नाम दर्ताका लागि निर्वाचन कार्यालयमा मतदाताको भीड



 

कृष्णउदास खनाल, वीरगन्ज
निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचनका लागि भन्दै मतदाता नामावली संकलन कार्य एकपटकका लागि भन्दै आह्वान गरेपछि पर्सास्थित जिल्ला निर्वाचनको कार्यालयमा मतदाताको भीड लागेको छ।

निर्वाचन आयोगले आइतबारदेखि फोटोसहितको मतदाता नामावली संकलन शुरू गरेपछि पर्साका स्थानीयको नाम दर्ताका लागि आकर्षण बढेको हो। पर्सामा नाम छुटेका मतदाताको नामावली दर्ता गराउनेको चाप बढेको छ। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले साउन १५ गतेसम्म मतदाता नामावली संकलन अभियान शुरू गरेकाले नाम छुटेकाहरू नामावली दर्ता गराउन गाउँगाउँबाट वीरगन्ज आइरहेका हुन्। खास गरी १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगानालगायत विवरण फरक परेकाहरूलाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न जिल्ला निर्वाचन प्रमुख अधिकृत हुमनाथ पराजुलीले आग्रह गरे।

जिल्ला निर्वाचन कार्यालय वीरगन्ज र जिल्ला प्रशासन कार्यालय दुई ठाउँमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय, पर्साका प्रमुख हुमनाथ पराजुलीले बताए। जिल्ला प्रशासन कार्यालय पर्सामा उल्लेख्य संख्यामा सेवाग्राहीको भीड लागेको छ। तर विगतजस्तै यसपालि पनि मतदाता नामावली टोलीले गाविसमा नगएर जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा मतदाताहरूले नाम दर्ता गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन्।

पर्सा, हरिहरपुर बिर्ताबाट पत्नीको नाम मतदाता नामावलीमा दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय आएका रमेश पटेलले भीडभाड तथा प्रचण्ड गर्मीमा वीरगन्ज आएर नाम दर्ता गराउन समस्या भएको बताए। जिल्ला निर्वाचन कार्यालय, पर्साका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले पर्सामा करिब २ लाख मतदाता नामावली छुटेको बताए। जम्मा जनसंख्या साढे ६ लाख रहेकोमा हाल २ लाख ८२ हजार मतदाता नामावली रहेको र १८ वर्ष पूरा गरेका करिब २ लाखको हाराहारीमा मतदाता बाँकी रहेकाले धेरैभन्दा धेरै मतदाता नामावली संकलन गर्ने कार्यालयको योजना रहेको बताए। पर्सामा भने प्रदेशसभासहित प्रतिनिधि सभा र असोजमा हुने स्थानीय तहको निर्वाचनमा समेत सहभागी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्