सगरमाथा नाप्न कार्यदल,साउन १५ सम्ममा प्रतिवेदन तयार भएपछि सोहीअनुसार मापन शुरू हुने



 

प्रशान्त वली, काठमाडौं
विश्वकै उच्च शिखर सगरमाथाको उचाइ मापनका लागि सरकारले एक कार्यदल गठन गरेको छ। उचाइ मापन प्रक्रियालाई सहज बनाउन नापी विभागअन्तर्गत खगोल तथा भू–मापन महाशाखा हेर्ने उपमहानिर्देशक निरज मानन्धरको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलले सगरमाथाको उचाइ नाप्नका लागि खर्चको प्रारम्भिक अनुमान, मापनका लागि आवश्यक पर्ने प्रविधि, नाप्नका लागि आवश्यक कर्मचारी संख्यालगायतका विषयमा अध्ययन प्रतिवेदन तयार गर्नेछ।

कार्यदलको सुझावअनुसार कार्यक्रमलाई कार्यान्वयनको चरणमा लैजाने विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। महानिर्देशक भट्टले भन्नुभयो– ‘अब सरकार आफैले सगरमाथाको उचाइ मापन गर्दै छ। नाप्नका लागि केही समय लाग्छ। कार्यदलले साउन १५ गतेसम्म प्रतिवेदन तयार गरिसक्छ। प्रतिवेदनका आधारमा सरकारलाई निर्णय गराउन सजिलो हुन्छ।’

पहिलो चरणमा उचाइ मापनका लागि आवश्यक पर्ने ‘लेवलिङ’ नापी विधि अपनाइसकेको नापी विभागले जानकारी दिएको छ। लेबलिङ भन्नाले सगरमाथाको उचाइ नाप्नका लागि आधार तयार पार्न नियन्त्रण बिन्दु पत्ता लगाउनु हो। सगरमाथाको उचाइ मापन शीर्षकमा यस वर्ष सरकारले २ करोड रुपियाँ बजेटसमेत विनियोजन गरिसकेको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘उदयपुरको बाँसघारीदेखि सोलुखुम्बुको लुक्लातर्फ लेबलिङ नापी कार्य जारी छ। यस वर्ष करिब ३० किलोमिटर लेबलिङ नापिन्छ। लेबलिङ नापेपछि नियन्त्रण बिन्दु अर्थात् कहाँबाट सगरमाथाको केन्द्रबिन्दु सजिलै थाहा पाउन सकिन्छ भन्ने कुराको जानकारी हुन्छ र, उचाइ नाप्नका लागि आधारसमेत बन्छ।’

सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। सगरमाथाको उचाइ मापनका लागि टोकनका रूपमा अर्थ मन्त्रालयसँग १० लाख रुपियाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ। वर्षाको समयमा नाप्न गाह्रो हुने भएकाले साउनदेखि नाप्ने कामको प्रारम्भ गरिने बताइएको छ।

सरकारसँग माग गरिएको बजेट मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापनका लागि खटिनलाई विशेषज्ञ तालिम कर्मचारीहरूमा खर्च हुने बताइएको छ। उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि भू–उपग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा छन्।

अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दशपटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिक रूपमा मान्दै आएको उचाइ भने भारतीय टोलीको रहेको नापी विभागले बताएको छ। केही समयअघि विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरूपमा पुनः नाप्नका लागि भारतले नेपालसँग प्रस्ताव राखेको खबर सार्वजनिक भएको थियो। यद्यपि सरकारले आफूलाई यस विषयमा थाहा नभएको बताउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्