भोजभतेरको खर्चले विद्यालयमा अक्षयकोष



 

अनिल खत्री, गुल्मी
चुनावपछि जितेका जनप्रतिनिधिहरू अझै भोजभतेरमै अड्किएका छन्। तर केही त्यस्ता जनप्रतिनिधि छन्। जसले फजुल खर्चलाई समाजसेवामा लगाएर जनतामाझ लोकप्रिय बन्दै छन्। रेसुंगा नगरपालिका–७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे भोजभतेरमा गरिने अनावश्यक खर्चलाई विद्यालयको अक्षयकोषमा राख्ने निर्णय गरेका छन्।

उक्त वडाभित्रका तीनवटा प्राविलाई पाण्डेयले १५⁄१५ हजारका दरले सहयोग गरेका छन्। सोमबार एक कार्यक्रमका बीच २०४१ सालमा स्थापना भएको नवज्योति प्रावि नेटा, २०३९ सालमा स्थापना भएको अर्जुन प्रावि कुडापानी र २०४७ सालमा स्थापना भएको सृजना प्रावि भुजेलखर्कलाई उनले सहयोग गरेका हुन्। सदरमुकाम नजिकै रहे पनि ती विद्यालयहरू बत्तीमुनिको अँध्यारो जस्तै भइरहेका छन्।

जुन विद्यालयहरूमा गरिब र विपन्न परिवारका थुप्रै विद्यार्थीहरूले पठनपाठन गर्ने गर्दछन्। लामो समयसम्म पनि स्तरवद्धि भइरहेको छैन। ‘पहिलेबाटै विद्यालय र विद्यार्थीका समस्यासँग नजिक थिएँ’, पाण्डेले भने– ‘यो व्यक्तिगत सानो सहयोग हो, जनप्रतिनिधिको हिसाबले धेरै गर्नेछु।’ उनले आगामी दिनमा त्यस्ता गरिब तथा जेहेनदार विद्यार्थी र विद्यालयको उन्नति र प्रगतिका लागि सबै निकाय र सरोकारवालासँग योजनाबद्ध रूपमा लाग्ने बताए।

उनले ती विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिब तथा जेहेनदार छात्रवृत्ति अक्ष्यकोष’ नै निर्माण गरेका छन्। कोषलाई बढाउँदै लैजाने र त्यसको ब्याजबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिने पाण्डेले बताए। कुनै सरकारी सुविधा नखाने बताएका उनले केही समय अगाडि आफूले पाएको सरकारी भत्तासमेत कृषकलाई प्रदान गरेका थिए।

अक्षयकोषको चेक बुझ्दै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मूल्यभन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताए। त्यस्तै सृजना प्रावि भुजेलखर्कका शिक्षक चन्द्र चुँदराले यो सहयोग दलित समुदायका बालबालिकाको हित र भविष्यका लागि एउटा इँटा बन्ने अपेक्षा व्यक्त गरे। वडाध्यक्ष पाण्डेयसहित सबै जनप्रतिनिधिलाई नवज्योति प्राविमा स्वागत तथा अभिनन्दन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्