सडकमा भेटियो दुर्लभ सालक



 

नेपाल समाचारपत्र
हेटौंडा
संरक्षित जीव सालक हेटौंडा–२, सिद्धार्थपथमा भेटिएको छ। मानवबस्तीमा सोमबार राति करिब ८ बजे स्थानीय कृपाल मरहठ्ठाले घरछेउमा फेला पारेको सालक घरमा सुरक्षितसाथ राखेर मंगलबार जिल्ला वन कार्यालयको जिम्मा लगाएका हुन्।

उक्त सालक निकै सानो भएकोले जिल्ला वन कार्यालयमा केही दिन संरक्षित गरी संरक्षणका लागि वन समूहलाई हस्तान्तरण गरिने जिल्ला वन अधिकृत विशाल भट्टराईले बताए।

हेटौंडा–६ मा रहेको रानी बनले देशमा पहिलोपटक २०६३ सालमा सालक संरक्षण शुरु गरेको छ। बनले आफ्नो क्षेत्रको करिब २० हेक्टर क्षेत्र नेपालको दुर्लभ वन्यजन्तु सालकका लागि छुट्याएको छ।
वन क्षेत्रका ७ वटा ब्लकमध्ये दुई वटा ब्लक सालक संरक्षणका लागि छुट्याएर वन्यजन्तु संरक्षणमा उत्कृष्ट योगदान पुर्याएको रानीले वन्यजन्तु संरक्षण प्रथम पुरस्कार प्राप्त गरेको छ। सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार २०५७ प्राप्त गर्न सफल उक्त समूहमा संरक्षित सालक हेर्न र यसबारे अध्ययन⁄अवलोकन गर्न देशभरका समूह हेटौंडा आइसकेका छन्।

बनको ब्लक नम्बर–१ र ३ लाई सालक संरक्षित क्षेत्र बनाएर लोपोन्मुख एव संरक्षित सूचीमा रहेको सालकलाई समूहले संरक्षण गर्न थालेको हो। सालक जोगाउन सालकको आहारा कमिला र धमिराको गोलो संरक्षणमा स्थानीय उपभोक्ता जुटेका छन्।

रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन, हेटौंडा–७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन, हेटौंडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन र हेटौंडा–२० राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहमा सालक संरक्षणका लागि चेतनामूलक होर्डिङबोर्ड राखिएका छन्।

बोर्डमा सालकको महत्त्व, यसको अवस्था, संरक्षण, आहार, चोरी शिकार नियन्त्रण, कानुनी प्रावधानलगायत बारे जानकारी दिइएको छ। विश्वमा दुर्लभ एवं संरक्षित सूचीमा रहेको सालक मकवानपुरका विभिन्न सामुदायिक वनमा पाइने भएकाले यसको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्