मुगुरुजालाई विम्बल्डन उपाधि



 

लन्डन, (एजेन्सी)
स्पेनकी गार्बिन मुगुरुजाले लन्डनमा जारी विम्बल्डन टेनिसअन्तर्गत वुमेन्स सिंगल्सतर्फको उपाधि हात पारेकी छन्। शनिबार सेन्टर कोर्टमा भएको फाइनल खेलमा २३ वर्षीया मुगुरुजाले ३७ वर्षीया भेनस विलियम्सलाई ७–५, ६–० को सोझो सेटमा हराएकी हुन्। च्याम्पियन हुनुका साथै उनले २२ लाख पाउन्डको चेक पुरस्कार पनि हासिल गरिन्।

मुगुरुजाको यो करिअरको दोस्रो ग्रान्डस्लाम उपाधि हो। यसअघि उनले गत वर्ष फ्रेन्च ओपनमा सेरेना विलियम्सलाई हराएर उपाधि जितेकी थिइन्। अमेरिकी खेलाडी सेरेना हाल गर्भवती भएकीले सहभागिता जनाइनन्। विम्बल्डनमा भने मुगुरुजाको यो दोस्रो फाइनल थियो। दुई वर्षअघि सेरेनासँग हारेर उपाधि विमुख भएकी मुगुरुजाले यसपटक सेरेनाकै दिदीलाई हराएर उपाधि जितिन्।

अमेरिकी खेलाडी भेनस छैटौं विम्बल्डन उपाधिका लागि कोसिस गरे पनि दोस्रो सेटमा उनको सर्भिस सबै तोडिएका थिए। मुगुरुजाले पहिलो सेट दुई सेट प्वाइन्ट बचाएर जितेकी थिइन्। दशौं गेममा भेनस ५–४ र ४०–१५ स्कोरसहित अगाडि रहेर सेट जित्ने स्थितिमा थिइन्। तर उनले दुई ब्रेक प्वाइन्टको फाइदा उठाउन सकिनन्। १४औं वरीयताकी मुगुरुजाले यो सेट जितेपछि दोस्रो सेटमा भेनसमाथि पुरै वर्चस्व बनाएकी थिइन्। उनले अन्तिम नौ गेम जितेकी थिइन्।

विम्बल्डनमा स्पेनी महिला खेलाडीले २३ वर्षपछि उपाधि जितेकी छिन्। यसअघि सन् १९९४ मा मार्टिना नाभ्रातिलोभालाई हराएर उपाधि जित्दा कोन्चिता मार्टिनेज विम्बल्डन जित्ने पहिलो महिला स्पेनी खेलाडी बनेकी थिइन्। हाल मार्टिनेज मुगुरुजाकी कोच हुन्।

प्रतिक्रिया दिनुहोस्