उकुषाले चुमिन् मिस एसिया नेपालको ताज श्रीलंकाको स्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै



 

राजधानीमा शनिबार सम्पन्न सौन्दर्य प्रतियोगितामा बानेश्वर भीमसेनगोलाकी १८ वर्षीया मोडल उकुषा गिरीले मिस एसिया नेपाल २०१७ को ताज चुमेकी छिन्। विभिन्न टीभीसीमा काम गरी मोडलका रूपमा स्थापित भइसकेकी उकुषाले मुख्य उपाधि जित्ने दर्शकदीर्घाबाटै अनुमान आइसकेको थियो। दर्शक अनुमानअनुसार नै मिस एसिया नेपाल २०१७ मा उनकै नाम घोषणा भयो। आफ्नो नाम मिस एसिया नेपाल २०१७ विजेताका रूपमा घोषणा भएपछि उकुषाले आफ्नो आँखाबाट आँसु सम्हाल्न सकिनन्। उनका हर्षासु यसअघि मिस एसिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गरिसकेकी सुप्रभा कुँवरले ताज पहिराइदिँदासम्म पनि कायमै थियो।


विभिन्न उत्पादनका साथमा र्याम्प मोडलिङसमेत गर्दै आएकी उकुषाले मिस एसिया नेपाल २०१७ को ताज जितेबापत आगामी असोज महिनामा श्रीलंकामा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्। उनलाई उपाधिबापत नगद ५० हजार रुपियाँका साथमा विभिन्न म्युजिक तथा टीभीसी भिडियोमा खेल्ने अवसर प्रदान गरिने आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरनेसनलले जनाएको छ। उकुषाले मिस एसिया नेपाल २०१७ का साथ मिस पर्सनालिटीको उपउपाधिलाई पनि चुमेकी छिन्। मिडिया पर्सनालिटी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल नीलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, व्यवसायी तथा कलाकार रचिता क्षत्री र पूर्व मिस अरोमा चितवन इशा प्रधानले विभिन्न चार राउन्डमा प्रतियोगीहरुको प्रस्तुतिको मूल्यांकन गर्दै मुख्य विजेताका रूपमा उकुषा गिरीको नाम घोषणा गरेका थिए।

प्रतियोगितामा काभ्रेपलाञ्चोककी मेडिकल विद्यार्थी परीक्षा विष्ट फस्ट रनर्सअप भइन् भने जानकी श्रेष्ठ मिस पपुलर र मिस बेस्ट ड्रेससहित सेकेन्ड रनर्सअप भइन्। त्यसै गरी नेहा विष्ट मिस बब्ली र चार्मिङ, सुष्मा ठकुरी मिस ट्यालेन्ट, सुमी भट्टराई बेस्ट वाल्क र कृषा श्रेष्ठ मिस कन्फिडेन्ट भए। आयोजकका अनुसार विजेता र फस्ट तथा सेकेन्ड रनर्सअप १ वर्षसम्म आयोजक नेक्स्ट इभेन्ट इन्टरनेसनल तथा फ्रेन्ड्स इनिसेटिभको गुडविल एम्बेस्डर रहनेछन् भने सम्पूर्ण उपउपाधि विजेता तथा प्रतियोगीहरुलाई विभिन्न अवसर प्रदान गरिनेछ।

मिस एसिया नेपाल २०१७ का लागि प्रतियोगीहरुलाई एक महिनासम्म वाक, बोलीचाली, सौन्दर्यलगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो। प्रतियोगिताका लागि सोनी खड्का र टेलिभिजन कार्यक्रम प्रस्तोता प्रिया रानी लामाले कोरियोग्राफी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्