टाटासुमोको दादागिरी, जाम मुग्लिनको, असर वीरगन्जमा



 

कृष्णउदास खनाल, वीरगन्ज
राजधानी काठमाडौं जोड्ने तराईको मुख्य राजमार्ग नारायणघाट–मुग्लिन सडकखण्ड पटकपटक अवरुद्धसँगै जोखिम बढेपछि पर्सामा रहेका टाटासुमोहरू भने मनलाग्दी भाडा असुलीमा जुटेका छन्।

विशेष गरी टाटासुमो वीरगन्जदेखि मकवानपुरको भीमफेदी हँुदै काठमाडौं जाने भएकाले काठमाडौं जान पर्ने यात्रुहरूसँग उनीहरूले दोब्बर भाडा असुली गर्ने गरेका हुन्। सरकारले वीरगन्ज–काठमाडौंको एकतर्फी भाडा दर ५ सय ४ रुपियाँ निर्धारण गरेको छ। तर टाटासुमोका सञ्चालकहरूले भने प्रति यात्रु ८ सयदेखि १ हजार रुपियाँसम्म भाडा असुली गरिरहेका छन्। वीरगन्ज हेटौंडा हुँदै काठमाडौं जाने टाटासुमोका सञ्चालकले चालक छेउको सिटमा बस्ने यात्रुसँग १ हजार र अन्य यात्रुसँग ८ सय रुपियाँको दरले भाडा असुल्दै आएका हुन्। काठमाडौंबाट वीरगन्ज आउने यात्रुसँग पनि टाटा सुमोका सञ्चालकले ८ सयदेखि १ हजार रुपियाँ भाडा लिने गरेका छन्।

गएको आइतबारदेखि सरकारले नारायणगढ मुग्लिन सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएपछि टाटासुमोका सञ्चालकबाट यात्रुहरू लुटिने क्रम झन् बढेको हो। वीरगन्जबाट झन्डै पाँच दर्जनको हाराहारीमा रात्रिबस सञ्चालनमा रहेको भए पनि रातिको समयमा बस सञ्चालनमा रोक लगाइएपछि रात्रिबसका व्यवसायीहरू भने प्रत्यक्ष मारमा परेका छन्।

वीरगन्जको बसपार्कमा रहेका टाटासुमोका काउन्टरमा रहेका कर्मचारी र दलालले दिनदहाडै बढी भाडा लिएर यात्रुलाई लुट्दै आएको भए पनि बसपार्कमा डिउटीमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरी मूकदर्शक बनेर बस्ने गरेको यात्रुको गुनाासो छ। टाटासुमोका सञ्चालकले बसर्पाकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकीका इन्चार्ज र ट्राफिक प्रहरीलाई मासिक रूपमा आर्थिक नजराना दिएका कारण नेपाल प्रहरी र ट्राफिक प्रहरीले बढी भाडा असुल्दै आएका टाटासुमोका सञ्चालक र तीनका कर्मचारीलाई कारबाही गर्न नसकेको यात्रुले आरोप लगाएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र भट्टले भने यात्रुसँग बढी भाडा असुलेको गुनासो आएपछि आफूले एक साता पहिले वीरगन्जमा रहेका विभिन्न कम्पनीका टाटासुमो सञ्चालकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाएर भाडा जथाभावी असुली नगर्न भनेको बताए। उनले नियमभन्दा बढी भाडा असुली गरेको प्रमाण फेला परे कारबाही गर्ने बताए। तर, बसपार्कमा भेटिएका यात्रु सञ्जय सोनारले भने बाध्यताका कारण सुमोका सञ्चालकहरूले जति भने पनि तिर्नुपर्ने बाध्यता रहेको दुःखेसो पोखे।

प्रतिक्रिया दिनुहोस्