सेन्चुरी बैंकद्वारा सगरमाथा फाइनान्स प्राप्ति



 

नेपाल समाचारपत्र
काठमाडौं
सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ति गरी शनिबारदेखि एकीकृत कारोबार शुरू गरेको छ। शनिबार एक कार्यक्रमका बीच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको एकीकृत कारोबार शुरू गर्नुभएको हो।
राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउने क्रममा बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ति गरेको हो। सगरमाथा फाइनान्सको प्रप्तिपछि ७२ करोड रुपियाँ थप हुने भएको छ।

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई १ सय बराबर ९५ को शेयर स्वाप रेसियोमा प्राप्ति गरेको बताइएको छ। संयुक्त कारोबारका लागि सिस्टमको अपग्रेड हुने भएकाले आइतबार सगरमाथा फाइनान्स र सेञ्चुरी बैंकको कारोबार बन्द रहने छ।

बैंकले मर्जरअघि रहेको चुक्तपुँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्दै छ। त्यसपछि हुने सगरमाथा फाइनान्स र अल्पाइन डेभलपमेन्टको प्राप्तिपछि चुक्ता पुँजी ७ अर्ब ९० करोड रुपियाँ पुग्नेछ। गत आर्थिक वर्षको कमाईबाट बोनस वितरण गरेर बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउने बताएको छ। हाल सेञ्चुरी बैंकको चुक्ता पुँजी ४ अर्ब ७१ करोड रुपियाँ रहेको छ सेञ्चुरीले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई समेत प्राप्तिको प्रक्रियामा छ। यी दुई संस्था गाभिएपछि सेञ्चुरीको चुक्ता पुँजीमा ५० करोड रुपियाँ थप हुनेछ। यसअघि इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक गाभिएको थियो।

त्यस्तै सेञ्चुरी बैंकले १० बराबर ४ अनुपातको हकप्रद शेयर साउन १६ गतेबाट निष्काशन गर्ने भएको छ। बैंकले सय रुपियाँ अंकित मूल्यमा १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपियाँको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता शेयर निष्काशन गर्न लागेको हो। बैंकको उक्त हकप्रद शेयरको लागि असार २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। उक्त हकप्रदमा सेञ्चुरीमा हालै गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका शेयरधनीले पनि आवेदन दिन पाउनेछन्। तर, सगरमाथाका शेयरधनीले भने यो अवसर पाउने छैनन्।

सबै वित्तीय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद बिक्रीपश्चात चुक्ता पुँजी ८ अर्ब रुपियाँ नपुगेको रकम चालू आर्थिक वर्षको नाफाबाट बोनस दिएर पुर्याउने भएको छ।

प्रतिक्रिया दिनुहोस्