महानगरको १५ नारा , अधिकांश महत्त्वाकांक्षी, कार्यान्वयनमा आशंका



 

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १५ वटा नारा समावेश गरेको छ। नाराले भरिएको योजनामा कार्यान्वयनमा त्यत्तिकै चुनौती देखिएको छ। असार ३० गते सम्पन्न पहिलो नगरसभामा सार्वजनिक गरिएका नारामा अधिकांश महत्त्वाकांक्षी छन्।

योजना कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएका मेयर विद्यासुन्दर शाक्यले केही कार्यान्वयनको तहमा गइसकेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘जनताको मत जितेर आएका जनप्रतिनिधिले सार्वजनिक गरेको योजना लागू गरेरै छाड्नेछौं।’

कामपाले ‘सम्वृद्ध, सुरक्षित र जीवन्त शहर स्वच्छ र सुन्दर काठमाडौं महानगर’ नारालाई प्राथमिकता दिएको छ। ‘सामाजिक विकास तथा समाज कल्याण हाम्रो दायित्व’, सक्षम युवा, उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी, जनउपयोगी शिक्षासमक्ष नागरिक, स्वस्थ नागरिक स्वस्थ महानगर, स्थानीय सरकार पूर्वाधार विकासको आधारजस्ता मीठा नारा तय गरिएको छ।

‘हामीले तय गरेको नारालाई साकार पारेरै अघि बढाउनेछौं’ –मेयर शाक्यले भन्नुभयो। ‘महानगरले तय गरेको योजनाको आधारमा ५ देखि २० वर्षे विकास योजना तय गर्नेछौं। त्यसपछि विस्तारै कार्यान्वयनको पाटोमा अघि बढाउनेछौं’ –उहाँको भनाइ थियो।

‘हामी २० वर्षसम्मको योजनालाई थ्रीडी बनाएर सार्वजनिक गर्नेछौं। कस्तो घर बनाउने, राजधानीलाई हरियाली बनाउन के गर्ने, अबको २० वर्षपछि कस्तो महानगर बनाउनेलगायतका विषय समेटेर थ्रीडी तयार गर्नेछौं। योजनालाई योजनामा मात्रै सीमित नराखी साँच्चीकै कार्यान्वयनमा जानेछौं’ –मेयर शाक्यको भनाइ थियो। बृहत्तर योजनाअनुसार ५ वर्षे आवधिक योजना तय गर्ने तयारी कामपाले गरेको छ।

योजनामा छनोट गरिएका नारालाई कार्यान्वयन गर्न तत्काल र दीर्घकालीनरूपमा काम अघि बढाउने महानगरको सोच रहेको छ।

नीति तथा कार्यक्रममा समावेश गरेका योजनामा ‘हाम्रो आवास, मौलिक र सुरक्षित आवास’, ‘हाम्रो काठमाडौं, उज्यालो काठमाडौं’, ‘सहज, सुलभ र व्यवस्थित शहरी यातायात’, ‘हाम्रो मातृभाषा, हाम्रो गौरव’, ‘हाम्रो संस्कृति र सम्पदा, पर्यटकका लागि चिनारी रहन्छ सदा–सदा’, ‘सफल महानगरका लागि सुशासन’, ‘सूचना तथा सञ्चार सुसूचित हुन पाउनु हाम्रो अधिकार’, ‘स्वस्थ वातावरणसहितको सुन्दर महानगर’, ‘सुरक्षा र विपत् व्यवस्थापन आजको आवश्यकता’, ‘सक्षम न्याय प्रणाली र कानुनी व्यवस्था’ नारा तय गरिएको छ।

योजनामा भएका नारालाई कार्यान्वयन गर्न महानगर तयार रहेको बताउँदै मेयर शाक्यले भन्नुभयो– ‘योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजानेछौं।’ योजनामा स्मार्ट ट्वाइलेट, सफा टोल अभियान, अत्याधुनिक सूचना केन्द्र स्थापना, नदी निकास क्षेत्रमा वृक्षरोपण, प्रत्येक वडामा फायर हाइड्रेन्ट स्थापना, विष्णुमती, वागमती र धोबीखोलामा सम्पदा मार्ग निर्माण, आफ्नै स्रोतसाधन र नेपाली जनताको सहयोगमा काष्ठमण्डप निर्माण गर्ने, हाल सञ्चालनमा रहेका पेट्रोल पम्पलाई स्मार्ट पेट्रोल पम्पमा परिवर्तन गर्ने, स्मार्ट पार्किङ निर्माण गर्ने, ठमेललाई पैदल क्षेत्रका रूपमा विकास गर्ने, विभिन्न ठाउँमा स्मार्ट भर्टिकल कार पार्किङ निर्माण गर्ने, साइकल सिटी बनाउने, बस र्यापिङ ट्रन्जिट, मेनोरेल, सिटी केबल कार, ट्राम्प र मेट्रोजस्ता विभिन्न प्रकारको विकल्पहरूको अध्ययन गरी बृहत्तर शहरी यातायात योजना निर्माण गर्नेलगायतका योजना रहेका छन्।

‘हामीले घोषणा गरेको योजनालाई कार्यान्वयन गर्दै लैजानेछौं, पहिलो चरणमा बाटाको खाल्डाखुल्डी पुर्नेछौं, फोहोर व्यवस्थापन, हरियाली प्रवद्र्धन, महानगरको सुशासन कायम राख्न विभिन्न कामको थालनी गर्नेछौं’ –मेयर शाक्यको भनाइ थियो। सबै सरोकारवाला निकायसँगको सहकार्यमा सबै योजना कार्यान्वयनलाई सँगै अघि बढाउने उहाँको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्