मानसिक प्रताडना र दाँत किटाइबीच सम्बन्ध



 

रियो दि जेनेरियो, (एजेन्सी)
अधिकांश विद्यालय जीवनमा मानसिक प्रताडना भोगेका किशोरहरूको दँँत किट्ने बानी हुने हालै गरिएको स्वास्थ्यसम्बन्धी एक अनुसन्धानले जनाएको छ। ब्राजिलमा हालै गरिएको यस अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपछि एउटा ओरल हेल्थ च्यारिटीले यो समस्या तनाव र चिन्तामा रहने वयस्कहरूमा पनि देखिन सक्ने जनाएको छ।

यसरी दाँत किट्ने बानीका कारण टाउको दुख्ने, दाँत बिग्रने र निद्रा बिथोलिनेजस्ता समस्या निम्तिन सक्ने बताइएको छ। विशेषज्ञहरूका अनुसार विश्वमा दाँत किट्नेहरूको संख्या बढ्दै गइरहेको छ।

दँँत किट्दा आउने आवाजलाई करौंतीले काठ चिर्दा आउने आवाजसंग तुलना गरिएको छ। ओर रिह्याविलेसनको जर्नलमा प्रकाशित यस अध्ययनको प्रतिवेदनमा विद्यालयमा शाब्दिक प्रताडना भोग्ने १३ देखि १४ वर्ष उमेरका किशोर किशोरीले अन्यका तुलनामा सुत्नेबेला दाँत किटने सम्भावना झण्डै चार गुणा बढी हुने जनाइएको छ।

मानसिक प्रताडनाबाट गुज्रेका ६५ प्रतिशत किशोरहरूले दाँत किट्ने गरेको पाइएको तथा अन्य सामान्य १७ प्रतिशतमा मात्र यस्तो समस्या देखिएको उक्त अध्ययनले देखाएको छ। यो अध्ययन ब्राजिलका करिब ३ सय जनाभन्दा बढी किशोरकिशोरीमाथि गरिएको हो।

ओरल हेल्थ फाउन्डेसनका डाक्टर निजेल कार्टरले संयुक्त अधिराज्यमा पनि यो अनुसन्धान गरिनुपर्ने बताएका छन्। तर एउटा राम्रो खबर छ। यसको उपचार विधि संभव छ। दन्त चिकित्सकले प्लास्टिकबाट बनेको गार्ड वा स्प्लिन्ट भन्ने उपकरण दाँतमा जडान गरिदिएको खण्डमा मानिसले दाँत किट्न छोड्छन्।

प्रतिक्रिया दिनुहोस्