असफल सैनिक विद्रोहको वार्षिकी मनाइने



 

इस्तानबुल, (एजेन्सी)
टर्कीमा भएको असफल सैनिक विद्रोहको वार्षिकी विभिन्न कार्यक्रहरू आयोजना गरी मनाइने भएको तुर्केली सञ्चार माध्यमले शनिबार जनाएको छ। गत वर्षको उक्त सैनिक विद्रोहको दौरान कम्तिमा २ सय ६० जना व्यक्तिको ज्यान जानुका साथै अन्य २ हजार १ सय ९६ जना घाइते भएका थिए।
सेनाको एक असन्तुष्ट समूहले त्यतिबेला राष्ट्रपति रिसेप तायिप एर्दोगानको सत्ता हत्याउन गरेको प्रयास असफल भएको थियो। उक्त घटना यता सरकारले सरकारी कार्यालयहरूबाट १ ला ५० हजार जनाभन्दा बढी कर्मचारीलाई वर्खास्त गरिसकेको छ।

यस कार्यको अन्तर्राष्ट्रिय जगतले समेत आलोचना गरे पनि तुर्केली सरकारले भने उक्त विद्रोहको समर्थ गर्नेहरूको जरोसमेत उन्मूलन गर्ने जनाउँदै आएको छ। अहिलेसम्म करिब ५० हजार व्यक्तिलाई पक्राउ गरी सरकारले आफ्नो स्थिति साँच्चै नै मजबुत बनाउन खोजेको छ।

एर्दोगानका विरोधीहरूले भने उनले नियतवश पूर्वाग्रह राखेर आफ्ना विरोधीहरू सकाउने खेल खेलिरहेको आरोप लगाउने गरेका छन्। गत साता मात्र सरकार विरुद्ध इस्तानबुलमा हजारौं जनताले ४ सय ५० किमी लामो न्याय मार्चमा भाग लिएका थिए।

उक्त मार्चका आयोजक तथा विपक्षी राजनीतिज्ञ केमाल किलिक्दारोग्लुले गत वर्षको सैनिक विद्रोहको भत्सार्ना गरे तापनि एर्दोगानको हालको गतिविधिलाई अर्को सैनिक विद्रोहका रूपमा लिन सकिने बताएका छन्। तर एर्दोगानले भने उक्त मार्चमा भाग लिनेहरूले आतंकवादलाई समर्थन गरिरहेको आरोप लगाएका छन्। शनिबार बेलुका पनि सरकार विरुद्ध विशाल र्यालीहरू निकाल्ने कार्यक्रम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्