सर्वाच्चसँग लिंक गराउँदै जिल्लामा ‘सीसी’ क्यामेरा



 

मोतीराम तिमल्सिना, काभ्रे
स्थानीय तहको निर्वाचन, त्यसकै सम्मुखमा न्यायाधीशको सरुवाका कारण मुद्दाहरूको फैसलाको लक्ष्यनजिक मात्रै पुग्न सकेको जिल्ला अदालत काभ्रेपलाञ्चोकले सेवाग्रहीको गुनासो कम गर्ने उद्देश्यले सीसी क्यामेरा सञ्चालनमा ल्याएको छ।

दर्ता भएका मुद्दामध्ये लक्ष्यभन्दा धेरै फैसला गरी अघिल्ला २ वर्ष नमुना अदालत बनेको काभ्रेपलाञ्चोकमा निर्वाचन र न्यायाधीशको संख्या कम भएकाले यो वर्ष केही प्रतिशत कम भएको हो। ७५ प्रतिशत लक्ष्य राखेको अदालतले मुद्दाको फैसला करिब ६० प्रतिशत गरेको छ। असारको अन्तिम समयमा अर्का न्यायाधीशसमेत जिल्लामा आए पनि फाँटको व्यवस्थापन हुन नसक्दा आर्थिक वर्ष २०७४⁄०७५ देखि मात्रै उनले काम शुरु गर्नेछन्। यसअघि न्यायाधीश मेदिनीप्रसाद पौड्याल, अवनी मैनाली भट्टराई कार्यरत रहेकोमा नयाँ श्यामसुन्दर अधिकारी जिल्लामा आएका छन्। आर्थिक वर्ष २०७३⁄०७४ मा सशस्त्र युद्धको बेला नेपाली सेनाले पक्राउ गरी बलात्कारपछि हत्या गरिएकी मैना सुनुवार प्रकरणको फैसला तथा जघन्य अपराध, सामूहिक बलात्कार जस्ता घटनामा फैसला गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकले चर्चा कमाएको थियो।

सोही क्रममा जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालत परिसरमा सीसी क्यामेरा जडान गरेको हो। न्यायालयभित्र अनियमितता हुन नदिन तथा न्यायका लागि प्रवेश गरेका सेवाग्रहीलाई शान्ति सुरक्षा प्रदान गर्ने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको अदालतले जानकारी दिएको छ। अस्पतालमा जडान गरिएको सीसी क्यामेराको रेकर्ड ४ महिनासम्म रहनेछ। २ एमपीआई थ्री क्यामेरका अदालतले १५ वटा राखेको छ। मुख्य गेटदेखि अदालतका सबै कार्यकक्षमा क्यामेरा प्रयोग गरिएको छ। इजलासमा न्यायाधीशहरूको अनुहार नदेखिने गरी राखिएको क्यामेराबाट कानुन व्यवसायीहरूले गरेको बहस, पक्ष विपक्षहरूले दिएको बयानका बारेमा समेत रेकर्ड रहनेछ। इजलासबाहेक स्रेस्तेदार कक्ष, तहसिल शाखा, फाँट, प्रशासनलगायतका सबै क्षेत्रमा सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइएको छ। अदालतमा जडान गरिएको सीसी क्यामेरा सर्वाेच्च अदालतमा समेत हेर्न सकिनेछ। सर्वाेच्च अदालतमा अपलिंक गरिएकाले काभ्रेका अदालतमा भएका सबै गतिविधि सर्वाेच्च अदालतमा समेत रेकर्ड रहने व्यवस्था गरिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन्। क्यामेराको रेकर्डका लागि स्रेस्तेदार कक्ष, आईटी कक्ष र मुख्य न्यायाधीशको कार्यकक्षमा ४३ इन्चको मनिटरको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्