भानुको स्मृतिमा संगीत लहरी



 

भानु प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा शुक्रबार भानु संगीत लहरी २०७४ सम्पन्न भएको छ। २ सय ४औं भानु जयन्तीको अवसरमा जमलस्थित राष्ट्रिय नाचघरमा भानु संगीत लहरी २०७४ आयोजना गरिएको हो। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको प्रमुख आतिथ्य तथा शताब्दीपुरुष सत्यमोहन जोशीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा भानुभक्त आचार्यदेखि वर्तमान पुस्तासम्मका दश कविहरूका छन्दमा आबद्ध कवितो वाचन पनि गरिएको थियो।

सो अवसरमा भानुभक्त आचार्यको एक दिन नारद, लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर, माधवप्रसाद घिमिरेको गौरी खण्डकाव्यका केही अंश, भानुभक्त आचार्यकै भरजन्मलाई नाचघरका कलाकारहरूले गाएर प्रस्तुत गरेका थिए। त्यसै गरी लेखनाथ पौडेलको चरीको विलाप र प्रभा भट्टराईको छन्दलाई गायिका लोचन भट्टराईले गाएर प्रस्तुत गरेकी थिइन्। त्यस्तै सिद्धिचरण श्रेष्ठको परिचयलाई रूपक चौधरी, डा. रामप्रसाद ज्ञवालीको चाहिँदैनलाई दामोदर अधिकारी, डा. देवी नेपालको बुद्धको देशलाई तुलसी पराजुली र भानुभक्तकै अमरावतिलाई एम्बिसन एकेडेमीका विद्यार्थीहरूले गाएर प्रस्तुत गरे। चाहिँदैन शीर्षकको कवितामा अर्जुन पोखरेलले संगीत भरेका थिए भने अन्य नौ कवितामा गायिका लोचन भट्टराईले संगीत तयार पारी गीतका रूपमा प्रस्तुत गराएकी थिइन्।

कार्यक्रममा विशेष अतिथि जोशीले भानुको योगदान नेपाली भाषामा अतुलनीय रहेको चर्चा गर्दै संगीतले नै सबैलाई एकसूत्रमा बाँध्न प्रेरित गर्नेमा जोड दिए। त्यस्तै अर्का प्रमुख अतिथि प्रधानन्यायाधीश पराजुलीले सूर्य र भानु एकै भएको भन्दै नेपाली भाषाको अस्तित्वसँग भानुभक्त जोडिएको चर्चा गरे। गायिका लोचन भट्टराईले छन्द गायनलाई तालवादनसहित प्रस्तुत गर्ने क्रममा आफूले ह्रस्व, दीर्घ र विश्रामलाई विशेष प्राथमिकता दिएको बताइन्। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले २ वर्ष अघिबाट संस्थानले भानु जयन्तीमा विभिन्न कविहरूको छन्द कविलाई गीतसंगीतमा उतारेर प्रस्तुत गर्दै आएको जानकारी गराए। कार्यक्रमको संयोजक गायिका लोचन भट्टराई र डा. देवी नेपाल रहेका थिए।

प्रतिक्रिया दिनुहोस्