फ्रान्समा मारिएका यहुदीको स्मरणमा नेतान्याहु पेरिसमा



 

पेरिस, (एजेन्सी)
सन् १९४२ मा नाजीको कब्जामा गएको फ्रान्समा यहुदीहरूलाई सामूहिक गिरफ्तारीको स्मरणमा आयोजित एक समारोहमा भाग लिन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पेरिस पुगेका छन्।

त्यसबेला १३ हजारभन्दा धेरै यहुदीलाई घेराबन्दी गर्दै वेलोड्रोम डिभायर स्टेडियममा राखिएको थियो। त्यसपछि उनीहरूलाई नाजीहरूको यातना शिविरमा लगिएको थियो।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग नेतान्याहुको यो पहिलो भेटवार्ता हो। वेलोड्रोम डिभायरमा आयोजित उक्त समारोहमा भाग लिने उनी पहिलो इजरायली प्रधानमन्त्री
पनि हुन्। पेरिसमा आयोजित उक्त कार्यक्रममा उनले भने– ‘म यहाँ नरसंहारमा ज्यान गुमाउनेहरूका लागि शोक प्रकट गर्न आएको हुँ।’

समारोहमा उनलाई सुन्न आउनेहरूमा यहुदी समुदाय र नरसंहारमा जीवित बच्न सफल व्यक्तिहरू थिए। उनले भने– ‘७५ वर्ष पहिले त यो शहरमा गहिरो अन्धकार छाएको थियो। फ्रान्सिसी क्रान्तिको मूल्य समानता, भाइचारा, स्वतन्त्रतालाई स्वतन्त्रता विरोधी शक्तिले आफ्नो जुत्तामुनि कुल्चेको हो कि भन्ने लाग्न थालेको थियो।’

उनले नाजी कब्जाका क्रममा फ्रान्समा यहुदीहरूलाई बचाउनका लागि आफ्नो ज्यान जोखिममा पारेका र आधुनिक समाजमा टाउको उठाएका ‘पृथकतावादी शक्ति’लाई चेतावनी दिएका ती ‘महान् तथा महानतम व्यक्तिहरू’को स्मरण गरे।
सन् १९४२ जुलाई १६ र १७ मा फ्रान्सका प्रहरीले १३ हजारभन्दा धेरै यहुदीलाई पक्राउ गरेका थिए। पक्राउ परेकामा करिब ४ हजार बच्चा थिए।

ती परिवारलाई आइफल टावरनजिकको वेलोड्रोम डिभायर साइक्लिङ स्टेडियम र राजधानीबाहिरको एउटा नजरबन्दी शिविरमा राखिएको थियो। त्यसपछि यिनीहरूमध्ये धेरैलाई रेलबाट आस्वित्ज यातना शिविरमा लगिएको थियो। यो यात्रापछि उनीहरूमध्ये १ सयभन्दा कममात्र बच्न सफल भएका थिए।

फ्रान्स यो घटनालाई लिएर सधैं विवादमा रहेको छ। म्याक्रोंको प्रत्यासी भएर चुनाव लडेका दक्षिण पन्थी नेता मेरी ल पेनले अप्रिल ९ मा उक्त त्रासदीका लागि फ्रान्स जिम्मेवार नभएको बताएकी थिइन्।

तर शनिबार आयोजित उक्त कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले फ्रान्सले नै उक्त सामूहिक गिरफ्तारी गरेको र कैदीहरूलाई अर्को स्थानमा लगेको स्वीकार गरे। सोही क्रममा १३ हजार १ सय ५२ यहुदीको मृत्यु भएको थियो।
उनले भने– ‘यसमा एकजना पनि जर्मन नागरिक संलग्न थिएनन्।’ उक्त कार्यक्रमपछि नेतान्याहु र म्याक्रों प्रत्यक्ष वार्ताका लागि भेटेका थिए। उनीहरूले सुरक्षा र कट्टरपन्थीविरुद्धको लडाइँजस्ता मुद्दामा चर्चा गरेका थिए।

यसअघि नेतान्याहु सन् २०१५ जनवरीमा फ्रान्स आएका थिए। उनी व्यङ्ग्य पत्रिका सार्ली हेब्डो, प्रहरी अधिकारी र कोसर सुपरमार्केटमा भएको हमलालाई लिएर आयोजित एकता मार्चमा सहभागी भएका थिए।

आइतबार नेतान्याहुले दुई देशबीच अधिक सहयोग हेर्न चाहेको बताउँदै इरानी शासनका बारेमा चिन्ता व्यक्त गरे। एक संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोंले आफूलाई पश्चिमी देश र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौताका बारेमा जानकारी भएको र त्यसप्रति आफू सतर्क रहेको आश्वासन दिए।

म्याक्रोंले इजरायल र प्यालेस्टिनी क्षेत्रबीच शान्तिवार्ता बहाल गर्न अपिल गर्दै फ्रान्सले ‘दुई राष्ट्र सिद्धान्त’को समर्थन गरेको र प्यालिस्टिनीको अधीनस्थ इलाकामा इजरायल आवास निर्माणको विरोध रहेको बताए।

राष्ट्रपति म्याक्रोंले यो महिनाको शुरुवातमा पेरिसमा प्यालेस्टिनी नेता महमुद अब्बाससँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्