आवको अन्त्यमा पुँजी बजार सुखद भएन



नेपाल समाचारपत्र,काठमाडौं ।
चालू आर्थिक वर्ष २०७३÷७४ को अन्तिम साताको शेयर कारोबार लगानीकर्ताका निम्ति सकारात्मक देखिएन। यसै साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७४÷७५ को निम्ति मौद्रिक नीति ल्याएको हुँदा त्यसको सकारात्मक प्रभाव लगानीकर्तामा पर्ने आँकलनविपरीत शेयर बजारमा गिरावट आएकाले आर्थिक वर्षको अन्त्यमा पुँजी बजार खासै सुखद भएन।

आइतबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक उकालो लागेको थियो। मौद्रिक नीतिमा बैंक तथा वित्तीय क्षेत्रबारे विशेष नीति आउने आशामा लगानीकर्ता आकर्षित हुँदा कारोबार शुरू भएको २१ मिनेटमै नेप्सेमा करिब २२ अंकको वृद्धि भएको थियो।

तर, मौद्रिक नीति सार्वजानिक हुने समय नजिकिँदै गर्दा बजार क्रमशः ओरालो लागेर १ बजेर ४० मिनेट जाँदा घटेर २ दशमलव शून्य ४ अंकको वृद्धिमा सीमित हुन पुग्यो।

त्यस्तै सोमबारको बजारमा पनि निकै उतारचढाव देखियो, कारोबार खुलेदेखि लगातार घटेको बजारमा कारोबार समयको मध्यतिर आएर सुध्रिए पनि पुनः ओरालो लाग्दै अन्त्यमा ८ दशमलव ९३ अंकले घट्यो। मंगलबार र बुधबार नेप्सेमा सामान्य सुधार देखिए पनि साताको अन्तिम कारोबार दिन बिहीबार भने ४ दशमलव ८९ अंकले घटेर समग्र नेप्से परिसूचक १५ सय ८२ दशमलव ६७ को झर्यो।

साताभर नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ४८ अंकले बढेर १५८२ दशमलव ६७ अंकमा पुग्यो। त्यस्तै समूहगत आधारमा साताभर वाणिज्य बैंक समूह १ दशमलव ९४ अंकले घटेर १४१८ दशमलव ८१ बन्द भयो भने विकास बैंक समूह ३ दशमलव २६ अंकले वृद्धि भई १९४५ दशमलव ३७ मा बन्द भयो।

वित्तीय समूह १५ दशमलव ६७ अंकले घटेर ७२९ दशमलव ६२ मा बन्द भयो। होटल समूह २३ दशमलव ८२ अंकको गिरावटसँगै २२२१ दशमलव ५७ को अंकमा बन्द भयो भने जलविद्युत् समूह १३ दशमलव ८७ अंकले घटेर १९१८ दशमलव शून्य १ मा पुग्यो।

त्यस्तै बीमा समूह २४ दशमलव ८ अंकले घटेर ८३५० दशमलव २९ मा बन्द भयो भने उत्पादनमुलक समूह २२ दशमलव शून्य २ अंकको वृद्धिसँगै २३६६ दशमलव ५८ मा कारोबार बन्द भयो। व्यापार समूहमा साताको शुरुदेखि अन्त्यसम्म कुनै परिर्वतन नआई २१२ दशमलव ७६ मा नै रह्यो। अन्य समूह भने ९ दशमलव ५५ अंकको वृद्धिसँगै ६९९ दशमलव ६२ मा कारोबार बन्द भयो।

साताभर नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीको ३२ हजार २४५ कारोबारबाट १ करोड १४ लाख ३८ हजार ३ सय ९० कित्ता शेयर ४ अर्ब २० करोड ३४ लाख ५२ हजार रुपियाँमा किनबेच भयो। कारोबार रकम अघिल्लो साताको भन्दा ५९ दशमलव ४३ प्रतिशतले बढी हो।

अघिल्लो साता १६२ कम्पनीको २७ हजार ३२ कारोबारबाट ७० लाख २३ हजार ६ सय ३० कित्ता शेयर २ अर्ब ६३ करोड ६५ लाख ४१ हजार रुपियाँमा किनबेच भएको थियो।

यस साताकारोबार रकमको आधारमा (३० करोड २९ लाख ४० हजार रुपियाँ) नबिल बैंक (संस्थापक) अग्रस्थानमा रह्यो।

त्यस्तै कारोबार भएको शेयर संख्या (२७ लाख १५ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ अग्रस्थानमा रह्यो भने कारोबार संख्या (२७५८ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको थियो। यस साता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा शून्य दशमलव ७१ अंकले घटेर ३३६ दशमलव शून्य ४ अंकमा कारोबार बन्द भयो।

प्रतिक्रिया दिनुहोस्