गुणस्तरहीन नाला बनाउँदै नगरपालिका



 

नेपाल समाचारपत्र
भद्रपुर
सडक डिभिजनले असारे बजेट सक्न नगर क्षेत्रमा धमाधम गुणस्तरहीन काम गरिरहेको पाइएको छ। झापाको भद्रपुर नगरपालिकाले जारी गरेको मापदण्ड विपरीत सडक डिभिजन कार्यालय दमकले नगर क्षेत्रमा गुणस्तरहीन पक्की नाला निर्माण गरी रहेको हो।

भद्रपुर–६ स्थित नेपाल टेलिकम कार्यालय अगाडि निर्माण भइरहेको पक्की नाला सडक डिभिजनले असारे बजेट सक्न मात्र खोजेको स्थानीयको आरोप छ। नजिकै रहेको झिलमिले खोलासँग जोड्ने उद्देश्यले निर्माण भइरहेको पक्की नाला मापदण्डबमोजिम नबनेको स्थानीयको भनाइ छ। निर्माण भइरहेको नालामा गिटी, बालुका र सिमेन्टको मात्रा कम प्रयोग गर्नुका साथै तोकिएको इस्टिमेटअनुसार नबाइएको स्थानीय राजेश गुप्ताको भनाइ छ। निर्माण भएको नाला जडानको ढलान पनि एक किसिमको नबनाई सानो ठूलो बनाइएको छ। स्थानीयको पर्खाल भत्किने भएकोले नाला बाङ्गो समेत बनाइरहेको पाइएको छ। निर्माण भइरहेको नालाको गुणस्तर चेकजाँचका लागि कुनै कर्मचारीसमेत खटाइएको छैन् र यसबारेमा नगरपालिकामा जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएको स्थानीय गुप्ताले बताए। निर्माण कम्पनीले रातारात आएर नाला खनेर बजेट सक्न धमाधम गुणस्तरहीन नालाको काम गर्न थालेपछि स्थानीयले गुनासो गरेका छन्।
सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलका अनुसार निर्माण भइरहेको नालाको कुल लागत ३ लाख ५३ हजार ३ सय ८ रुपियाँमा रहेको बताए। नालाको ठेक्का जे एनजे कन्ट्रक्सन दमकले असार मसान्तमा सक्ने गरी सम्झौता गरेको इन्जिनियर पौडेलले जनाए। ११३ मिटर लम्बाइ नालामा २२ दशमलव ७ घनमिटर हुनुपर्ने उनको भनाइ छ। डिभिजन कार्यालयसँग कुनै ठोस मापदण्ड नरहेकाले स्थानीयको सहकार्यमा नाला निर्माण भइरहेकाले यसबारेमा आफूलाई कुनै जानकारी नभएको उनले बताए।

झापामा ४ लाखदेखि ८ लाखसम्मका साना योजनाको काम १ सय २० वटा रहेको छ। सडक बोर्डले रातो किताबमा काम गर्नु भनी कार्यालयलाई तोकेर पठाएपछि फिल्डमा समस्या आउन थालेको उनले जनाए। यसले सडकका कर्मचारीसमेत समस्या आउने गरेको बताए।

नगरपालिका कार्यकारी अधिकृत काजीमान राईले सडकबाट बनाउँदै आएको नाला मापदण्डअनुसार नबनेको जनगुनासो आउन थालेको बताए। नगरमा निर्माण हुने कामको बारेमा सडकले नगरपालिकालाई जानकारीसमेत नगराएको उनको भनाइ छ। यसबारेमा नगर प्रमुखसँग सहकार्य गरेर निर्माण कार्यको निरीक्षण गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्