पोखराका गायक थकाली एकल साँझमा



 

पोखरा, (नेस)। पोखराका पुराना लोकप्रिय लोकदोहोरी गायक वसन्त थकाली पहिलोपटक एकल साँझमा झुल्किने भएका छन्। तत्कालीन रत्न रेर्कडिङ संस्थानबाट पहिलो डिक्स रेकर्ड भएको पहिलो गीत घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छ र बोलको गीतबाट सांगीतिक यात्रामा आफूलाई अगाडि बढाएका थकालीले एकल साँझमा आफ्ना करिब एक दर्जन गीत सुनाउनेछन्।

वसन्त रुविना फाउन्डेसनको हालै बसेको पूर्ण बैठकले आगामी पुस महिनामा पोखरामा एकल साँझको आयोजन गर्ने निर्णय गरेको हो। कार्यक्रमलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नका लागि फाउन्डेसनका अध्यक्ष कृष्णप्रसाद सुवेदी मूल आयोजक समितिको संयोजक रहने गरी ५ सय १ सदस्यको आयोजक समिति निर्माण गर्ने निर्णयसमेत गरेको छ।

कार्यक्रममा संकलन भएको रकमबाट फाउन्डेसनमार्फत् संगीत एकेडेमी सञ्चालन गरी संगीततर्फ रुचि भएका, आर्थिक अभावबाट वञ्चित भएका असहाय बालबालिकालाई सहयोग गर्ने उद्देश्यअनुरूप फाउन्डेसनका संरक्षकसमेत रहेका वसन्त थकालीको एकल साँझ गर्न लागिएको फाउन्डेसनका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए।

एकल साँझमा रत्न रेर्कडिङ संस्थानबाट पहिलो डिक्स रेकर्ड भएको थकालीको पहिलो गीत घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छ रसँगै सुनौली भन्सार, झल्को उही दिनको, कमल फूल फुल्यो हिलैमा, मलाई मेरो तलबले मलाई पुगेन, पहिले माया लाइएन अहिले खोज्दा पाइएन, गाउँघरको झिल्के म त, जोमसोम माथिको ठिनीको गाउँ, अँझेरीमा जुन तारा, बाँचुञ्जेल जे छ हजुरलगायत दोहोरी, रोइला तथा झ्याउरे गीत प्रस्तुत हुने फाउन्डेसनका उपाध्यक्ष लोकदोहारी गायक जीवन दाहालले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्