तत्काल समिति गठन गर्न एमालेको माग



 

काठमाडौं, (नेस)
नेकपा एमालेले जिल्ला समन्वय समिति गठनका लागि अविलम्ब पहल गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठनमा अन्योल र ढिलाइ रहेको भन्दै एमालेले आयोगको ध्यानाकर्षण गराएको हो। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन आयोग पुगेको टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितका आयुक्तलाई भेटेर जिल्ला समन्वय समिति गठनका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको हो।

एमालेले निर्वाचन सम्पन्न भएका ६७ मध्ये ३१ जिल्लामा बहुमत ल्याएर एकल जिल्ला समन्वय समिति गठन गर्ने हैसियत बनाएको छ। तर, अहिलेसम्म जिल्ला समन्वय समिति गठन नभएकोमा एमाले असन्तुष्ट बनेको हो।

एमाले टोलीले २०७४ माघ ७ भित्र तीनवटै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वबाट सत्तापक्ष भाग्न खोजेको भन्दै सरकारलाई दबाब दिन निर्वाचन आयोगलाई आग्रहसमेत गरेको छ। आयोग पदाधिकारीसँगको भेटपछि नेम्वाङले सत्तापक्ष चुनावबाट भाग्ने आशंका रहेको बताउनुभयो।

‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छैन। २४० क्षेत्रका कुरा गरेर चुनावबाट भाग्न खोजेकाले आयोगले सरकारलाई दबाब दिनुपर्छ’ –उहाँले भन्नुभयो।

भेटमा एमालेले मतदाता नामावली संकलन सकेसम्म जनतालाई सहज हुने गरी व्यवस्था गर्न समेत आग्रह गरेको नेम्वाङले बताउनुभयो। उहाँले काठमाडौंमा बसोबास गरिरहेकाहरूले निर्वाचन आयोगमै फोटो खिचाएर सम्बन्धित ठाउँमा नामावली पठाउने व्यवस्था गर्न सकिने बताउनुभयो।

एमालेले विदेशमा रहेका नेपालीले दूतावासमा गएर फोटोसहितको मतदाता नामावली भर्ने र त्यो लगत सम्बन्धित गाउँमा पुग्ने गरी व्यवस्था गर्न समेत माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्