हेटौंडामा विश्वकै आध्यात्मिक धरोहर शिलान्यास



नेपाल समाचारपत्र, हेटौंडा । पर्यटकीय र धार्मिक विकासमा टेवा पुग्ने गरी हेटौंडामा करिब एक अर्ब रुपिया“ लागतमा अन्तर्राष्ट्रियस्तरको मन्दिर निर्माण शुरु भएको छ । मन्दिर विश्वकै आध्यात्मिक धरोहर तथा महत्वपूर्ण सत्संग साधना केन्द्रका रुपमा विकास हुने विश्वास गरिएको छ ।
राधा माधव समिति, नेपालले हेटौंडा–१७, हटिया जुरेथुममा यस युगका पञ्चम मूल जगत्गुरु कृपालुजी महाराजको नित्य निकुञ्ज लीला प्रवेशोपरान्त उहा“को स्मृतिमा ‘दिव्य समाधि मन्दिर’ निर्माण थालेको हो ।

मन्दिरको शनिबार हेटौंडाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका हुन् । २०७३ मंसिर २५ गते श्यामा श्यामा धाम ठिमीमा आयोजित विशेष समारोहमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले मन्दिर निर्माणको घोषणा गरेको समितिका संगठन विभाग प्रमुख किरण भण्डारीले बताए ।

समितिको नाममा रहेको करिब ५५ रोपनी जग्गाको २ हजार वर्गफिटमा मन्दिर निर्माण थालिएको छ । भूमिपूजन कार्यक्रममा न्यायपरिषद् सदस्य पदम वैदिक, न्यायाधीशद्वय बाबुराम रेग्मी र पुष्पलता माथेमा, कृपालुजीका पुत्र घनश्यामदासजी, राधा माधव समितिका कार्यबाहक अध्यक्ष गोपाल सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समितिले निर्माण गरेका मन्दिरमध्ये सबभन्दा ठूलो र पा“च जगद्गुरुको प्रतीकात्मक पा“च वटा गजुर भएको प्यागोडा शैलीको मन्दिर ३ तले हुनेछ । मन्दिरमा राधाकृष्णको मूर्ति, अस्तुधातु राख्ने गर्भगृह, मन्दिरपरिसरमा गौशाला, बगैंचा, साधक निवास, साधनाकक्ष पनि निर्माण हुने जानकारी भण्डारीले दिए । मन्दिर हेटौंडाका लागि पर्यटकीय धरोहर पनि बन्ने दाबी गर्दै भण्डारीले मन्दिर निर्माणपछि हेटौंडा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने बताए ।

कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासको सदिच्छाअनुसार मन्दिर निर्माण हुन लागेको भन्दै भण्डारीले विदेशी प्राविधिकको समेत सहभागितामा मन्दिरको नक्सांकन गरिएको बताए ।

समितिको हाल नेपालका ३० जिल्लामा सत्संग केन्द्र छन् । भारतको सिक्किम, सिलिगुढी, अमेरिका, बेलायत र क्यानडालगायत देशमा पनि केन्द्रहरु रहेको भण्डारीले जानकारी दिए । नेपालका करिब १५ हजार संगठित सदस्य रहेको समितिमा करिब ५ हजार युवा भ्रातृ संगठनमा संगठित रहेको संगठन विभाग प्रमुख भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्