सामुदायिक भवन बनाउन कस्सिए बेउलीबासका महिला



 

नेपाल समाचारपत्र
पर्वत
पर्वतको दक्षिणमा पर्ने पैंयूँ गाउँपालिकाको बेहुलीवासका महिलाहरूले सामुदायिक भवन निर्माण कार्य थालेका छन्। बेहुलीवासमा रहेको महिला मानवअधिकार संरक्षण तथा महिला सञ्जालमा आबद्ध महिलाहरूले सुविधा सम्पन्न सामुदायिक भवन निर्माण कार्य थालेका हुन्।

सहकारीको कार्यालय र तालिहलसहितको पक्की भवन निर्माणका लागि महिला समूहले आफ्नै कोषबाट ५ लाख ५० हजार खर्च गरेका छन्। उनीहरूको उत्साह देखेपछि जिल्ला समन्वय समिति पर्वतको १ लाख अनुदान, सांसद विकास कोषबाट १ लाख सहयोग पनि गरिएको छ। भवन निर्माण गर्न समुदायले २ लाख रुपियाँ बराबरको श्रमदान गरेको समूहकी सचिव झपकला काफ्लेले बताउनुभयो।

महिलाहरूको मात्रै सहभागिता रहेको उक्त समूहले स्थानीय स्तरमा रकम संकलन, श्रमदान जुटाउनेदेखि जिल्ला स्तरमा समन्वय गर्ने काम आफैं गरेको र सुविधायुक्त आकर्षक भवन निर्माणमा थप रकम अपुग भएको उहाँको भनाइ छ। भवनको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको र बाँकी काम १ महिनाभित्रमा नै सम्पन्न गरिसक्ने लक्ष्य लिएको उहाँको भनाइ छ। भवनमा समूह कार्यालय सञ्चालन तथा अन्य जुनसुकै संस्थाका अतिरिक्त ४० देखि ५० जनाको सहभागितामा तालिम, बैठक, भेला पनि सञ्चालन गर्न सकिने सुविधा रहने समूहकी अध्यक्ष यामकला काफ्लेले जानकारी दिनुभयो।

महिलाको क्षमता विकास, नेतृत्व विकास र घरायसी कामभन्दा बाहिरी वातावरणमा घुलमिल हुने उद्देश्यले समूह गठन गरिएको उहाँले बताउनुभयो। शुरूशुरूमा सामान्य आफ्नो परिचय मात्र दिन सिकाएको समूहले हाल भने सरसफाइ, स्वास्थ्य प्रजनन, परिवार नियोजन, शिक्षा, लैंगिक विभेदको अवस्थालगायत विकास निर्माणका कार्यहरू अघि सारेको छ। सभ्य समाज निर्माणमा सक्रिय उक्त समूहले स्थानीय महिलाहरूलाई सशक्त बनाउनका लागि समयसमयमा सीप तथा तालिम प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्