन्दराज खनालले देशभर अप्टिकल फाइबर बिच्छ्याउने कार्य शुरु भएको बताए। ‘२⁄३ वर्षभित्र देशका सबै कुना काप्चामा इन्टरनेटको सुविधाका लागि अप्टिकल फाइबर बिच्छ्याउने कार्य पूरा हुन्छ’ –उनले भने।

भूकम्पमा परेका पीडितहरुको गुनासो सम्बोधन गर्न तथा भूकम्पपीडितहरुको सूची संकलन गर्न आईटीको प्रयोग भएको क्यान नेपालका अध्यक्ष विनोद ढकालले बताए। इ नेपालमार्फत नयाँ नेपाल बनाउन आईटी पार्कको उद्देश्य पूरा गर्न जनप्रतिनिधिहरुले प्रशासनिक कार्यका लागि वैकिल्पक ब्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विश्वविद्यालयका रजिस्टार भोला थापाले गाउँलाई शहर, शहरलाई महानगर र बस्न योग्य सुन्दर शहर बनाउन आईटीको प्रयोग गरेर कसरी सरल र सहज जीवन बिताउन सकिन्छ भन्ने विषयमा कार्य शुरु गर्नुपर्ने बताए। विश्वविद्यालयभित्र स्मार्ट प्रयोग गर्न आईटीको प्रयोगलाई ब्यवहारमै जोड दिन लागिएको उनले बताए।

स्मार्ट सिटीका परिसूचकहरु के–के हुन् ? कुन नगरपालिकाले कुन क्षेत्रलाई स्मार्ट सिटीका रुपमा प्रयोग गर्नु भन्ने निक्र्याैल गरेर लाग्नुपर्ने रजिस्टार थापाले बताए। सहभागी मेयर, उपमेयरहरुले नगरभित्र गर्न सकिने काममा स्मार्ट सिटीका रूपमा विकास गर्न सक्रिय हुने प्रतिवद्धता ब्यक्त गरेका थिए। सोही कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका प्रमुख डा. मनीष पोखरेल र किशोर थापाले स्मार्ट सिटीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

सोहि कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. रामकण्ठ माकजु श्रेष्ठले आवश्यकता महशुस हुने र देखिने खालको शिक्षा हुनुपर्ने बताए। आईटी पार्क सञ्चालनमा आउन नसक्नुमा सोचहरु मात्रै नभई त्यसका लागि आवश्यक पर्ने जनशक्ति र नेपालमा जे गर्दा पनि हुन्छ भन्ने भान भएको माकजुले बताए। ‘हाम्रो लाज कट्टु र सुरुवालभित्र मात्रै होइन दिमागभित्र पनि हुनुपर्छ’– उनले भने– ‘नेपालमा आईटीको प्रयोगबाट हुने उपलब्धी र भएका उपलब्धीहरुलाई हेरेर आगामी दिनमा भावी पुस्ताहरुका लागि सशक्त गराउनुपर्छ।’
भूकम्प गएको दुई वर्ष नाघिसक्दासमेत पुनर्निर्माणले गति लिन सकेको छैन। पहिलो किस्ता प्राप्त गरेका भूकम्पपीडितहरुले अझै आवास निर्माण गरेका छैनन् भने केहिले घर निर्माण सम्पन्न गरिसक्दासमेत विभिन्न वाहनामा दोस्रो र तेस्रो किस्ता प्राप्त गरेका छैन। तेस्रो किस्ता प्राप्त गर्ने व्यक्तिहरुको संख्या १५ जना मात्रै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका काभ्रे प्रमुख धु्रव गैडाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्