विद्युत्को पाइप फुटेर चार घरमा क्षति,घरका परिवार विस्थापित



चौतारा, २ साउन । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ मामिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घरमा क्षति हँुदा चारघरका परिवार विस्थापित भएका छन् ।

लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति हुनुका साथै २९ खसी बाख्रा र १३० वटा कुखुरा बगाएको बाह्रबिसे इलाका प्रहरी कार्यालयले जनाएकोे छ ।

बाढीले चिनी तामाङको घर क्षतीग्रस्त भई २५ खसी बाख्रा र १०० वटा कुखुरा बगाएको छ भने पासाङ नुर्बु शेर्पा, नुर्बु तामाङ र मनिषा तामाङको घरमा पानी पसेकोले उनीहरु अन्यत्र सुरक्षित ठाउँमा बसेको प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो ।

बाढीले पासाङको– ५ वटा कुखुरा र मनिषाको चार बाख्रा तथा अन्य २५ वटा कुखुरा समेत बगाएको छ । शनिबार राति परेको अबिरल वर्षा पछि छ््यादी खोलामा आएको बाढीले आयोजनाको डेढमिटर गोलाइको ७० मिटर पाइप समेत बगाएकोले विद्युत् उत्पादन समेत बन्द भएको छ ।

बाढीका कारण अरनिको राजमार्गको १०० किमिमा पर्ने चाकु बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पूरै अवरुद्ध भएकाले हिउँद नलागी पुनःनिर्माण हुननसक्ने आयोजनाका प्रबन्द निर्देशक समन मानन्धरले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्