झिलिमिली हुँदै सुदूरका वस्ती



 

दयाराम पण्डित, बाजुरा,

स्थानीय जुड्डीखोला लघु जलविद्युत् आयोजनाबाट बाजुराका २४ सय घरपरिवार लाम्भान्वित भएका छन्। स्थानीयको लामो परिश्रमका कारण २ सय किलोवाट विद्युत् उत्पादन भएपछि बाजुराका दुर्गम बस्ती झिलिमिली भएको छ।

उक्त आयोजनाबाट साविका चार गाविस गोत्री, जगन्नाथ वाई र जुकोटका सबै घरपविारलाई विद्युत् सेवा उपलब्ध गराउने उद्धेश्यले सो आयोजनाको निर्माण गरेको आयोजनाका अध्यक्ष मनलाल खत्रीले बताउनुभयो। १२ करोड रुपियाँको लागतमा सम्पन्न उक्त आयोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ५ करोड १० लाख रुपियाँ र बाँंकी साविकका चार गाविसको अनुदान सहयोग, सांसद विकास कोष, जिल्ला विकास समिति र स्थानीय जनश्रमदानमा विद्युत् आयोजना निर्माण कार्य सम्पन्न भएको आयोजनाका सदस्य कर्णसिंह कठायतले बताउनुभयो।

बिहीबार दिउँसो गोत्रीको जुड्डीखोलास्थित पावरहाउसमा विद्युत् परीक्षण गर्दा २०० किलोवाट विद्युत् उत्पादन भएपछि बाजुराका दुर्गम बस्ती पनि अब उज्यालो पाउने आशा पलाएको स्थानीय शिक्षक समराज विष्टले बताउनुभयो। झर्रो, दियालो र टुकीको भरमा रात काट्नपर्ने बाध्य भएका स्थानीयकै सक्रियता तथा ४० प्रतिशत बढी जनश्रमदानबाट बिजुली बत्ति बाल्न सफल भएको स्थानीयले बताए। गाउँमा विद्युत् लाइन विस्तार भइसकेका छन् पावर परीक्षण भएको केही हप्तामा विद्युत वितरण गर्ने बताइएको छ।

उक्त आयोजना बाजुराको ग्रामीण भेगको सबैभन्दा ठूलो आयोजना भएकाले स्थानीयले घरमा बत्तिका साथै कुटिर उद्योग, कुखुराफारम जडीबुटी प्रशोधन, मसला उद्योगलगायतका साना उद्योग सञ्चालन गरी स्थानीयको आयआर्जनमा पनि वृद्धि ल्याउन सकिने जिल्ला ऊर्जा तथा वातावरण शाखाका प्रमुख इन्जिनीयर तालबहादुर रावतले बताउनुभयो।

जिल्लामा हालसम्म करिब १४ सय किलोवाटबाट बिजुली बत्तिले १५ हजार घरधुरीमा उज्यालो थियो। थप दुईसय किलोवाट विद्युत् उत्पादन हुँदा १७ हजार घरपरिवार लाभान्बित हुनेछन्। करिब सात हजार घरधुरी अझै बिजुलीको पहुँचबाट बञ्चित छन्।

प्रतिक्रिया दिनुहोस्