नेपाली यु–२३ फुटबलको अग्निपरीक्षा



 

फिरोज राजोपाध्याय
नेपाली युवा फुटबलको चुनौती शनिबारदेखि शुरु हुँदै छ। २३ वर्षमुनिको नेपाली टोली बिहीबार संयुक्त अरब इमिरेट्सका लागि प्रस्थान गरिसकेको छ। नेपालले पहिलो खेल आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्ससँग भोलि असार ३१ गते खेल्नेछ। दोस्रो खेलमा सोमबार साउन २ गते उज्वेकिस्तानसँग खेल्नेछ। यी दुवै खेल नेपाली समयअनुसार बेलुकी ८ बजे हुनेछन्। जबकि समूह ‘डी’ मा रहेको नेपालले अन्तिम खेलमा लेबनानसँग राति ११ बजे बुधबार साउन ४ गते खेल्ने कार्यक्रम रहेको छ।

नेपाली टोलीका प्रमुख प्रशिक्षकमा राजुकाजी शाक्य रहेका छन्। शाक्य नेपाली फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक थिए। उनी खेलाडी हुँदा नेपाली टोलीले साग फुटबलमा स्वर्ण जितेको थियो। सन् १९९३ मा स्वर्ण जितेपछि नेपाली य–२३ टोलीले करिब २२ वर्षपछि पुनः स्वर्ण जितेको थियो। जसको प्रशिक्षक राजुकाजी शाक्य नै हुन्। उनी खेलाडी र प्रशिक्षकको रूपमा साग फुटबलमा स्वर्ण जित्ने पहिलो नेपाली फुटबलकर्मीसमेत हुन्।

शाक्यकै रेखदेखमा अहिलेको नेपाली यु–२३ टोली रहेको छ। उनको नेतृत्वमा नेपाली युवा खेलाडीले यूएईमा राम्रो प्रदर्शन गर्नेमा आशा राख्न पनि सकिन्छ। मंगलबार मात्रै पनि सातदोबाटोमा एक मैत्री खेल खेलिएको थियो। जसमा नेपालले बंगलादेश यु–२३ टोलीलाई १–० गोलअन्तरले हरायो पनि। यो एएफसी यु–२३ फुटबल च्याम्पियनसिपको छनोट चरणको तयारीको रूपमा लिइएको हो।
नेपालको जितमा प्रशिक्षक शाक्य पनि ज्यादै उत्साहित देखिन्छन्। उनले भने– ‘यो जितले शनिबारदेखि हुने प्रतियोगिताका लागि ऊर्जा थपेको छ। प्रतियोगितामा खेल्नुअगाडि यो सकारात्मक नतिजा र अनुभवले टोलीलाई थप ऊर्जा मिलेको छ। त्यसो त बंगलादेशलाई कमजोर आँकिए पनि जितको नतिजाले खेलाडीलाई ऊर्जा दिन्छ भन्ने मेरो मान्यता रहेको छ।’

तर, शाक्य खुसी देखिए पनि नेपाली खेलाडीको प्रदर्शन भन्ने औसत रहेको थियो। नेपाली खेलाडीमा तालमेलको कमी अझै देखिएको छ। बंगलादेशसँग खेल्दा मिडफिल्डमा देखिएको कमजोरीलाई नेपाली टोलीले सुधार्न आवश्यक छ। यही कारणले यूएईमा असर पार्ने हो कि भन्दा शाक्यले बताए– ‘हाम्रो खेलमा मिडफिल्ड अलि अलमलिए जस्तो लागेको छ। डिफेन्सिपभमा पनि केही कमजोरी छ। यसलाई सच्याउन सकिन्छ।’

नेपालले यूएई र उज्वेकिस्तान जस्ता टोलीसँग खेल्नुपर्ने हुन्छ। यसका लागि नेपालको बंगलादेशविरुद्धको खेल हेर्दाचाहिँ उनीहरुलाई टक्कर दिन नसक्ने चाहिँ अनुमान लगाउन सकिन्छ। यदि सुधारिएको खेल देखाएमा सायद केही होला, नत्र नेपाली टोलीको चुनौती भनेको सहभागितामै सीमित हुने पक्का छ।

यसमा शाक्यले बताए– ‘हामी कठिन समूहमा परेका छौं। तर, पनि आशा छ हाम्रा खेलाडीले यही खेलको अनुभवलाई त्यहाँ भरपुर उपयोग गर्नेछन्। खेल हो जे पनि हुन सक्छ। तयारी त्यति नराम्रो भएको भन्न पनि मिल्दैन।’

विमलमाथि भर
नेपाली टोलीको भर भनेको कप्तान विमल घर्तीमगर हुन्। यसको पुष्टि बंगलादेशविरुद्धको मैत्री खेलले गरिसकेको छ। विमलले जुन किसिमले उत्कृष्ट गोल गरेर नेपाललाई जित दिलाए। त्यो तारिफयोग्य छ। २०औं मिनेटमा गरेको उनको गोलले नै नेपाललाई जित दिलाएको थियो। त्यसपछि चोटका कारण उनी मैदान बाहिरिएपछि नेपाली टोलीको प्रदर्शन त्यति उत्साहजनक देखिएको थिएन। यसैले पनि नेपाली टोलीको ठूलो आश भनेको विमल नै हुन्। यदि उनी चलेनन् भने नेपालको यूएई यात्रा खासै उपलब्धिमूलक नहुने प्राय निश्चित नै छ।

च्याम्पियनसिप चीनमा
आगामी सन् २०१८ मा एएफसी यु–२३ फुटबल च्याम्पियनसिप चीनमा आयोजना हुँदै छ। जसमा १६ टोली छनोटका लागि प्रतिस्पर्धा हुन लागेको हो। जसमा समान ४–४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत समूहका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम १६ का लागि छनोट हुनेछन्। आयोजकको रूपमा चीन पहिल्यै छनोट भइसकेको छ। चीनले पनि छनोट चरण खेल खेल्ने भएकाले यदि चीन समूह विजेता वा उपविजेताको रूपमा छनोट भएमा उत्कृष्ट छैटो उपविजेता टोलीले चीनमा खेल्ने मौका पाउनेछ।

प्रतिक्रिया दिनुहोस्