गोरखाका सडकमा विनालाइसेन्सका ड्राइभर



 

सन्तोष अधिकारी, गोरखा
भूकम्पको केन्द्र विन्दु गोरखामा पुनर्निर्माणको काम शुरू भइरहेको छ। पुनर्निर्माणका लागि यति बेला गोरखामा निर्माण सामग्री गाउँगाउँ ओसारपोसारको काम भइरहेको छ। निर्माण सामग्री ओसारपोसार गर्ने साधनमा भने ट्रइक्टर प्रमुख रूपमा पर्दछ। यिनै ट्रइक्टरका चालकहरूबाट गाउँले तथा अन्य सवारी चालकहरू नै त्रासमा बस्ने गरेका छन्। गाउँका कच्ची रुटमा ट्रइक्टर चलाउने अधिकांश चालकको सवारी चालक अनुमतिपत्र नै छैन।
‘धेरैजसो ट्रइक्टर चलाउने ड्राइभरहरू लाइसेन्स नै नभएका छन्’, गोरखा–भालुस्वाँरा–बारपाक सडक खण्डमा जिप चलाउने चालक सन्तोष धितालले भने– ‘हामी लाइसेन्स भएकाहरू नै सजक भएर चलाउनुपर्छ कहिलेकाहीँ त सिधै हाम्रै गाडीमा हान्न ल्याएको जसरी ल्याउँछन्।’ ट्रइक्टरका साहुहरूले ट्रइक्टर ड्राइभरसँग लाइसेन्स छ छैन भन्ने कुरालाई महत्त्व दिँदैनन्।

साहुहरूले लाइसेन्स नभए पनि ट्रइक्टर चलाउन सक्नेलाई मासिक छ हजार रुपियाँ तलब र अन्य केही खर्च मात्र दिए पुग्ने भएकाले विनालाइसेन्सका ड्राइभरहरू साहुका रोजाइमा समेत पर्ने गरेका छन्। गोरखाका लाइसेन्स भएका ट्रइक्टरहरूले भने १४ हजारभन्दा धेरै तलब र त्यसमा कामको टिप्स लिने गर्छन्।
गोरखाको आरुघाट, भच्चेक, बालुवा, बारपाक, बोर्लाङलगायतका सडक खण्डमा विनालाइसेन्सका ट्रइक्टर चालकको आतंक नै रहेको बताइएको छ। भच्चेक, बारपाक क्षेत्रमा विनालाइसेन्स ट्रइक्टर चलाउने चालकहरू धेरै रहेको सार्वजनिक सवारी चालकहरू बताउँछन्। त्यस क्षेत्रमा ट्रइक्टर चलाउनेहरू १२ किलोसम्म पनि आउँदैनन् आइहाल्न पर्यो भने लाइसेन्सवालाले ल्याउने गरेका छन्।

१२ किलो प्रहरी चौकी भन्दा उता ट्राफिक तथा प्रहरीको सक्रियता शून्य भएकाले उनीहरू त्यस क्षेत्रमा भने ढुक्कसँग ट्रइक्टर चलाउने गर्छन्। पछिल्लो समय गोरखाका ग्रामीण सडकहरूमा ट्रइक्टर दुर्घटनाहरूसमेत बढ्ने गरेको छ। ‘जिल्लामा ट्राफिक प्रहरीको संख्या कम छ’, जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख भोजबहादुर थापाले भने– ‘हामीले ग्रामीण क्षेत्रमा रहेका प्रहरी चौकी, पोस्टहरूमा पनि चेकजाँचका लागि भनेका छौं। अब त्यस क्षेत्रमा ट्राफिक आफैंले पनि विस्तारै सक्रियता देखाउनेछ।’

प्रतिक्रिया दिनुहोस्