‘आर्थिक विकासका निम्ति नीति प्रष्ट छैन’



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया प्रशान्त शाखाका उपप्रमुख जेरार्ड जे.आमकिन्डर्सको नेतृत्वमा नेपाल भ्रमणमा आएको कोषको प्रतिनिधिमण्डलबीच बिहीबार भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा नेपालको औद्योगिक, वाणिज्य, बैकिङ, कर, श्रम ऐन, कम्पनी ऐन, औद्योगिक व्यवसाय ऐन, लगानीको वातावरण, वैदेशिक लगानीका लागि नेपालले लिएको नीतिलगायतका विषयमा छलफल भयो।

सो अवसरमा राजनीतिक रूपमा नेपालले निकै धेरै फड्को मारे पनि केही नीतिगत अस्थिरता, कमजोर पूर्वाधार तथा कतिपय क्षेत्रमा इच्छाशक्तिको अभावका कारण आर्थिक विकासले गति लिन नसकिरहेको अवस्थाका बारेमा छलफल भएको थियो। विशेषगरी आर्थिक तथा व्यावसायिक क्षेत्रले गति लिन नसक्नुमा रोजगारदाता र ट्रेड युनियनको सहकार्य र सहमतिमा अन्तिमरूप दिइएको श्रम तथा सामाजिक सुरक्षा ऐन अहिलेसम्म आउन नसक्नु, उपभोक्ता सुरक्षासम्बन्धी कानुन सरोकारवालाको प्रत्यक्ष सहभागिता एवम् छलफल विनानै अगाडि बढाइनु, दशकौं अगाडि भिन्न परिस्थितिमा आएको कालोबजारी ऐन अहिले पनि कार्यान्वयन भइरहनु, बैकिङ तरलता र ब्याज दर व्यवस्थापनमा देखिएको अस्थिरता तथा दक्ष जनशक्ति अभाव मुख्य समस्या रहेको सो अवसरमा महासंघका तर्फबाट औंल्याइएको थियो।

बैठकमा कोषका तर्फबाट महासंघसंगको छलफल निकै उपलब्धिमुलक रहेको धारणा व्यक्त गर्दै नेपालको श्रम शक्तिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउन सक्ने गरी स्तरीकरण हुनसकेमा फलदायी हुने धारणा व्यक्त गरियो। नेपालको विकास प्रयासमा सघाउन पाएकोमा खुशी प्रकट गर्दैै नेपालमा सम्पन्न स्थानीय चुनावपछि विकासले गति लिने आशा कोषले गरेको भन्दै स्थानीय निकायमा स्रोत व्यवस्थापन र खर्च गर्ने क्षमता विस्तारलाई मुख्य ध्यान दिनुपर्ने प्रतिनिधिमण्डलको धारणा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्