चार दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध



 

ललित सिंह, बझाङ
बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ। आइतबारदेखि परेको लगातार वर्षाका कारण मंगलबार मध्यराति राजमार्गको विभिन्न स्थानमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध हुन पुगेको हो।

तमैल बजार नजिकै रहेको जाल्याबगरमा सबैभन्दा ठूलो पहिरो खसेको छ भने यस्तै तमैलबजारभन्दा माथि रहेको माल्ला लाग्ने भीरमा माथिबाट आएको पहिरोले पूरै सडक नै भासिएको छ। सो सडक सुचारु गर्न अझै समय लाग्ने देखिन्छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने– ‘यसबाहेक मटेला, देउरा, बगडगाउँलगायत थुप्रै ठाउँमा शाखा सडकबाट बगेर आएको हिलो राजमार्गमा थुप्रिएको छ। विभिन्न ठाउँमा गाडीहरू फसेका छन्।’
सडक अवरुद्ध भएपछि बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा तथा बाहिरी जिल्लाका लागि छुट्ने सबै सवारीका साधनहरू बसपार्क, तमैल बजारमा नै थन्किएका छन्। त्यसतर्फ यात्रा गर्ने तयारीमा रहेका यात्रुहरू ठाउँठाउँमा अलपत्र परेका छन्। यातायात सुचारु नभएपछि अस्पतालले रिफर गरेका बिरामीलाई निकै समस्या भइरहेको जयपृथ्वी नगरपालिका–४ का नरेन्द्रजंग खातीले बताए।

उनले भने– ‘४ दिनदेखि बाटो खुलेको छैन। केही सिकिस्त बिरामीका आफन्तले महँगो पैसा तिरेर बिरामीलाई मान्छेबाट बोकाएर भए पनि गाडी पाउने ठाउँसम्म पुर्याउन खोजिरहेका छन्। पैसा नहुनेहरूलाई निकै समस्या भएको छ।’ बाटो अवरुद्ध भएपछि कतिपय यात्रुहरू एक दुई दिन हिँडेरै भए पनि गाडी पाउने ठाउँतर्फ जान थालेको उनले बताए।

पहिरोका कारण जिल्लाको आन्तरिक यातायात सञ्जाल पनि विच्छेद भएको छ। विभिन्न ठाउँमा पहिरो खसेर सडक बिग्रिएपछि जिल्लाभरका सबैजसो शाखा सडकहरू पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चैनपुर मयाना, छविस मेल्लेख, सुर्मा दौलीचौर, विजगडा बुंगल, चैनपुर तल्कोट र खप्तड छान्ना सडकलगायतका शाखा सडकमा पनि चार दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन।

जिल्लाका विभिन्न ठाउँमा पुर्याउनका लागि धनगढी, महेन्द्रनगर र नेपालगन्जबाट औषधि खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू बोकेका गाडीहरू पनि बैतडीको खोड्पेदेखि बझाङको भाडेबजारसम्म विभिन्न ठाउँमा रोकिएको कर्णाली रिभर साइडका बस चालक रण धार्मीले बताए।
यातायात बन्दले सदरमुकाम चैनपुरलगायतका जिल्लाका विभिन्न बजारमा तरकारी र फलफूलको अभाव हुन थालेको छ। छिटो यातायात सुचारु हुन नसके खाद्यान्न र औषधिहरूको पनि अभाव हुने व्यापारीहरूले बताएका छन्।

लगातार पानी परिहरहेको र पहिरो पन्छाउन पर्याप्त मात्रामा डोजर नभएका कारण बाटो खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै केही ठाउँमा पहिरोले सडक नै भत्काएकाले सडक पुनः सुचारु हुनेबारेमा यकिन गर्न नसकिने प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। ‘प्रयास गरिरहेका छौं कहिले खुल्छ भनेर यसै भन्न सकिन्नँ। एक दुई दिन अझै लाग्न सक्छ’ –उनले भने।

जयपृथ्वी राजमार्गको समानान्तर हुने गरी निर्माण गरिएका शाखा सडकका कारण बर्खायाममा समस्या हुने गरेको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले बताए। राजमार्ग कार्यालयसँग कुनै सल्लाह नगरी बनाइएका सडकहरूबाट खसेको माटो र पहिरोका कारण राजमार्ग अवरुद्ध हुने गरेको खनालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्