आठजना नगर कार्यपालिकाका सदस्य चुनिए



 

नेपाल समाचारपत्र
ताप्लेजुङ
ताप्लेजुङको फुङ्लिङ नगर कार्यपालिकाका ८ जना सदस्य निर्वाचनबाट चुनिएका छन्। शनिबार भएको निर्वाचनबाट चुनिने सबै नेकपा एमालेका रहेका छन्।

नगर कार्यपालिका नवनिर्वाचित ८ जना सदस्यलाई मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले शपथ खुवाएका छन्। सपथअघि उनले निर्वाचित सदस्यलाई प्रमाण–पत्र बितरण गरेका थिए।

यो निर्वाचनसंगै ताप्लेजुङका ९ वटा स्थानीय तहका नगर तथा गाउँसभा र नगर कार्यपालिकाका तथा गाउँपालिकाले पूर्णता पाएको छ। शनिबार नगर कार्यपालिकामा ८ जना निर्वाचित भएसंगै २१ सदस्यीय फुङ्लिङ नगर कार्यपालिका पनि पूर्ण भएको छ।

२१ सदस्यीय कार्यपालिकामा प्रमुख, उपप्रमुख र ११ वटा वडाका वडाध्यक्ष गरी १३ जना गएको असार १४ गतेको निर्वाचनबाट निर्वाचित भएका थिए। नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख,११ वटा वडाका वडाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित महिला सदस्य भित्रबाट ५ जना र आम मतदाता भित्रका दलित वा अल्पसंख्यक मध्येबाट ३ जना गरी २१ जना रहने व्यवस्था छ।

यो व्यवस्थाअनुसार निर्वाचित महिला सदस्य भित्रबाट चन्द्रकला कार्की, कविता नेपाली (दमाइ), नर्वदादेवी भण्डारी, वर्षा इजम र सरस्वता भारती (पुरी) नगर कार्यपालिकामा थप निर्वाचित भएका छन्। निर्वाचित सबैले ३८⁄३८ मत ल्याए। निर्वाचनमा पराजित नेपाली कांग्रेसका जसोदा गुरुङ, टीकामाया नेपाली र प्रमिला गुरुङको समान १९–१९ मत रहयो। यसै गरी दलित वा अल्पसंख्यक भित्रबाट नगर कार्यपालिकामा दावा शेर्पा, कृष्ण खवास र नेताकुमारी परियार शिवा निर्वाचित भएका छन्।

खवास र परियारको समान ३९⁄३९ तथा शेर्पाको ३८ मत रहेको मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ। अल्पसंख्यक कोटाबाटै नगर कार्यपालिकामा प्रतिनिधित्व गर्न निर्वाचिनमा गएका नेपाली कांग्रेसका उमेश शिवा र दावा छेतेन शेर्पा पराजित भए। शिवाको १८ र शेर्पाको १७ मत रहेको छ।

प्रतिक्रिया दिनुहोस्