पशुपतिको जग्गा धमाधम मिचिँदै



 

मधुसूदन रायमाझी, काठमाडौं
पशुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ। कोषले बेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो। पशुपति क्षेत्र विकास कोषभित्रको जग्गाको संरक्षण गर्नुपर्ने भए पनि केही व्यक्तिसँगको मिलेमतोमा पर्खाल लगाउने वहानामा करोडौंको जग्गा अतिक्रमण गर्ने खेल शुरू भएको छ। पशुपति क्षेत्र विकास कोषका कर्मचारीको मिलेमतोमा भण्डारखालको उत्तर–पश्चिममा धमाधम जग्गा अतिक्रमण गर्ने काम भइरहँदा पनि कोषका कर्मचारी भने बेखर पाइएका छन्।

सिफलमा रहेको कोषको जग्गा पर्खाल लगाउने वहानामा व्यक्तिलाई पर्खाल लगाउने सहमति दिएको छ। कोषले पर्खाल कति लगाउने? कुन उद्देश्यले लगाइँदै छ? भन्ने सामान्य अध्यायनसमेत नगरी पर्खाल लगाउन दिँदा स्थानीयबासी रुष्ट भएका छन्। कोष स्रोतका अनुसार कोषका कर्मचारी र पर्खाल लगाउने जिम्मेवारी पाएका व्यक्तिको साँठगाँठमा सिफल चौरमा पर्खाल लगाउने काम भएको हो।

स्थानीयले पशुपति क्षेत्र विकास कोषले व्यक्तिलाई पर्खाल लगाउने अनुमति दिनुको पछाडि जग्गा अतिक्रमण गर्ने खेल हुन सक्ने आशंका व्यक्त गरेका छन्। सिफलका एक स्थानीयले भने– ‘पशुपति क्षेत्र विकास कोषले मातहत लगाउनुपर्ने पर्खाल, खेलकुद परिषद्को बजेट ल्याएर व्यक्तिले पर्खाल लगाउँदा पनि कोषले सहमति दिनु गलत भएका छ।’ हाल पर्खाल निर्माणको क्रममा १० फिटसँगै २० फिट छोडेर पर्खाल लगाउने काम भएको छ। खेलकुद परिषद्को १० लाख रुपियाँ बजेटमा पर्खाल लगाउने काम भइरहेको छ।
आफ्नो जग्गाको संरक्षण गर्नका लागि कोषले नै पर्खाल लगाउनुपर्नेमा बाहिरको व्यक्तिलाई पर्खाल लगाउन अनुमति दिनु गलत प्रयोजन हुन सक्ने भन्दै कोषको कार्यशैलीप्रति स्थानीयले आपत्ति जनाएका छन्। पशुपति क्षेत्र विकास कोष स्थापना हुनुपूर्व नै तत्कालीन राजाले ठाकुरप्रसाद मैनालीलाई ८ आना जग्गा दिए पनि हाल ४ रोपनीभन्दा बढी जग्गा मिचिएको बताइएको छ। कोषले मिचिएको जग्गा फिर्ता ल्याउनसमेत कुनै काम अगाडि बढाएको छैन। अहिले भण्डारखालको दक्षिण–पश्चिम क्षेत्रमा तीन रोपनी जग्गा मिच्ने गरी जङ्गलको बीचबाट पर्खाल लगाउँदा समेत पशुपति क्षेत्र विकास कोषले कुनै जानकारीसमेत पाएको छैन।

स्रोतले भन्यो– ‘८ आना जग्गा राजाले दिएका हुन्, अहिले मिच्दैमिच्दै जाँदासमेत कोष रमिता हेरेर बसेको छ। कोषको जग्गा दिनहँु मिचिँदासमेत कोषले कुनै कानुनी प्रक्रिया थालेको छैन।’ कोषले भण्डारखालमा पर्ने गौशाला उकालो नजिकै रहेको जङ्गलमा पुरानो पर्खाल भत्काएर धमाधम झन्डै ३ रोपनी जग्गा हडप्ने उद्देश्यसहित पर्खाल लगाउने काम भइरहेको छ।

स्थानीयले पटक–पटक भण्डारखाल क्षेत्रमा जग्गा मिचिएको भन्दै ध्यानाकर्षण गराउँदा पनि कोषले एक कानले सुनेर अर्को कानले उडाउँदै आएको आरोप स्थानीयबासीले लगाएका छन्। एक स्थानीयले भने– ‘कोषकै मिलेमतोमा जग्गा अतिक्रमण गर्ने र मालमोत कार्यालय र नापी कार्यालयको मिलेमतोमा करोडौंको जग्गा झ्वाम पार्ने काम हुँदै आएको छ, हामी देखेर विरोध गर्छौं, कोष सुन्दै सुन्दैन। कोषकै मिलेमतो भए पनि हाम्रो पनि केही लागेको छैन।’

खानेपानी तथा ढल व्यवस्थापन कार्यालले बागमतीमा ढल विस्तार गर्ने क्रममा भण्डारखालको दक्षिण पश्चिमपट्टि जग्गा सट्टापट्टा गर्ने निर्णय गरेको थियो। तर ६ वर्षअघि कोषका तत्कालीन सदस्यसचिव सुशील नाहटाले उक्त निर्णय कार्यान्वयन नगर्ने निर्णय गर्नुभएको थियो।

रातारात आफ्नो कोषभित्रको जग्गा मिचेर पर्खाल लगाउने काम हुँदा पनि कोषले पनि पत्तो पाउन सकेको छैन। अहिले पनि कोष र केही व्यक्तिहरुको मिलेमतोमा भण्डारखालको दक्षिण पश्चिमको २ रोपनी जग्गा व्यक्तिको नाममा पार्ने योजनाअनुसार पुरानो पर्खालभन्दा माथि जङगलभित्र पर्खाल लगाउने काम भइरहेको छ।

पशुपति क्षेत्र विकास कोषमा हाल सदस्य सचिव र कोषाध्यक्षसहितका पदाधिकारी नहुँदा झन अस्तव्यस्त हुन पुगेको छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले सिफल चौरमा खेलकुद परिषद्को पैसाले पर्खाल लगाउन कोषले अनुमति दिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘जग्गा संरक्षण हुन्छ भनेर वाल लगाउने सहमति दिइएको हो।’ मिचिएको जग्गाका बारेमा नापी कार्यालयसँग पनि कुरा भइरहेको उहाँले बताउनुभयो। पशुपतिको जग्गा धमाधम मिच्ने काम भइरहँदा पनि कोषले चासो नदिएको आरोप छ नि भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा निर्देशक उप्रेतीले भन्नुभयो, ‘खै जग्गा मिचेर पर्खाल लगाएको विषयमा मलाई थाहा छैन, यस बारेमा बुझौला।’ उहाँले गलत ढंगले पर्खाल लगाउने काम भए कोषले भत्काउने पनि बताउनुभयो। उहाँले भन्नुभयो– ‘सदस्य सचिव र कोषाध्यक्ष हुनुहुन्छ, म कार्यकारी निर्देशक अधिकारविहीन छु, कसरी काम गर्नु ?’

प्रतिक्रिया दिनुहोस्