लामखुट्टे र सर्प



‘लामखुट्टेले हामीलाई हत्या गर्न लागिसक्यो। अब हामीलाई झुल देऊ भनेर सरकारसँग माग गर्नुपर्यो। अब सकिएन। कि हामीलाई झुल देऊ कि चाहिँ हत्याका आरोपितलाई पक्राउ गरेर सजाय देऊ भनेर सरकारसँग माग गर्नुपर्यो।’

हिजो धरहराको छेउमा एकथरी सर्वसाधारणले यस्तो संवाद गरेको सुनियो। अर्को एक जना सच्याउँदै थिए– ‘लामखुट्टेले टोक्यो भन्नुपर्ला हत्या भन्न मिल्दैन कि?’

पहिलोले प्रतिवाद गर्यो– किन नमिल्नु। संसद्मा त त्यत्रोे मिल्यो। हामीलाई लामखुट्टे लाग्ने स्थानमा बस्न बाध्य पार्नेले हत्या गर्न त खोजेको हो नि।

दोस्रोले कुरा बुझेझैं टाउको हल्लायो र प्रधानमन्त्रीलाई भेटेर कुरा राख्ने भन्दै पीएलाई फोन गर्छु भनेर नम्बर थिचेको देखियो। पहिलोले मुलुककी प्रथम लेडीले संसद्मा कस्तो राम्रो बोलेको भनेर पनि प्रशंसा गरेको सुनियो। ‘हेर्नुस् त, छाउपडीमा गएका महिलाको सर्पले टोकेर हत्या भयो रे अनि ती हत्यारा सर्पलाई सरकारले कारबाही गर्नुपर्यो रे’ कति राम्रो भनाइ।

ती हत्यारा सर्पलाई कहाँ पाउने त ? दोस्रोले प्रश्न सोध्दै थियो। पहिलोले भन्यो– ‘जहाँ भए पनि समात्नुपर्यो नि। कहाँ त्यसै छोड्नु ?’ हेर्नुस् त पाठकबृन्द– कोही हत्या गर्न खोज्ने लामखुट्टेलाई समातेर कारबाही गर्नुपर्छ भन्ने कोही हत्यारा सर्पलाई कारबाही गर्नुपर्छ भन्ने। कुरा त ठीकै हो तर तिनलाई पक्रेर राख्ने पो कहाँ हो ?

बरु ती दुवै खालका हत्याको अन्त्य गर्नका लागि मान्छेका बानीव्यहोरा सुधार्नुपर्ने हो कि ? नसुधारेको अवस्थामा भने जसले बानी सुधार्दैन उसलाई हत्यारा मानेर कारबाही गर्दा चाहिँ सजिलो पर्छ होला है। पाठकवृन्दको कुनै सुझाव भए खबर पाऊँ।

प्रतिक्रिया दिनुहोस्