वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व



गुरुङले बाजी मारे

रोवन पौडेल, काठमाडौं
वैदेशिक रोजगार रोजगार व्यवसायी संघको २५औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साभारणसभाले रोहन गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

शुक्रबार सम्पन्न साधारणसभामा भएको निर्वाचनमा गुरुङले निकटतम प्रतिद्वन्द्वी बिमल ढकाल
लाई ९३ मतले हराउँदै अध्यक्षमा निर्वाचित हनुभएको हो। प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट उम्मेदवारी दिनु भएका गुरुङले ४ सय ३४ मत पाउँदा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका ढकालले ३ सय ४१ मत ल्याउनुभएको थियो। निर्वतमान कार्यसमितिमा ढकाल अध्यक्ष र गुरुङ महासचिव थिए।

संघको कोषाध्यक्ष र द्वितीय उपाध्यक्षबाहेकका अन्य सबै पदमा गुरुङ समूहका उम्मेदवार विजयी भएका छन्। संघको प्रथम उपाध्यक्षमा गुरुङ प्यानलका रामप्रसाद भन्तना तथा तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन विजयी भएका छन्।

त्यस्तै महासचिवमा नरेश गेलाल र सचिवमा ईश्वर जिसी विजयी भए।द्वितीय उपाध्यक्षमा भने ढकाल समूहका भुवन गुरुङ र कोषाध्यक्षमा ढकाल समूहकै राधिका कटुवाल विजयी भएका छन्। प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तनाले प्रतिद्वन्द्वी प्रज्ञान न्यौपानेलाई १ सय ४३ मतले हराउँदै विजयी हुनुभएको हो। महासचिवमा पनि गेलाल ४१ मत, कोषाध्यक्षमा कटुवाल ३७ मत, द्वितीय उपाध्यक्षमा भुवन गरुङ ४६ मत, तृतीय उपाध्यक्षमा पाख्रिन ४४ मत र सचिवमा जिसी ३० मतअन्तरले विजयी हुनुभएको हो।

गुरुङ अध्यक्षमा निर्वाचित भएसँगै रोजगारीमा जाने कामदार तथा रोजगार व्यवसायीको हकहितका लागि काम गर्ने बताउनुभयो। यसका लागि पेसा व्यवसायी तथा नीतिगत व्यवस्थामा लामो समयदेखि देखिएका समस्या सरकारसँग समन्वय गर्न थाल्ने उहाँको योजना छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै गुरुङले रोजगार व्यवसायी तथा कामदारका लागि सुरक्षित वातावरण सिर्जना गर्न राज्यसँग छलफल शुरू गरिहाल्ने आफ्नो योजना रहेको बताउनुभयो। उहाँले भन्नुभयो–‘व्यवसाय तथा कामदारसँग सम्बन्धित कयौं समया छन्। तसर्थ, एजेन्ट व्यवस्थापन, संघको आर्थिक व्यवस्थापन तथा सरकारसँगको नियमित सहकार्य तथा छलफल हाम्रो प्रमुख प्राथमिकतामा छ।’यसैगरी गुरुङले नेपाली कामदारको गन्तव्य मुलुकसँगको श्रम सम्झौता, रोजगारीमा जाने कामदारलाई गाउँ–गाउँमै अभिमुखीकरण तालिम सञ्चालन तथा वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउन घोषणापत्र अनुसार लागिपर्ने समेत बताउनुभयो।

संघको प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तनाले ४५३ मत पाउँदा विपक्षमा प्रज्ञान न्यौपानेले ३१० मत पाउनु भएको छ। द्वितीय उपाध्यक्षमा भुवन सिंह गुरुङले ४०७ मत पाउँदा विपक्षमा सुवर्ण श्रेष्ठले ३६२ मत पाउनुभएको छ। तृतीय उपाध्यक्षले  शुक्र पाख्रिनले ४०५ मत पाउँदा विपक्षमा नवल किशोर यादवले ३६१ मत प्राप्त गर्नु भएको छ।

त्यस्तै महासचिवमा नरेश गेलालले ४०९ मत पाउँदा विपक्षमा सुजितकुमार श्रेष्ठले ३६८ प्राप्त गर्नुभएको छ। सचिवमा ईश्वरबहादुर जिसीले ४०० मत पाउँदा विपक्षमा विनोदजंग केसीले ३७० मत पाउनु भएको कोषाध्यक्षमा राधिका कटुवालले ४०४ मत पाउँदा विपक्षमा रमिला ताम्रकारले ३६७ मत पाउनु भएको छ। संघको सदस्य बवनकुमार सिंह, सञ्जु गुरुङ, प्रमेश्वर अधिकारी, तेजमाया लिम्बु, सुरेश गौतम, सविना श्रेष्ठ, कुन्छा दोर्जे डिमजोङ, प्रितमबहादुर मगर, प्रेमबहादर विश्वकर्मा र सुरज केसी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्