घटना र विचार अनलाइनमा पनि



 

नेपाल समाचारपत्र
काठमाडौं
कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले पत्रकारहरूले समाजमा भएका विकृतिहरूको भण्डाफोर गर्ने बेला आएको बताउनुभएको छ। शुभ सञ्चार प्रालीले सञ्चालन गर्दै आएको साप्ताहिक घटना र विचारको अनलाइन पोर्टल घटना र विचार डट कमको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले इमान्दारीता र निष्पक्षतालाई ध्यानमा राखी पत्रकारिता गर्नुपर्ने बताउनुभयो। सत्यतथ्य सूचनाले समाजलाई परिवर्तन उन्मुख गराउने भन्दै पहुँचमा नभएकाहरूलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन पत्रकारिताले भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो। घटना र विचार साप्ताहिक बिगत २३ वर्षदेखि प्रकाशन हुंदै आएको छ।

घटना र विचार अनलाइन पोर्टल उद्घाटन कार्यक्रममा नेपाली काग्रेंसका नेता कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता शंकर पोख्रेल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन ‘अनन्त’, राप्रपाका राजेन्द्र लिङदेन, राष्ट्रिय जनता पार्टीका चन्दा चौधरी लगायतले अनलाइनलाई शुभकामना दिनुभएको थियो।

घटना र विचारका संस्थापक प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले पत्रकारिता राजनीतिक र आर्थिक विषयबाट प्रभावित भएको भन्दै पत्रकारिताको मूल मर्मबाट आफूहरू कुनै पनि कारण विचलित नहुने बताउनुभयो। घटना र विचार साप्ताहिकका प्रबन्ध निर्देशक रामेश्वर चौलागाईंले राष्ट्रहितलाई केन्द्रमा राखेर पत्रकारिता गर्नु आजको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो। शुभ सञ्चार प्रालीका अध्यक्ष राजु रिमालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका सम्पादक बबिता बस्नेतले सहभागीहरूलाई धन्यवाद ज्ञापन र अनिता बिन्दुले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्