पूर्वी रुकुमलाई नयाँ जिल्ला बनाउन पहल



 

नरेन्द्र केसी, दाङ
प्रदेश नम्बर ५ मा परेको पूर्वी रुकुमलाई नयाँ जिल्ला बनाउन जनप्रतिनिधिहरूले पहल थालेका छन्। पूर्वी रुकुमलाई नयाँ जिल्ला नबनाउँदा जिल्ला समन्वय समिति गठन गर्न समस्या हुने भन्दै उनीहरूले जिल्ला समन्वय समिति गठन हुनुअघि नै पूर्वी रुकुमलाई नयाँ जिल्लाको मान्यता दिन सरकार र सबै दलका शीर्ष नेताहरूलाई आग्रह गर्ने पहल थालेका छन्।

संविधानले पश्चिम रुकुमलाई प्रदेश नम्बर ६ र पूर्वी रुकुमलाई प्रदेश नम्बर ५ मा राखेको छ। निर्वाचन आयोगले पनि सोहीअनुसार पश्चिम रुकुमका ६ स्थानीय तहमा वैशाख ३१ गते र पूर्वी रुकुमका ३ स्थानीय तहमा जेठ १४ गते निर्वाचन गराएको थियो। संविधानले प्रस्टरूपमा एउटै जिल्लालाई दुई प्रदेशमा राखे पनि नयाँ जिल्लाबारे अन्योल रहेको भन्दै भर्खरै निर्वाचित जनप्रतिनिधिहरूले राजधानीमा पुगेर नयाँ जिल्लाका लागि पहल थालेका छन्।
उनीहरूले आइतबार केन्द्रमा प्रतिनिधित्व गर्ने जिल्लाका नेताहरूसँग छलफल गरेका छन्। ‘जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरू राजधानीमा पुगेर छलफल थाल्नुभएको छ’, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज तेजबहादुर ओली ‘प्रतिक’ ले भन्नुभयो– ‘अब चरणबद्धरूपमा सरकार र शीर्ष नेताहरूसँग नयाँ जिल्लाको विषयमा छलफmल गर्ने कुरा भएको छ।’ राजधानी पुगेका पूर्वी रुकुमका जनप्रतिनिधिले सोमबार स्थानीय तह सञ्चालनसम्बन्धी अर्थविद्हरूसँग छलफल गर्दै छन्। यो कार्यक्रम सकिएपछि नयाँ जिल्लाका लागि अभियान अघि बढ्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो।

राजधानी पुगेका जनप्रतिनिधिहरूले आइतबार गृहमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री गणेशमान पुन, माओवादी केन्द्रका सचिवालय सदस्य पूर्ण घर्ती, नेता कमला रोका, तेजबहादुर ओलीलगायतसँग छलफल गरेका छन्। सीमांकनका क्रममा फरकफरक प्रदेशमा परेका दुई जिल्लामध्ये नवलपरासीको नवलपुर क्षेत्रले यसअघि फरक जिल्लाको माग गरेको थियो भने पूर्वी रुकुमले पनि औपचारिकरूपमा नयाँ जिल्ला निर्माणको पहल थालेको छ। उनीहरूका मागअनुसार नयाँ जिल्ला भएमा मुलुकमा ७७ वटा जिल्ला हुनेछन्।

पूर्वी रुकुमलाई नयाँ जिल्ला बनाउन भूगोल र जनसंख्या दुवै हिसाबले पुग्ने पूर्वी रुकुमका स्थानीयबासीसमेत रहेका माओवादी केन्द्रका इन्चार्ज ओलीले बताउनुभयो। ‘अहिलेसम्म घोषणा नगरिएको मात्र हो, त्यसै पनि पूर्वी रुकुम हिमाली क्षेत्र हो’, उहाँले भन्नुभयो– ‘यसलाई हिमाली क्षेत्र घोषणा गर्नेबित्तिकै पूर्वी रुकुम मनाङ मुस्ताङभन्दा ठूलो जिल्ला हुनेछ।’ रुकुमको नामकरण गरिएको रुकुमकोट, कमल दह, जिल्लाको पहिचान बनेको सिस्ने हिमाल, डोरपाटन शिकार आरक्ष आदि प्रदेश नम्बर ५ अन्तर्गत पूर्वी रुकुममै पर्दछन्। ५ नम्बर प्रदेशमा राखिएकाले पूर्वी नयाँ जिल्ला नबने रोल्पामा मिसिनुपर्ने बाध्यता छ। त्यसो गर्दा मनोवैज्ञानिक र सामाजिकरूपमा पनि राम्रो नहुने भन्दै पूर्वी रुकुमका जनप्रतिनिधिले नयाँ जिल्लाका लागि पहल थालेको भूमे गाउँपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्