भेनस र मुगुरुजा विम्बल्डन फाइनलमा



 

लन्डन, (एजेन्सी)
अमेरिकाकी भेनस विलियम्स र स्पेनकी गार्बिन मुगुरुजाले विम्बल्डन टेनिसअन्तर्गत वुमेन्स सिंगल्सतर्फ फाइनलमा स्थान बनाएका छन्।

बिहीबार लन्डनस्थित सेन्टर कोर्टमा भेनसले ब्रिटेनकी योहाना कोन्टालाई ६–४, ६–३ ले हराएर लन्डनका घरेलु दर्शकलाई निरास पारेकी हुन्। उनले ३७ वर्षको उमेरमा फाइनल पुगेर विम्बल्डनमा पाको उमेरमा फाइनल पुग्ने रेकर्ड समेत राखिन्। भेनसले घरेलु खेलाडीको पहिलो सेटमा १० औं गेममा तथा दोस्रो सेटमा चौथो र आठौं गेममा सर्भिस ब्रेक गरेकी थिइन्। भेनसले विम्बल्डनमा २०००, २००१, २००५, २००७ र २००८ मा उपाधि जितेकी थिइन्।

कोन्टा सन् १९७८ मा भर्जिनिया वेड सेमिफाइनल पुगे यता ३९ वर्षपछि विम्बल्डन सेमिफाइनलमा पुग्ने पहिलो ब्रिटिस महिला खेलाडी बनेकी थिइन्। तर उनी भेनसको सर्भिसको सामना गर्न नसक्दा फाइनल पुग्नबाट वंचित भइन्।
उता मुगुरुजाले विना वरियताकी स्लोभाकियन म्याग्डेलेना रीबारिकोभालाई हराएर फाइनलमा स्थान सुरक्षित गरिन्। मुगुरुजाले केवल ६४ मिनेटमा ६–१, ६–१ ले जितेकी थिइन्। फ्रेन्च ओपन २०१६ की विजेताको यो दोस्रो विम्बल्डन फाइनल समेत थियो। मुगुरुजाले विम्बल्डन २०१५ मा रनरअपमा चित्त बुझाएकी थिइन्।
२३ वर्षीया मुगुरुजाले बायाँ तिघ्रामा पटी बाँधिएर खेलेकी थिइन्। तर उनले पहिलो पाँच गेम २५ मिनेटमा जितेर ५–० को अग्रता लिइन्। ८७ औं वरियताकी रीबारिकोभा यस सिजनमा जितहारको रेकर्ड १८–१ को रहेको छ। यसको बावजुद २८ वर्षीया खेलाडीको लागि पहिलो ग्रान्डस्लाम सेमिफाइनलमा निरासा हात पर्यो।

रीबारिकोभाले सर्भमा मात्र १० अंक जित्न सकिन् भने मुगुरुजाले नेटमा आएर खेलमा वर्चश्व बनाएकी थिइन्। कोर्टमा सहानुभुति भने रीबारिकोभामै बढी रहेको थियो। केही राम्रा सट प्रहार हुँदा उनलाई प्रोत्साहन गर्न दर्शकबाट लामै ताली बजाएको बीबीसी स्पोर्टस्ले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्