यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, कप्तान सन्दीपको ५ विकेट



काठमाडौ (नेस) ।
आईसीसी यू—१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले ७४ रनको सामान्य लक्ष्य १७।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि प्रनित थापामगरले २३ र अनिलकुमार शाहले १९ रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली सिंगापुरलार्इृ बलर सन्दिपको ५ विकेटको सहयोगमा नेपालले २९ ओभरमै ७३ रनमा अलआउट बनायको थियो

२९ ओभरमध्ये नेपालले ८ ओभर मेडन फालेको थियो। सिंगापुरको ८ विकेट नेपालका स्पिनरले लिए भने फास्ट बलरले २ विकेट लिए।

सिंगापुरलाई अलआउट गर्न नेपालका लागि ८ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै २१ रन खर्चर ८ विकेट लिए। यस्तै शहाब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए।

शहाबले ६ ओभर बलिङ गर्दै १ मेडन राखेर १२ रन खर्चिए। यस्तै ६ ओभर बलिङ गर्दै ३ मेडन राखेका किशोरले ३५ रन खर्चेर २ विकेट लिए।

सिंगापुरका लागि ब्रिगु आएरले सर्वाधिक ४२ तथा सिएन अग्रवालले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

जवाफमा ७४ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालको पनि सुरुवात भने गतिलो हुन सकेन।

नेपालले दुवै ओपनर सन्दीप सुनार (१०) र आसिफ शेख (४) लाई चौथो ओभरभित्रै गुमाएको थियो। दुवैको विकेट सिंगापुरका अर्यमन सुनिलले लिएका हुन्। त्यसपछि चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरी १२ बल खेल्दै २ रनमा आउट भए।

प्रनित थापामगरले नेपालको इनिङ्सलाई केही उकासेका थिए। उनले २६ बल खेल्दै ३ चौकाको मद्दतमा २३ रन बनाए। यस्तै २२ बल खेलेका अनिलकुमार शाहले ३ चौकाको मद्दतमा १९ रन जोडे। विकेटकिपर प्रकाश केसी ७ रन बनाएर आउट भए। रोहित कुमार पौडेल (११) र पवन सराफ (४) नटआउट रहे। सराफले चौका प्रहार गर्दै नेपाललाई जित दिलाए।

सिंगापुरका लागि अर्यमन सुनिलले २ तथा रोहन रंगाराजन, आहन गोपीनाथ र अन्स भर्गभले १र१ विकेट लिए।

छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित अफगानिस्तान र मलेसियाको सहभागिता छ। डबल राउण्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष न्यूजिल्याण्ड हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्