अनिल बोगटी

नेपालमा गर्भवती र नवजात शिशुको स्वास्थ्यको सन्दर्भमा पछिल्ला वर्षहरूमा प्रगति हुँदै गएको छ। यसै सन्दर्भमा महिला स्वास्थ्य स्वयंसेविकाले नियमितरूपमा पुर्याएको योगदानलाई यस्तो प्रगतिमा महत्त्वपूर्ण अंगको रूपमा लिइन्छ। त्यसैले महिला स्वास्थ्य स्वयंसेविका बन्न स्थानीय महिला र किशोरीहरू उत्साहित छन्। पहुँच नपुगेका र पीछडिएका समुदायका महिला र किशोरीहरू महिला स्वास्थ्य सेविकाको भूमिका निर्वाह गरिरहेका छन्।

उनीहरूमध्ये एक हुन्, धनुषाको सीमावर्ती तुलसीयाही गाविस–६ की २५ वर्षीया पिन्की महरा। उनी यति बेला महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरिरहेकी छिन्। दलित समुदायको बाहुल्यता रहेको उक्त वडामा पिन्की गर्भवती महिला र सुत्केरीहरूलाई स्वास्थ्य शिक्षा दिन पाउँदा निकै खुसी देखिन्छिन्। दलित समुदायकी उनी गर्भवती तथा सुत्केरी भएका आमाहरूले ध्यान दिनुपर्ने कुरा, उनीहरूका लागि आवश्यक पोषण, सुरक्षित मातृत्व, खोप, परिवार नियोजन, खतराको अवस्था र जन्मतयारी, सुत्केरी आमा र नवशिशु स्याहार सम्बन्धी जानकारी प्रत्येक महिना दिने जस्ता काममा व्यस्त छिन्। उनी भन्छिन्– ‘मेरो दुई वटा बच्चा हुँदा केही जानकारी थिएन, अहिले टोल छिमेकका महिलालाई सुरक्षित मातृत्वबारे शिक्षा दिई सेवा लिन प्रोत्साहन गर्दै आमा र नवजात शिशुलाई मृत्युको मुखबाट जोगाई सहयोग गर्न पाउँदा खुसी लागेको छ।’ शुरुमा उनलाई आफू दलित समुदायको महिला भएकाले स्वास्थ्य सेवाबारे टोल छिमेकले छुवाछुत वा जातीय भेद्भाव हुने चिन्ता थियो। तर, ग्रामीण मातृ स्वास्थ्य परियोजना लागू भएपश्चात् स्वास्थ्य आमा समूहले गर्भवती महिला समूह गठन गरी सर्वसम्मतरूपमा महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी दिएपछि उनमा समुदायका गर्भवती र सुत्केरीलाई शिक्षा दिने उत्साह झन् बढेको छ।

समूहमा आबद्ध सुकदेवी साह भन्छिन्– ‘गाउँ–घरकी बुहारीले हामीलाई स्वास्थ्य सेवाबारे जानकारी दिने भएपछि खुसी भयौं, छुवाछुत वा भेद्भावको भावना हामीमा छैन।’ गर्भवती महिला समूहमा आबद्ध मन्टुट साह भन्छिन्– ‘हामीलाई सुरक्षितरूपमा बच्चा जन्माउन अस्पताल जानुपर्छ भन्नेसमेत थाहा थिएन, अहिले महिला स्वास्थ्य स्वयंसेविकाले धेरै कुरा सिकाउनुभएको छ र हामीले त्यसलाई उपयोग गर्ने मौका पाएका छौं।’

प्लान इन्टरनेसनल नेपाल र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा यूएस एडको अनुदानमा धनुषासहित तराई र पहाड गरी १५ जिल्लामा मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउन सहयोग गर्नका लागि स्वास्थ्य आमा समूहको उपसमूह गर्भवती महिला समूह गठन गरी मासिकरूपमा स्वास्थ्य शिक्षा दिने कार्य भइरहेको छ। यसै क्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई तालिमसहित सामग्री पनि उपलब्ध गराइएको छ।

सङ्खुवासभा, धनकुटा, सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, मकवानपुर, नवलपरासी र रूपन्देहीका गरी विकासको सूचकको हिसाबमा पछाडि परेका ३ सय ३५ गाविसहरूमा यो परियोजना सञ्चालन भएका छन्।

आफू सुत्केरी हँुदाको बखत सुरक्षित मातृत्वबारे थाहा नपाएका महिलासमेत अहिले स्वास्थ्य स्वयंसेविका भएर काम गरिरहेका छन्। धनुषाकै भुचक्रपुर गाविसकी सन्जिला महतो ग्रामीण भेगमा महिला स्वास्थ्य सेविकाको रूपमा काम गर्दा आफूलाई गर्व लाग्ने गरेको बताउँछिन्। स्थानीय स्वास्थ्य चौकीका अहेव प्रमोद महतोका अनुसार महिला स्वास्थ्य स्वयंबाट सुरक्षित मातृत्वबारे जानकारी पाएपछि गर्भवती महिलाहरू अस्पताल जानेक्रम बढेको छ। घरमै प्रसूति गराउँदा समस्या हुने र कतिपय घटनामा गर्भवती महिलाको ज्यानै जान सक्ने जोखिमबारे थाहा पाएपछि उनीहरू सदरमुकामस्थित अस्पतालहरूमा जान थालेको महतोको अनुभव छ।

महिला स्वास्थ्य स्वयंसेविकाको कारण शिशु मृत्युदर, मातृ मृत्युदर, बाल मृत्युदर घटाउन तथा नवजात शिशुको जन्मदर्तालगायतको अभियानमा सहयोग पुगेको छ। नेपाल जनसंख्या तथा स्वास्थ्य सर्भेक्षण (एनडीएचएस) को पछिल्लो तथ्यांकअनुसार, ५ वर्षअघि १ हजार जीवित जन्ममा ५ वर्षमुनिका ५४ बालबालिकाको मृत्यु हुने गरेकोमा सुधार भई ३९ माझरेको छ। सर्भेक्षणका अनुसार २८ दिनभित्रका शिशुको मृत्युदर घटेको छ। ५ वर्षअघि प्रति १ हजार जीवित जन्ममा ३३ रहेको नवजात शिशु मृत्युदर २१ मा पुगेको छ। सर्भेक्षणले गर्भवती महिलाको जाँचमा समेत वृद्धि भएको देखाएको छ। त्यस्तै, ५८ प्रतिशत रहेको गर्भवती जाँच ८४ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ। ३५ प्रतिशत मात्र महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदै आएकोमा हाल ५७ प्रतिशत पुगेको छ। सर्भेक्षणले दक्ष प्रसूतिकर्मीबाट घरमै सुत्केरी गराउनेको प्रतिशतसमेत वृद्धि भएको छ।
(लेखक प्लान इन्टरनेसनल नेपालमा आबद्ध हुनुहुन्छ।)

LEAVE A REPLY